काठमाडौँ, साउन २१ – परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक भएको छ। परराष्ट्र मन्त्रालयको mofa.gov.np साइटको गृहपृष्ठमाथि नै ह्याकरले कब्जा जमाएका छन्। गृहपृष्ठमा ‘इन्डोनेसियाली आक्रमण’ भएको उल्लेख गरिएको छ। त्यसैगरी अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागको customs.gov.np पनि ह्याक भएको छ। सोही इन्डोनेसियाली समूहले यो साइटको पेजलाई बिगारेका छन्। परराष्ट्र मन्त्रालयको साइट जस्तै पूरै साइटमाथि नियन्त्रण नजमाए पनि यो साइटको गृहपृष्ठ बिगारेर आफ्नो सन्देश त्यो समूहले राखेको छ।
गत साता पनि यही समूहले नेपाल सरकारको आधिकारिक साइट nepalgov.gov.np र विज्ञान प्रविधि मन्त्रालयको most.gov.np बिगारेको (डिफेस) गरेको थियो। सरकारको आधिकारिक साइट सञ्चालनमा आइसके पनि विज्ञान प्रविधि मन्त्रालयको साइट अझै निर्माणको क्रममै रहेको सन्देश राखिएको छ।
सात महिनाअघिदेखि वातावरण, विज्ञान तथा प्रविधिको गृहपृष्ठ moenv.gov.np मा यही समूहले डिफेस गरेर hacked by jas0nz666 लेख्दा पनि अहिलेसम्म हटाउन सकेको देखिँदैन।
केही अघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएपछि अझैसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। नेपाल प्रहरीको साइटभित्र रहेको ट्राफिक प्रहरीलगायतका सब डोमेन अझैसम्म सञ्चालनमा आउन सकेका छैनन्।
Source: Nagarik