१४ साउन, काठमाण्डौं – नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले मुख्य सचिव पदको कायम मुकायमको जिम्मा कसलाई दिने भन्ने विषयमा निर्णय लिने बताईएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा केहिबेरमा बस्ने बैठकले मुख्य सचिवमा बढुवा हुने दावेदारका रुपमा रहेका १३ जना सचिव मध्ये एक जनालाई बढुवा गर्नेछ ।
साउन २० गते ३ बर्षे कार्यकाल पूरा हुने मुख्य सचिव माधब घिमिरे आजदेखि विदा बस्ने भएकाले दावेवार मध्येका एक जनालाई कायम मुकायको जिम्मेवारी दिन लागिएको हो । यद्यपी मुख्य सचिव पदमा नियुक्तिको विषयमा सरकार भित्र र बाहिर रहेका दलहरुबीचको अन्तरविरोध भने जारी रहेको छ ।
सत्तारुढ दलहरुबीच नै कसलाई मुख्य सचिव बनाउने भन्ने विषयमा मतभेद रहेको छ । यसअघि मुख्य सचिव पदमा कायम मुकायमको जिम्मा लगाउन शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकमा मधेशवादी दलहरुले दुइ दिन पर्खन आग्रह गरेका थिए ।
Source:Onlinekhabar