‘आमा र श्रीमतीलाई बचाउन सकिनँ’


हरिबहादुर घर्तीमगर
काठमाडौ, श्रावण २४ – आमा र श्रीमतीलाई लिएर बिहीबारै काठमाडौं जाने तयारीमा थिए । आमाले हिँड्न सोमबार उपयुक्त हुन्छ भन्नुभयो । त्यसपछि यात्राको दिन सार्‍यौं । हामी चढेको रात्रि बस बुटवलबाट दस बजे छुटेको थियो । सिटभरी यात्रु थिए । 

नारायणगढ पुग्नुअघि एउटा सानो बजारमा चालकले खाना खान गाडी रोके । यात्रुहरू चालकले मदिरा सेवन गर्छ कि भनेर हेरिरहेका थिए । मैले पनि उसको निगरानी गरेँ । त्यहाँ मदिरा खाएको थाहा पाएनौं । खानपिनपछि अगाडि बढ्यौं । गाडी घ्याच्च-घ्याच्च गर्दा दुर्घटनाको चिन्ताले सताउँथ्यो । ‘दुर्घटना भइहाल्यो भने’ भन्ने शंका पनि उब्जिरहेको थियो । शंका गर्दा श्रीमती र आमाको चिन्ता लाग्थ्यो । आँखा निदाए पनि मन निदाएको थिएन । गाडी अलिअलि तलमाथि हुनेबित्तिकै ब्युँझिहाल्थेँ ।

दुर्घटना हुनुभन्दा त्यस्तै डेढ घन्टाअघि चालकले २० मिनेट जति गाडी रोकेर आराम गरेका थिए । कुन ठाउँ हो पत्तो भएन । मध्यरात भएकाले सबै यात्रु निदाइरहेका थिए । गाडीबाट प्रायः कोही झरेनन् । म पनि झरिन । मलाई लाग्छ, चालकले उक्त स्थानमा मदिरा सेवन गरेको हुनुपर्छ । किनकि त्यसपछिको उसको गाडी हकाई अलि ‘अनकन्ट्रोल’ थियो । त्यसैले प्रायः यात्रु ब्युँझिए ।

गीत बजिरहेको थियो । यात्रुहरूले चालकलाई गीत बन्द गर्न भने । त्यसपछि यात्रु निदाए । म पनि झकाउन लागेको थिएँ । एक्कासि गाडी झर्‍यो । मैले केही समयअघि कृष्णभीरबाट त्रिशूलीमा गाडी खस्यो भन्ने समाचार पढेको थिएँ । हाम्रो गाडी पनि त्यहींबाट झर्‍यो, अब बाँचिएन भन्ने लाग्यो । निकैबेर केही थाहा पाइन । एक्कासि झ्यालका सिसा फोडेर निस्किएछु । चोटपटक लागेकाले सुरुमा आमा, श्रीमती पनि छन् भन्ने बिर्सिएछु । पछि एक्कासि सम्झना र बल आयो । श्रीमती र आमा खोज्न पसेँ । तर भेटिनँ ।

जताततै कोलाहल मच्चिएको थियो । उज्यालाका लागि कुनै उपाय थिएन । यताउति खोज्दा पनि आमा र श्रीमतीलाई भेट्टाइन । धेरैबेरपछि स्थानीयवासी उद्धारका लागि आए । आधा घन्टापछि प्रहरी पनि आयो । एक दुई गर्दै घाइते र मृतकलाई निकाल्न थाले । सबैको अनुहार हेरेँ । अन्तिममा आमालाई बसले थिचेको स्थानबाट निकालियो । तर उहाँ जीवित हुनुहुन्नथ्यो । केही छिनपछि खोलाले बगाएर केही तल पुर्‍याएको स्थानबाट श्रीमतीलाई ल्याए । उनी पनि जीवित थिइनन् ।

आमा र श्रीमतीलाई…

दुवैको प्रकृति हेर्दा घाइते भएको निकै बेरपछि मृत्यु भएको हो । उज्यालो भएको भए खोजेकै समयमा मैले भेट्टाएर बचाउन सक्थेँ जस्तो लाग्छ ।

म दुबईको अबुधावीको प्रहरी हुँ । बुबा नेपाल प्रहरीबाट रिटायर हुनुभएको थियो । उहाँले पेन्सनपट्टा बनाउने क्रममा नजिकको हकदारमा मेरो नाम राख्नुभएको रहेछ । गत वैशाखमा उहाँको निधन भएपछि पेन्सनपट्टा आमाका नाममा सार्न श्रीमती र म एक महिनाअघि मात्र नेपाल आएका हौं । त्यही नामसारी गर्न आमालाई लिएर काठमाडौं हिँडेको थिएँ । काम सकेर श्रीमती म शुक्रबार दुबई उड्ने तयारीमा थियौं । आइतबार दुबई प्रहरीमा हाजिर हुने योजना थियो ।

पहिलो श्रीमतीको मृत्युपछि सालीसँग दोस्रो विवाह गरेको हुँ । केही वर्षयता परिवारमा मृत्यु नै मृत्युको घटना भयो, जीवनमा दुःखैदुःख लेखेको रहेको छ । जिन्दगीदेखि दिक्क लागेको छ । अन्य मृत्यु कालगतिले भएको थियो । तर चालकको लापरबाहीले आमा र श्रीमती गुमाएँ । मेरो विचारमा कि चालकले मदिरा पिएको हुनुपर्छ कि निदाएको । ननिदाउनका लागि यातायात व्यवसायीले दुईजना चालकको व्यवस्था गर्नुपथ्र्यो ।

(गजुरीमा श्रीमती र आमाको शव कुरेर बसेका घाइते मगरसँग कृष्ण आचार्यले टेलिफोनमा गरेको कुराकानीमा आधारित ।)

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.