सुरेश गुरुङ, कुवेत
आम नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा कुवेतको सशक्त साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले आगामी १९ अक्टोबर २०१२ शुक्रवारका दिन, कुवेतको एसिया-एसिया होटलमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न गैरहेको छ । नेपालदेखी अतिथि कलाकारको रुपमा नेपालका बरिष्ठ संगीतकार तथा लोक आधुनिक गाएक बि.बि अनुरागी उक्त कार्यक्रममा आउनु हुने आयोजकले बताएको छ । अनुरागी नेपाली गायन र संगित क्षेत्रमा निक्कै चर्चित हस्ती हुनुहुन्छ । चलचित्र गोर्खा पल्टनमा उहाँले दिएको सङ्गितले नै बेस्ट म्युजिक एवार्ड प्राप्त गरेको थियो ।
सम्पूर्ण कुवेतवासी नेपालीहरुसँग विजया दशमीको शुभकामना आदान-प्रदान गर्ने र सबैलाई आफ्नो प्रमुख चाडको अवसरमा “हाम्रो संस्क्रिती हाम्रो परम्परा” भन्ने नारालाई आत्मसात गर्दै नेपाली पन र नेपाली संस्क्रिती द्वारा मनोरञ्जन दिलाउने आयोजकले बताएको छ । आफ्नो चौंथो प्रस्तुती स्वरुप आयोजना गर्न लागिएको उक्त शो मा परिवारका बिबी मल्ल, राजेन्द्र बिरही र डिबी लोप्चन जस्ता चर्चित स्थानिय कलाकारहरु लगायत अन्य धेरै स्थानिय कलाकारहरुले आ-आफ्नो जोड्दार प्रस्तुती दिने छन ।
आयोजकका अनुसार, कार्यक्रममा युएइ एक्स्चेन्ज, हिमाल रेमिट, एअर अरेबिया र गल्फमार्ट जस्ता बिशाल कम्पनिहरुले स्पोन्सर गर्ने भएका छन भने कार्यक्रमको ब्यानर सौजन्य एनआरएनए कुबेतका उपाध्यक्ष राजु थापाले गर्नु हुने भएको छ । यसैगरी, कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमले सदा झैं नि:शुल्क मिडिया सपोर्ट गरेका छन । आयोजकले उक्त दशहरा साँस्कृतिक कार्यक्रम लालीगुराँस अनुरागी म्युजिकल शो लाई सफल पार्नको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, बुद्धिजिवी, पत्रकार, समाजसेवी एवं समस्त संगितप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।