सुजित महत/योगेश खतिवडा
काठमाडौ, भाद्र १२ – प्रहरी अधिकृतहरू सामान्यतया दुईवटा मोबाइल प्रयोग गर्छन् । चल्तापुर्जा र वरिष्ठ अधिकृतसँग तीनवटा मोबाइल हुनु प्रहरीमा सामान्य मानिन्छ । तिनले मोबाइलको नेटवर्क समस्याले मात्र एकभन्दा बढी मोबाइल प्रयोग गरेका होइनन् । ‘कल/एसएमएस डिटेल (सीडीआर) अरूले लिएर गोपनीयता भंग गरिदेला भन्ने त्रास धेरैले एकभन्दा बढी मोबाइल बोक्छन्,’ एक प्रहरी अधिकृत भन्छन् । तिनका अनुसार गोप्य व्यक्ति कामका लागि प्रयोग गर्ने नम्बर तिनले अरूलाई दिँदैनन् । गोप्य मोबाइल आफ्नो नाममा लिएका हुँदैनन् । गोपनीयतामा बढी चनाखा प्रहरीले त काठमाडौंमा कार्यरत रहे पनि गोप्य काममा मोफसलका मोबाइल नम्बर प्रयोग गर्छन् ।
प्रहरी अधिकृतहरू दुई कारणले गोपनीयतामा चनाखो छन् । प्रतिस्पर्धीले सीडीआर लिएर अवैध कारोबारमा संलग्न र शक्तिकेन्द्रसँगको सम्बन्धको गोपनीयता अरूले भंग गरिदेला भन्ने डर कतिपयलाई छ । विवाहेतर सम्बन्ध परिवारबाट लुकाउन गोप्य नम्बरको प्रयोग गर्नेको पनि कमी छैन । टेलिकम कम्पनीहरूमा सीडीआरको पहुँच भएका महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कतिपय प्रहरी अधिकृत पत्नीहरूले पतिको सीडीआर निकाल्न दबाब दिने गरेका छन् । ‘हाकिमपत्नीले लोग्नेको मोबाइलको सीडीआर झिकिदिनु भनेर हैरान पार्छन्,’ महाशाखाका एक कनिष्ट प्रहरी भन्छन्, ‘मिल्दैन भन्दा हामीलाई नै थर्काउँछन् ।’
केही अघि एउटी युवती आफूलाई एउटा नम्बरबाट तारन्तार कल र एसएमएस गरी गाली गरिएको गुनासो लिएर महाशाखा पुगिन् । प्रहरीले उक्त नम्बरको सीडीआर निकालेर अनुसन्धान अघि बढाउँदा उक्त नम्बरको मोबाइल प्रहरीको ठूलै हाकिमपत्नीको देखियो । हाकिमपत्नीलाई कारबाही गर्ने हिम्मत त प्रहरीसँग थिएन । तर गालीगलौजको कारणको जरासम्म चाहिँ प्रहरी पुगेको थियो । ती युवतीसँग हाकिम लहसिएको कुरा पत्नीले थाहा पाएकी रहिछन् । पतिलाई तह लगाउन नसकेपछि पत्नीले छुट्टै सिम लिएर ती युवतीलाई तथानाम गाली गर्न सुरु गरेकी रहिछन् । विवाहेतर सम्बन्धकै तनावका कारण डेढ वर्षअघि प्रहरीका नायब उपरीक्षक -डीएसपी) कञ्चन थापाले कञ्चटमा गोली हानेर आत्महत्या गरेका थिए ।
सीडीआरको गोपनीयता नरहँदा वैवाहिक सम्बन्धमा सबैभन्दा बढी असर पर्ने सम्बद्धहरू बताउँछन् । नेपाल टेलिकममा केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार ३ वर्षअघि एक महिला पतिको सीडीआर दिने अनुरोध गर्न टेलिकम पुगिन् । त्यतिबेला टेलिकमले प्रहरीलाई समेत एसएमएसको डिटेल दिने गरेको थिएन । तर महिलाले साह्रै कर गरेपछि उनलाई एसएमसको डिटेल दिइयो । ‘केही समयपछि सम्बन्ध विच्छेद गर्न थालेको भन्दै उक्त एसएमएस डिटेलमा टेलिकमको सहीछाप गरी प्रमाणित गरिदिनुपर्यो भनेर आइन्,’ ती कर्मचारी भन्छन्, ‘अनिपो हामी झसंग भयौं, त्यही एसएमएस डिटेलका कारण महिला
सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेकी थिइन् ।
रणबहादुर बम हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले ३० हजार मोबाइलको (सबै टेलिकम कम्पनीका गरी) एसएमएसको डिटेल लिएको छ । कल डिटेलसमेत गरी प्रहरीले ५ लाखवटा टेलिफोनको विवरण लिएको छ । ती विवरण सार्वजनिक भए काठमाडौंवासीको वैवाहिक जीवनमा भुइँचालो आउने एक प्रहरी बताउँछन् । ‘सम्बन्ध विच्छेद मुद्दाको घुँइचो लाग्छ,’ ती अधिकृतले भने । काठमाडौंमा पैसा कमाएका धेरैले विवाहेतर सम्बन्ध राखेका छन् । तर सम्बन्धलाई गोप्य राख्न सकेका कारण धेरैको वैवाहिक सम्बन्ध बिगि्रएको छैन । तर सीडीआरको गोप्यता रहेन भने गोपनीयता जारी रहन सक्तैन । महानगरीय प्रहरी आयुक्त कुवेरसिंह राना थोरै र उच्च व्यावसायिक आचरण भएका प्रहरीको पहुँचमा भएकाले प्रहरीले लिएका ती सीडीआरको गोपनीयतामा शंका नगर्न भन्छन् । ‘बम हत्याको अनुसन्धानबाहेक केहीमा तिनको प्रयोग हुँदैन,’ उनी थप्छन् ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट हालै राज्ाीनामा गरेका भेषराज कँडेल सीडीआरको गोपनीयताको संवेदनशीलता बुझेरै प्रहरीका केहीको मात्र पहुँच हुने गरी व्यवस्थित गरिएको बताउँछन् । व्यवस्थित गर्नुअघि प्रहरीका जुनसुकै कार्यालयबाट माग भए पनि सीडीआर दिने गरिएको थियो । प्रहरीले अपराध अनुसन्धान प्रभावित हुन्छ भनेर अडान लिए पनि केही दिन सीडीआर दिन बन्द गरेर सीआईबी र अपराध महाशाखाका एकएक इमेल आईडीबाट माग भए कल डिटेल उपलब्ध गराउने सम्झौता गरिएको छ । गृह मन्त्रालयको रोहवरमा भएको उक्त सम्झौताअनुसार सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एक एक इमेलबाट माग भए सीडीआर सबै टेलिकम कम्पनीले दिनुपर्नेछ । यस्तै एसएमएस डिटेलका लागि छुट्टै निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । प्रहरीले तत्काल चाहिने भए निवेदन स्क्यान गरी इमेलमार्फत पठाउन सक्ने सुविधा दिएका छन् ।
नेपाल टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक सुरेन्द्र थिके प्रहरीको आधिकारिक च्यानलबाहेक अरूलाई सीडीआर नदिन कडाइ गरिएको बताउँछन् । एनसेलको कर्पोरेट कम्युनिकेसन डाइरेक्टर सञ्जु कोइराला पनि प्रहरीको वैधानिक च्यानललाई मात्र सम्बोधन गरिने गरेको बताउँछिन् । ‘कर्मचारीले आफूखुसी सीडीआरमा हस्तक्षेप गरे दण्डित हुनुपर्छ,’ उनले भनिन् ।
टेलिकम कम्पनीहरूले प्रहरीलाई मात्र पहुँच दिने भने पनि प्रहरीकै मिलेमतोमा अरूको गोपनीयता भंग भइरहेको छ । जस्तो: अहिले काठमाडौं प्रहरी परिसरले लेनदेनका विवादमा ठूलो संख्यामा सीडीआर प्रयोग गरिरहेको छ । ऋण असुल गरिदिन निवेदन परेपछि ऋणी तत्काल उपस्थित नभए परिसरले ऋणीको कल डिटेल झिक्ने गरेको छ । त्यसैको आधारमा उसलाई पक्राउ वा हाजिर हुन बाध्य पार्ने गरिएको अपराध महाशाखाका प्रहरी बताउँछन् ।
Source: Ekantipur