इरान भ्रमण अत्यन्तै सफल : प्रधान मन्त्री


रमेश लम्साल, तेहरान, भदौ १६ – प्रधान मन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गरेको इरान भ्रमण अत्यन्तै सफल भएको दाबी गरेका छन् । तेहरानस्थित होटेल स्तेगाहलमा प्रधान मन्त्री भट्टराईले असंलग्न आन्दोलनको महत्व दुनियाँमा बढ्दै गएको र त्यसको सकारात्मक प्रभाव पारेकाले यसको महत्व र सान्दर्भिकता अझ बढेको बताए ।
भ्रमणका क्रममा विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखसँगको भेट पनि असाध्यै फलदायी भएको उनको भनाइ थियो।
प्रधान मन्त्री भट्टराईले भन्नुभयो, ‘असंलग्न आन्दोलनको यो अभियान विगतमा भन्दा आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्नु आवश्यक छ, त्यो आवश्यकतामा तेहरान सम्मेलनले अझ महत्वपूर्ण सफलता प्राप्त गरेको छ।’
सम्मेलनमा नेपालले विशेषगरी विश्व भाइचारा र विश्व शान्तिको पक्षमा अभिमत जाहेर गर्दै आफ्नो मन्तव्य राखेको र गरिबी, अशिक्षा तथा विश्वका जनताको जीवनस्तरको प्रसङ्गलाई पनि जोडेको छ, जुन गरिब देशहरूको सामूहिक एजेन्डा भएकाले पनि सो एजेन्डा सही भएको उनले बताए ।
अतिकम विकसित देशहरूको समूह (एलडिसी)को अध्यक्ष भएको नाताले पनि सम्मेलनमा नेपालको सहभागिता एकदमै महत्वपूर्ण र प्रभावकारी भएको प्रधान मन्त्री डा भट्टराईले बताए ।
‘नेपाल र नेपाली जनताको चाहना र भावनालाई सम्मान गर्ने गरी हामीले आफ्नो धारणा राख्यौं, जुन साझा एजेन्डाका रूपमा लिपिबद्ध भएको छ,’ उनले भने ।
असंलग्न मुलुकहरूको समूहको नेपाल संस्थापक सदस्य भएको नाताले पनि भ्रमणले अझ विशेष अर्थ राखेको र नेपालले प्रस्तुत गरेको एजेन्डाले झन् प्रभावकारी अर्थ राखेको प्रधान मन्त्री भट्टराईले बताए ।
सम्मेलनका क्रममा इरान आइपुगेदेखि नै अत्यन्तै व्यस्त रहनुभएका प्रधान मन्त्री भट्टराईले सोही अवधिमा संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, इरानका राष्ट्रपति डा मोहम्मद अहमदिनेजाद, इरानका अन्य उच्च अधिकारी, क्युबा, भेनेजुयलालगायत विश्वका एक दर्जनभन्दा राष्ट्रका प्रतिनिधि तथा उच्च अधिकारीहरूसँग भेटघाट र छलफल गरेका थिए ।

जुन भेटघाट र छलफल एकदमै महत्वपूर्ण रहेको र ती राष्ट्रहरू र नेपालको सम्बन्ध सुधारमा सो छलफलले महत्वपूर्ण दिशा तय गर्ने उनको भनाइ थियो।

भ्रमणकै क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन, भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा बङ्गलादेशकी प्रधान मन्त्री शेख हसिनासँगको भेट अझ महत्वपूर्ण र सार्थक रहेको बताइन्छ।

भट्टराईले भारतीय प्रधानमन्त्रीसँगको भेटमा नेपाललाई उपलब्ध गराउने भनिएको २०० मेगावाट विद्युत् तत्काल उपलब्ध गराउन र विगतमा गरिएका आर्थिक तथा वित्तीय सहायतालाई बढाउन आग्रह गरेका थिए ।

नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्नसमेत भट्टराईले भारतीय प्रधान मन्त्रीसँग आग्रह गरेका थिए ।

यसैगरी, नेपालमा जारी राजनीतिक सङ्क्रमणलाई तत्काल हल गर्ने विषयमा पनि दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण कुराकानी भएको थियो।

नेपालको शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका विषयमा महासचिव बान की मुनसँगको वार्ता र छलफल पनि अर्को महत्वपूर्ण अवसरका रूपमा जुटेको थियो।

नेपालको राजनीतिक घटनाक्रमलाई संयुक्त राष्ट्रसङ्घले सूक्ष्म रूपमा अध्ययन गरिरहेको र छिट्टै दलहरूको सहमतिमा नेपाल नयाँ प्रक्रियामा प्रवेश गर्ने तथा शान्ति र संविधानको कार्यभार पूरा गर्न सफल हुनेमा उनले विश्वास गरेका छन् ।

बानको सो आग्रहलाई एकदमै सकारात्मक रूपमा लिँदै भट्टराईले दलहरूबीच वार्ता र संवाद जारी रहेकाले छिट्टै राजनीतिक सङ्कट हट्ने र त्यसका लागि आफू र आफ्नो पार्टी नेतृत्व प्रतिबद्ध रहेको बताए ।

असंलग्न आन्दोलनको पक्षमा नेपालले प्रस्तुत गरेको प्रतिबद्धता र नेपालको निरन्तर सहभागितालाई इरानी राष्ट्रपति अहमदिनेजादले पनि भेटको अवसरमा एकदमै प्रशंसा गरेका प्रधानमन्त्रीले जानकारी दिए।

नेपालको आर्थिक समृद्धि, पर्यटन विकासलगायतका विषयमा सहयोग गर्न इरान सरकार तयार रहेको समेत सो अवसरमा उनले प्रतिबद्धता व्यक्त गरे ।

विपक्षी दलहरूले भ्रमणको औचित्य छैन भन्दै गरेको प्रचारको कुनै अर्थ नरहेको र विरोध गर्नु उनीहरूको स्वाभाविक धर्म रहेको समेत प्रधान मन्त्रीले बताए ।

सरकार देश र जनताको हितमा प्रतिबद्ध रहेकाले विरोधका नाममा विरोध गर्नुको कुनै अर्थ नहुने समेत प्रधान मन्त्रीले बताए । रासस

Source: Nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.