आज रक्षाबन्धन र जनैपूर्णिमा


काठमाडौँ, साउन १८- जनैपूर्णिमाका दिन आज बिहान सबेरै विधिपूर्वक जनै मन्त्रन यजमानहरू आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन्। हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

यस उपलक्ष्यमा तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ पनि भन्ने गरिन्छ।

यसैगरी आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ।

आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेको क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ।

आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ।

आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ।

नेवार समुदायमा आजका दिनलाई ‘गुन्हु-पुन्ही’ भनी मनाइने परम्परा रहेको छ।

विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको काम’bout कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ।

आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ।

यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ।

Source:Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.