जनजातिको पार्टी खुल्ने


गणेश राई/दुर्गा खनाल

नाम- सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टी

काठमाडौ, श्रावण २५ – संघीयताका विषयमा मूलधारका राजनीतिक दलहरूसँग असन्तुष्ट जनजाति अगुवाहरूको एउटा समूह नयाँ पार्टी खोल्ने टुंगामा पुगेको छ । विश्व आदिवासी दिवस पारेर प्रस्तावित ‘सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टी’ बिहीबार घोषणा हुँदैछ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य चैतन्य सुब्बाको संयोजकत्वमा रहेको कार्यदलले नयाँ पार्टी निर्माणसम्बन्धी घोषणापत्र तयार गरेको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा घोषणासभाको कार्यक्रम तय भएको छ ।

नयाँ पार्टी बनाउने समूहमा भर्खरै एमाले परित्याग गरेका पूर्वसभासद पासाङ शेर्पा, समाजशास्त्री कृष्णबहादुर भट्टचन, महेन्द्र लावती, जितपाल किराँत, बमकुमारी बुढा, शान्ति राई, नन्द कन्दङ्वा, डण्डु शेर्पालगायत छन् । पार्टी प्रमुख को हुने भन्ने अझै तय भएको छैन । तत्कालै पार्टीको तदर्थ समिति पनि नबनाउने पूर्वसभासद शेर्पाले जानकारी दिए । ‘हामी पहिले घोषणापत्र सार्वजनिक गर्छौं त्यसपछि पार्टी निर्माणका लागि एउटा समिति बन्छ तर त्यो तदर्थ समितिजस्तो होइन,’ शेर्पाले कान्तिपुरसँग भने, ‘त्यसको संयोजक को भन्ने भेलाले नै टुंगो लगाउँछ र अन्य धेरै व्यक्ति त्यसमा सहभागी हुनेछन् ।’

आदिवासी जनजाति महासंघले एक महिनाअघि राष्ट्रिय राजनीतिक सम्मेलन गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने निष्कर्ष निकालेको थियो । त्यही निष्कर्षका आधारमा कार्यदल बनेको थियो । कार्यदलको तयारीअनुसार पार्टी घोषणा हुन लागे पनि यो महासंघअन्तर्गतको पार्टी नहुने शेर्पाले जानकारी दिए ।

‘महासंघको सम्मेलनबाटै पार्टी निर्माणको आधार तयार भए पनि महासंघ भनेको सबै राजनीतिक पार्टीको थलो हो, त्यसकै छुट्टै पार्टी भने होइन,’ पूर्वसभासद शेर्पाले भने, ‘तर वैकल्पिक शक्तिको आवश्यकता महासंघले पनि देखेको हो ।’ महासंघका अध्यक्ष राजकुमार लेखी, महासचिव आङकाजी शेर्पालगायत यसमा सक्रिय छैनन् । महासंघका कोषाध्यक्ष डण्डु शेर्पा मात्र यसमा संलग्न छन् । अध्यक्ष लेखीको आफ्नै ‘नेपाल नागरिक पार्टी’ छ भने महासचिव शेर्पालाई संलग्न गराउन नयाँ पार्टी निर्माण समूहले बुधबार अबेरसम्म प्रयास गरिरहेको छ । महासचिव शेर्पाले माओवादीको सभामा गएर आफ्नै पार्टीविरुद्घ अभिव्यक्ति दिएपछि एमालेले बर्खास्त गरेको हो ।

आदिवासी जनजातिहरूको अगुवाइमा खुल्न लागे पनि पार्टी समावेशी र सबैको प्रतिनिधित्व गर्ने खालको हुने पूर्वसभासद शेर्पाको दाबी छ । ‘हाम्रो पार्टी आदिवासी जनजातिको मात्र होइन, जातीय, वर्गीय, लिंगीय र भूगोलअनुसार सबैको समावेशी प्रतिनिधित्व हुन्छ,’ शेर्पाले भने, ‘राजनीतिक दर्शनअनुसार कांग्रेस र कम्युनिस्ट सबै पार्टीहरू समावेश हुन सक्ने खालको हुनेछ ।’ उनका अनुसार नयाँ पार्टीको सैद्घान्तिक आधार सामाजिक न्याय, पहिचानको सम्मान, सामुदायिक अधिकार, आत्मनिर्णयको अधिकार, स्वायत्ततासहितको समावेशी लोकतन्त्र हुनेछ । ‘आदिवासी जनजातिवाद’ को सिद्घान्तलाई यसले प्रमुख प्राथमिकता दिनेछ ।

मूलधारका राजनीतिक पार्टीहरूको दर्शन र सिद्घान्त राम्रो भए पनि नेताहरूको कार्यशैलीका कारण नयाँ राजनीतिक शक्तिको आवश्यकता परेको उनीहरूको भनाइ छ । ‘माक्र्सवाद र समाजवाद दुवैलाई नेतृत्वकर्ताले दुरुपयोग गरे,’ पूर्वसभासद शेर्पाले भने, ‘त्यसैले सामाजिक न्यायका मुद्दाहरूलाई अघि बढाउन नयाँ शक्तिको आवश्यकता परेको हो ।’

जनजाति अगुवाहरूबीच नयाँ दल तत्कालै खोल्ने कि पछि भन्नेमा विवाद थियो । विवादकै बीच एउटा समूह तत्कालै पार्टी खोल्ने निर्णयमा पुगेको हो । विशेषगरी एमालेभित्र असन्तुष्ट रहेका जनजाति नेताहरू तत्कालै नयाँ पार्टी नखोल्ने पक्षमा थिए । पार्टी छोड्नै परेको अवस्थामा केही समयपछि मात्र नयाँ दल बनाउँदा राम्रो हुने उनीहरूको भनाइ थियो । त्यसैले यो समूहलाई हतार नगर्न एमालेभित्रको असन्तुष्ट समूहले आग्रह गरिरहेको थियो । एमालेभित्रको समूह पार्टीमै बस्ने सम्भावना पनि रहेकाले अभियानमा लागेको टोली घोषणा गरिहाल्ने निष्कर्षमा पुगेको हो । पार्टी निर्माणको घोषणापछि एमाले, कांग्रेसमा असन्तुष्ट रहेका नेताहरू पनि त्यसमा सहभागी हुने बुझाइ उनीहरूको छ ।

‘अहिलेका निम्ति यो पार्टीको नाम प्रस्तावित हो,’ अवधारणाको खाका निर्मातामध्येका एक सदस्य चैतन्य सुब्बाले भने, ‘अधिवेशनबाट नाम, सैद्धान्तिक पक्षमा संशोधन गर्न सक्छ ।’ निश्चित अवधिका निम्ति नेतृत्व रहने र नयाँ नेतृत्व तथा जनतामाझ पुग्न अभियान अघि बढाउने उनले जनाए ।

नयाँ राजनीतिक शक्ति कस्तो हुने भन्नेमा जनजाति नेताहरूबीच नै फरक धार छ ।

केही जनजाति अगुवाहरू जातीय झल्को आउने खालेको पार्टी भए त्यो टिक्न नसक्ने धारणा राखिरहेका छन् भने केहीले जातीयतालाई नै जोड दिएका छन् । महासंघका अध्यक्ष लेखी नै जातीय पार्टी चल्न नसक्ने भन्दै त्यसको विपक्षमा छन् ।

जनजाति अगुवाहरूको नेतृत्वमा पार्टी खुल्न लागेको यो पहिलो होइन । यसअघि विभिन्न कालखण्डमा आदिवासी जनजाति अधिकारको वकालत गर्ने गरी धेरै राजनीतिक पार्टीहरू खुलिसकेका छन् । तर ती पार्टीले राष्ट्रिय राजनीतिमा उल्लेख्य भूमिका स्थापित गर्न सकेनन् ।

‘अहिलेसम्म २४ वटा जनजाति पार्टी खुले, त्यसमध्ये तीन वटा भूमिगत पनि थिए,’ मानवशास्त्री डा. मुक्तासिंह लामाले भने, ‘अब खुल्न लागेको वैकल्पिक शक्तिसम्पन्न पार्टी हो कि चौबीसमा थप एक हो हेर्न बाँकी छ ।’

खगेन्द्रजंग गुरुङ, गोरेबहादुर खपांगीहरू पहिलो पुस्ताका जनजाति केन्दि्रत दल खोल्नेमा पर्छन् । संविधानसभाको निर्वाचनका बेला पूर्वमा कुमार लिङदेन, पश्चिम तराईमा लक्ष्मण्ा थारू, मध्य पहाडमा पर्शुराम तामाङ, उपत्यकामा केशवमान शाक्यले छुट्टाछुट्टै पार्टी

खोले । तिनले संविधानसभामा एक-दुई सिट ल्याउनेभन्दा बढी केही भूमिका स्थापित गर्न सकेनन् ।

 

 Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.