‘घाइतेले हात हल्लाएको देखेँ’


टेकनारायण भट्टराई, पाल्पा,

साउन १४-  हिजो बिहान साढे ५ बजेतिर खोला किनार हुँदै जंगलसम्म मर्निङवाक गरेर फर्कदै थिएँ। खोला किनारमा लम्पसार सुतेका एक मोटा मान्छेले हात हल्लाएको देखेँ। उल्टो दिशा पर्ने हुँदा जंगलतर्फ जाँदा मेले देखिनँ। उनले मलाई फर्कने आशामा कुरेका रहेछन्। हात हल्लाएका मान्छे देख्दा सुरुमा त डराएँ। नजिकै पुग्दा कच्याककुचुक्क परेको गाडी वरिपरि पानीमा तैरिएका मान्छे देखेँ। 
 मेरो जिउ काँप्यो। सपना जस्तो लाग्यो। ती मोटा मान्छेले हात हल्लाइरहे। म खोलामा झरेँ। मान्छेहरु त मरेका पो रहेछन्। आत्तिएर दगुर्दै घर आएँ। छिमेकका सबैलाई उठाएर १०, १२ जना भएर खोलामा गयौं।

हात हल्लाउनेलाई उठाएर माथि बाटोमा ल्यायौं। उनले ‘मेरा छोरी र बुढियाहरु कता छन् बाबु?’ भन्दै सोधे। हामीले शव भएतिर देखाएनौं। उनी चल्न चल्मलाउन सक्ने अवस्थामा थिएनन्।

अरु सबै मरेजस्तो लाग्यो। एकजना दाइ चिच्याउनु भयो, यहाँ बच्चाले सास फर्दैछ। सानो फुच्चे बाबु रहेछ। कुक्रुक्क परेर ढुंगाको कापमा आधा शरीर पानीमा आधा बाहिर पारेर बसेको। उसको टाउको माथि कुच्चिएको गाडी थियो। गाडीको ओत लागेर बसेको जस्तो देखिन्थ्यो। आँखा हेरेका। मैले बाबु आऊ भनेँ। ऊ बोलेन। हात समाएर उचाल्यौं। ऊ बोल्यो ‘मेरा एक पयर नहीँ है’ (मेरो एक खुट्टा छैन)। गालामा चक्कुले चिरे जस्तो काटेको थियो। एउटा खुट्टा साप्रादेखि ठाउँठाउँमा चुडिएको थियो। ऊ अरु केही बोलेन। बेहोसजस्तै थियो।
  ८२ वर्षे वृद्धले दिए दागबत्ती
‘मलाई दुःख खप्टियो बाबु,’ कालीगण्डकी तिरमा १३ सन्तानको शव नियाल्दै ८२ वर्षे वृद्धले भने, ‘जेठो छोरो बितेको छ दिनमै अर्को आपत आइलाग्यो।’
गत सोमबार भारतमा बितेका छोरा धनबहादुरको अस्तु सेलाउन ८२ वर्षे अनबहादुर राना शनिबार बिहान रिडी घाटमा आउने तयारीमा थिए। तर उनले त्यो बिहान अर्को अनिष्ट खबर सुने।
छोराको किरिया बस्न यी वृद्धले कपाल मुण्डन गरेका थिए। घर लिपेर, पण्डित डाँकेर, फूलपाती जुटाएर घरमा किरिया बस्ने तयारी थियो। तर शनिबार उनले छोराको अस्तुसँगै आफ्ना १३ सन्तानलाई दागबत्ती दिए। ‘कालले मलाई नै लगेको भए हुन्थ्यो,’ उनले भने, ‘हे काली गंगा यस्तो दुःख अरु कसैलाई नपरोस्।’
छिमेकीको सहारामा लौरो टेकेर उनी घाट आइपुग्दा गंगा तिरमा सेतो कपडाले छोपिएका लासको लस्कर देखेर आफूलाई सम्हाल्न सकेनन्। थचक्क बसेर उनले सुस्केरा काढे। एकएक गरेर मृतक नातिनातिनाको अनुहार हेरे। सिंगो गाउँ रिडी घाटमा जुटेको थियो। शव जलाउन एक ट्रक दाउरा जुटाइयो। १३ वटा दाउराको खटमा लस्करै शव राखियो। हात कमाउँदै बृद्धले दागबत्ती दिँदा मलामीका आँखा रसाए।

 
छजना गाडीभित्र किचिएका थिए। आठजना खोलामा तैरिएका थिए। पानीले फुलेर होला सबैको जिउ ठूलो देखिन्थ्यो। करिब चार/पाँच घन्टा पानीमा ढाडिएजस्ता देखिन्थे। मलाई लाग्छ- समयमै उद्दार गरिएको भए धेरै बाँच्थे होला। घाउचोटको रनाहामा पानीमा परेपछि मानिस पानी खाएरै मर्छ। उनीहरुको हालत पनि यस्तै भयो होला।
अनित गौचन (स्थानीय) सँग कुरानकानीमा आधारित

  एकै परिवारका १३ को मृत्यु

भारतको दिल्लीबाट गुल्मीको थानापति-५ थोर्गास्थित घर हिँडेका एकै परिवारका १३ जनाको पाल्पाको बौघापोखराथोकमा शुक्रबार राति गाडी दुर्घटना परी मृत्यु भएको छ। पाल्पा, बौघापोखराथोकको जोर्ते भन्ने ठाउँबाट सय मिटर तल खोलामा खसेको हो।
भारतीय नम्बर प्लेटको डिएल१वाई ४६७८ नम्बरको सुमो गाडीमा सवार राना परिवारका १६ जनामध्ये दुईजना मात्रै बाँच्न सफल भएका छन्। दुर्घटनामा गाडी चालक भारतीय नागरिक अशोककुमार तिवारीको पनि ज्यान गएकाले मृतकको संख्या १४ पुगेको प्रहरीले जनाएको छ। मृतकमध्ये आठ महिला, चार बालबालिका र दुई पुरुष छन्।
गम्भीर घाइते अवस्थाका ३० वर्षीय सत्यन्द्र राना र १० वर्षीय निलेशको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ। मृतकमा सत्यन्द्रकी पत्नी रीता र एक छोरी, दाजु नरबहादुर, उनका दुई छोरी र एक छोरा छन्। यस्तै, सत्येन्द्रकी बहिनी विटिया र उनका दुई छोराछोरी, कान्छी आमा र उनका तीन छोरीको मृत्यु भएको छ।
दिल्लीमा मृत्यु भएका सत्येन्द्रका बुबा ६० वर्षीय धनबहादुर रानाको अस्तु विसर्जन गर्न उनीहरु कलिगण्डकी घाट रिडी आउँदै थिए। धनबहादुरका तीन पत्नीमध्ये कान्छी अस्तु विसर्जन गर्न आउँदा दुर्घटनामा परेकी हुन्।
मृतकको नाम सानु राना, गंगा राना, खगीसरा राना, कावेली राना, भावना राना, तिर्सना राना, स्यारली राना र नाम नखुलेका चारजना बालबालिका छन्। परिवार नै भारत बस्दै आएकाले आफन्तहरु मृतक पहिचान गर्न मुस्किल परेको छ।
तीव्र गतिमा रहेको गाडी पाल्पा बौघापोखराथोक गाविस जोर्तेको ओरालोमा पिच सडक छाडेर करिब २० मिटर कच्ची सडक गुडेपछि सय मिटर तल खोलामा खसेको हो। ‘पिच सडक छाडेर कच्चीमा गुड्दै ह्युमपाइपमा ठोक्किएपछि उडेर एकैचोटी खोलाको बीचमा पुगेको देखिन्छ,’ डिएसपी मीरा चौधरीले भनिन्, ‘हावामा उडेर खोलाबीचको ढुंगामा ठोक्किएको छ।’
शुक्रबार राति १२ बजे दुर्घटना भएको घाइतेको उद्धारमा खटिएका एम्बुलेन्स चालक पदम कँडेलले बताए। ‘राति १२ बजेतिर गाडी खस्यो, म बेहोस भएँ,’ घाइते सत्यन्द्रको भनाइ उद्धृत गर्दै कँडेलले भने। बिहान ६ बजे स्थानीयले देखेपछि घाइतेको उद्धार थालिएको थियो।
मृतक सबैको पोस्टमार्टमपश्चात कालीगण्डकी घाट रिडीमा शनिबार साँझ दाहसंस्कार गरिएको छ।
दाहासंस्कारका लागि गुल्मीका प्रमुख जिल्ला अधिकारीसहित मृतकका गाउँले जुटेका थिए। मृतकको शवमा धनबहादुरका बुबा ८२ वर्षीय बृद्ध अनबहादुर रानाले दागबत्ती दिए।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.