काठमाडौं, साउन २१ – राष्ट्रपति डा. रामवरण यादवले २७ दलका नेताहरुलाई आज बैठक बोलाएका छन्। चुनाव हुन नसक्ने परिस्थितिको निर्माण हुँदै गएको सन्दर्भमा राष्ट्रपति यादवले प्रमुख दलका नेता तथा साना राजनीतिक दलका अध्यक्षहरुलाई आफ्नो निवासमा छलफलका लागि बोलाएका हुन्। छलफलमा प्रधान मन्त्री बाबुराम भट्टराईसमेत सहभागी छन्। आज बिहानैदेखि उनले छलफलका लागि बोलाएका थिए।
प्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचनका लागि वातावरण बनाउनुको साटो अध्यादेश ल्याएर विपक्षी चिढ्याएपछि राष्ट्रपति असन्तुष्ट बनेका थिए। यादवले तत्कालीन संविधानसभामा रहेका २७ दललाई परामर्शमा बोलाएका हुन्।
सहमतिका लागि बारम्बार आग्रह गर्दा पनि प्रधानमन्त्रीले वास्ता नगरेपछि राष्ट्रपति यादवले निर्वाचनसम्बन्धी अध्यादेशलगायतका राजनीतिक विषयमा परामर्शका लागि दलका नेताहरूलाई आइतबार बिहान आफ्नै निवासमा बोलाएका हुन्।
पार्टी विभाजनपछि गठन भएका एकीकृत माओवादीबाट छुट्टिएर बनेको नेकपा-माओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट विभाजित भएको तराई मधेस समाजवादी पार्टीका नेतासँग राष्ट्रपतिले यसअघि भेटे पनि यसपालिको परामर्शमा बोलाइएको छैन।
राष्ट्रपति यादवले पछिल्लो १५ दिनमा प्रधानमन्त्री भट्टराईकासाथै एकिकृत माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसवादी दल, नेमकिपा, नेकपा मालेसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक र संवैधानिक संकटका विषयमा छलफल गरिसकेका छन्।
Source:Nagarik