‘छोरालाई फाँसी भए म बूढी किन बाँच्नू’


सुरेन्द्र पौडेल, काठमाडौं, भदौ ७ -दस दिनअघि पर्वतबाट काठमाडौं आएकी मनकुमारी सुनार तीन दिनको प्रयासमा सिंहदरबार छिरिन् र धेरैसँग हात फैलाइन्- मेरो छोरोको आयु अब ११ दिनमात्र छ, लौ न बचाइदिनुस्।’ १० दिनदेखि उनी यसरी नै भौंतारिइन्- परराष्ट्र, श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, मानवअधिकार आयोग, प्रधानमन्त्री कार्यालय। धेरैसामु हात फैलाइन्, रोइन् र सहयोगको याचना गरिन् तर कतैबाट झिनो आश्वासन पनि पाएकी छैनन्। प्रधानमन्त्रीलाई भेट्न पाइनन्, निवेदन दिएर फर्किइन्।

कामको सिलसिलामा युएई रहेका उनको एक्लो छोरो दुर्गाबहादुरलाई त्यहाँको अदालतले हत्या अभियोगमा मृत्युदण्ड सुनाएको छ। युएईको शारजहाँमा सन् २००९ जनवरी १४ का दिन सामान्य भनाभन हुँदा दुर्गाबहादुरले सुनसरी हाँसपोसा- २ का गणेशबहादुर बस्नेतलाई हातपात गरेका थिए। कुटाकुटमा गणेशबहादुरको मृत्यु भयो, उनलाई शारजहाँ प्रहरीले पक्राउ गरी मुद्दा चलायो। त्यसपछि सन् २०१० मा अदालतले दुर्गाबहादुरलाई मृत्युदण्डको सजाय सुनाएको थियो। अदालतले यही भदौ २७ मा उनलाई साउदी अरब लगेर फाँसी दिनसक्छ। मनकुमारीसँग छोरो बचाउने दुई विकल्प छन्- पीडित परिवारले मागेको २० लाख बुझाउने, पैसा नतिरी माफी गर्न मनाउने।

एक्लो छोरो दुर्गाबहादुरलाई मृत्युको मुखबाट फर्काउन उनीसँग अब ११ दिन मात्र बाँकी छ। ‘म बूढी, कहाँकहाँ जाउँ, कसैले सुन्दैनन्,’ गहिरा आँखा भर्दै ६४ वर्षे वृद्धा मनकुमारी सुस्ताइन्, ‘छोरो फर्काउन सकिनँ भने म किन गाउँ (पर्वत) जानू। न श्रीमान हुनुहुन्छ, न सन्तान। कसका लागि बाँच्नू, केही सीप नलागे म आफैं फाल हान्छु।’

पर्वत चित्रे- ४ मा बस्छिन् मनकुमारी। सम्पत्तिको नाममा त्यही एउटा छोरा। छोराले कमाउला, घरबार जोडौला अनि उसको विवाह गरिदिने उनको इच्छा। यही इच्छा पूरा गर्न उनले नौ वर्षअघि २०६० सालमा छोरालाई एक लाख रुपैयाँ ऋण जुटाएर युएई पठाएकी थिइन्। दुर्गाबहादुर युएई पुगेपछि एकपटक पनि फर्केनन्। तीन कक्षासम्म पढेका उनले न एउटै पत्र पठाए, फोन पनि गरेनन्।

बूढाबूढी मेलापात गरेर दुःखसाथ छोराको बाटो हेर्दै दिन कटाउँथे। पिँढीको डिलमा बसेर छोराको बाटो हेर्ने पतिको साथ पनि उनले गुमाइन्। छोरा युएई गएको चार वर्ष बित्न नपाउँदै पतिको मृत्यु भयो, उनी एक्ली भइन्। ‘उहाँ बितेपछि सधैं एक्लै छोराको बाटो हेरेर बिताएकी छु। साँझ परेपछि ‘आमा’ भन्दै बोलाउँदै छोरा आउँछ कि जस्तो लाग्छ, घरभित्र पस्नै मन लाग्दैन,’ सुकसुकाउँदै मनकुमारीले सुनाइन्।

एघार दिनभित्र २० लाख ब्लड मनी तिर्न सके ६४ वर्षे मनकुमारीको खुसी फर्कनेछ

पति बितेपछि उनको आफ्नो भन्ने माइती मात्र थिए। सम्पत्ति केही थिएन। केही दिन माइत बसेपछि उनलाई गाउँकै एक व्यक्तिको आफ्नो पुरानो घर कुरिदिन आग्रह गरे। उनले स्विकारिन्, अहिले उनी त्यही घरमा बस्छिन्। कसैलाई खेताला चाहिए उनी पहिला पुग्छिन्। भारी बोक्न अब सक्दिनन्। गएको असारमा पिँढीमा बसिरहेका बेला तीन युवा आएर भने, ‘ तपार्इंका छोराले युएईमा मृत्युदण्डको सजाय पाएका छन्। थप कुरा काठमाडौंमा परराष्ट्र मन्त्रालयमा गएर बुझ्नु होला,’ ती युवा फर्किए। जानकारी दिन आएका युवाहरु डिमुवाचौकीका प्रहरी थिए।

नौ वर्षपछि छोराको खबर त आयो तर मृत्युदण्ड पाएको। उनी रातभर सुत्न सकिनन्। भोलिपल्ट भाइलाई लिएर उनी काठमाडौं आइन्। परराष्ट्र कन्सुलर शाखाका कर्मचारीले छोरो’bout सबै बताइदिए।

अदालतले दुर्गाबहादुरको परिवारलाई तीन विकल्प दिएर पठाएको पत्र पाइन् मनकुमारीले। दुर्गाबहादुरलाई मृत्युदण्डको सजाय दिने, ब्लड मनी (क्षतिपूर्ति रकम) लिई माफी दिने वा ब्लड मनी नलिई माफी गर्ने- तीन विकल्पमध्ये एक रोज्न पत्रमा अदालतले भनेको थियो। इस्लामिक कानुनअनुसार पीडित परिवारले ब्लड मनी लिएर वा नलिएर नै दोषीलाई माफी दिन चाहे आममाफी पाउने गर्छ। यसैअनुसार अदालतले पीडितका परिवारसँग छलफल गरी सजाय रोज्न दुर्गाबहादुरको परिवारलाई पत्र पठाएको थियो। पत्रमा भदौ २७ गते उनलाई फासी दिइने उल्लेख छ। फासी साउदी अरब लगेर दिइने हुँदा त्यो मितिभन्दा १० दिनअगाडि नै कुन सजाय रोज्ने निर्णय गरिसक्नु पर्नेछ। भदौ १७ सम्म लिखित रुपमा निर्णय पठाउनुपर्नेछ।

सुरुमा गणेशबहादुरको परिवार पत्ता लगाउनै गाह्रो भयो। गणेश मारिएको र दुर्गालाई मृत्युदण्ड दिइएको समाचार नागरिकमा प्रकाशित भएपछि गणेशका आफन्त परराष्ट्रको सम्पर्कमा आएका थिए। गणेशको परिवार परराष्ट्र पुग्दा आवश्यक पैसा जोहो गर्न मनकुमारी गाउँ पुगेकी थिइन्। उनले पाँच-दस रुपैयाँ गरी अहिलेसम्म ९ सय जम्मा गरेकी छन्।

मारिने गणेशको परिवार पनि उस्तै छ। गणेश पनि आमा-बुबाका एकमात्र छोरा थिए। बुबा मोहन ५६ र आमा अम्बिका ७० वर्ष भइन्। नसासम्बन्धी रोगबाट पीडित मोहनको कम्मरमुनिको भाग राम्रो चल्दैन। आम अम्बिका दुवै गोडा जन्मजात कुँजा छन्। दुवैलाई हिँड्न अर्काको सहारा चाहिन्छ। सिन्धुलीमा रहेको घरखेत पहिरोले लगेपछि मोहन र अम्बिका सुनसरी हुँदै २०४७ सालमा काठमाडौं आएका थिए। डल्लुमा बस्दै आएका उनीहरु काठमाडौं आएदेखि नै स्वयम्भूमा मकै पोलेर जीविकोपार्जन गर्दै आएका छन्।

पछिल्लोपटक काठमाडौं आएपछि मनकुमारीले गणेशका आमा-बुबालाई भेटिन्। मोहन र अम्बिकाले २० लाख रुपैयाँ मागेका छन्। उनी दिन सक्ने अवस्थामा छैनन्।

‘यो धर्तीमा छोरोबाहेक अन्य सहारा कोही छैन, मेरो जग्गा जमिन केही छैन। जग्गाधनी दर्ता प्रमाण पुर्जा पनि छैन, म पूर्ण सुकुम्बासी हुँ,’ गणेशका माता-पितासँग गरेको अनुनयविनय उनले सुनाइन्। ‘हामी पनि सुकुम्बासी नै हौं। एकमात्र सहारा छोरो थियो, ऊ पनि मारियो। हामीलाई बाँच्न पनि सहारा चाहिन्छ। २० लाख रुपैयाँ नदिए हामी माफी दिन सक्दैनौं,’ जवाफमा गणेशका मातापितालाई भनेको उनले सुनाइन्।

क्षतिपूर्ति रकम दिने इच्छा छ मनकुमारीको, तर दिने केही छैन। कतैबाट सहयोग पाएकी छैनन्। प्रधानमन्त्रीलाई भेटी आफ्नो समस्या बताउने उनले अनेकौं प्रयास गरिनन्, तर सफल भइनन्। प्रधानमन्त्रीलाई भेटेर पीडा पोख्न नपाएपछि मनकुमारीले प्रधानमन्त्रीको सम्पर्क शाखामा निवेदन दर्ता गरेर फर्किन्।

‘सहाराविहीन भएर होला, के हुँदैछ भनी खोजी गरिदिने कोही भएन। छोराको ज्यान बचाउने मसँग कुनै उपाय छैन,’ आँसु बगाउँदै मनकुमारीले भनिन्, ‘म रित्तोहात गाउँ फर्कनेछैन। श्रीमान्ले छोडेर जानुभयो, अब छोरा पनि नहुने हो भने म किन बाँच्नू?’

Source: nagarik news

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.