३२ साउन, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङबाट ५२ थान राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय एक थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । स्टोरको दराजभित्र राखिएका ४८२९३०१ देखि ४८२९३५० सम्मका ५० थान र ४८२९५३४ र ४८२९५३५ नं का दुई थान गरी ५२ थान हस्तलिखित राहदानी हराएको हो ।
मेसिन रिडेबल राहदानी लागू भएपछि काम नलाग्ने भएकाले स्टोरमा राखिएका राहदानी कर्मचारीकै लापरवाहीले हराएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयको भवन सर्नेक्रममा पुराना सामग्री रुजु गर्दा राहदानी हराएको तथ्य फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले बताउनुभयो ।
राहदानी हराएको खबर थाहा भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोमा समितिले कर्मचारीकै कारणबाट राहदानी हराएको निष्कर्षसहितको प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।
हराएको राहदानीको विवरणसहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने अवस्था’bout छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।
राहदानीको जिम्मा लिएका र स्टोरको जिम्मा लगाइएपछि एउटा चावी नै फिर्ता नगरेको भन्ने हालका स्टोर हेर्दैआएका ईश्वरी पोखरेलको निवेदनको आधारमा बद्री थापालाई जिल्ला प्रशासन कार्यालयले निगरानीमा राखेको जनाएको छ