उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको ज्यान गयो


खिलानाथ ढकाल, विराटनगर, साउन १०- विराटनगर उपमहानगरपालिकामै उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको ज्यान गएको छ। बिरामले च्याप्नेवित्तिकै अस्पताल पुर्‍याइए पनि उपचार पाउन नसक्दा कटहरी-५, मोरङकी १८ वर्षीया रूपादेवी ऋषिदेवको मंगलबार बिहान घरमा मृत्यु भएको हो।

 विराटनगर-५, खारजीस्थित माइतमा रूपाको बिहान ५ बजे मृत्यु भएको थियो। आफन्तका अनुसार सोमबार विहान बिरामी भएकी रूपालाई कोसी अञ्चल अस्पताल र त्यसपछि नोबेल अस्पताल लगियो। तर अञ्चलकै ठूलो सरकारी अस्पताल कोसी र पूर्वाञ्चलकै सुविधासम्पन्न मानिएको नोबेल अस्पतालमा रूपाको उपचार हुन सकेन।
आर्थिक अवस्था दयनीय भएकी रूपालाई दिउँसो २ बजे कोसी लगिएको थियो। त्यहाँ डाक्टरले आइसियुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए। लगत्तै आफन्तले नोबेल अस्पताल लगे।

नोबेलले आइसियुमा राख्नका लागि भर्ना शुल्क मात्र सात हजार रूपैयाँ लाग्ने र त्यसपछि दैनिक तीन हजार रूपैयाँ लाग्ने बतायो। तर भर्ना गराउन र दैनिक तीन हजार रूपैयाँ तिर्न तत्काल आफन्तसँग पैसा थिएन।

‘घरमा दुधालु गाई छ, त्यै बेचेर पनि तिर्छुभन्दा भर्ना गर्नै मानेनन्,’ रूपाका बाबु चमरू ऋषिदेवले नागरिकसँग भने, ‘राति १० बजेसम्म अस्पतालमै राख्यौं, तर भर्ना नगरेपछि घरमा ल्याएको सात घन्टापछि छोरीको मृत्यु भयो।’ उनका अनुसार कटहरीस्थित घरमै सुत्केरी भएकी रूपालाई मंगलबार एक्कासि पेट पोल्ने समस्या आएको थियो, त्यसअघि उनी स्वस्थ थिइन्।

पेट पोल्ने समस्याले रूपा गम्भीर भएपछि कोसीमा लगिएको थियो। कोसी अस्पतालले उनको पेट पोल्नुको कारणै पत्ता नलगाई अर्को अस्पताल लैजान सुझाव दिएको थियो। कोसी अञ्चल अस्पतालको सोमबारको रेकर्डअनुसार रूपालाई आकस्मिक वार्डबाट सोझै अन्यत्र रेफर गरिएको छ। ‘यस्तो-उस्तो केही रोग पत्ता लागेको रेकर्ड भेटिएन,’ स्रोतले भन्यो, ‘भर्ना नै नगरी ल्याउनेबित्तिकै रेफर गरेको मात्र देखिन्छ।’

आर्थिक अवस्था नाजुक भएका रूपाका माइती र श्रीमान गोविन्द दैनिक मजदुरी गर्छन्। ऐलानी जमिनमा बस्ने उनीहरूको फुसको घरबाहेक केही छैन। सोमबार रूपाको घर र माइती पक्षका कसैसँग नोबेल अस्पतालले भनेजति रूपैयाँ तिरेर भर्ना गराउने पैसा थिएन। ‘सात हजारमात्र पैसा भएको भए ज्यान जाने थिएन,’ चमरूले भने, ‘भर्ना गर्दै गर्नू, पैसा दिइहाल्छु भनी रातिसम्म राख्दा पनि उपाय नलागेपछि घर फर्कायौं।’ आमाको मृत्यु भएपछि १५ दिने नवजात शिशु (छोरा)को बिचल्ली भएको छ। स्वस्थ रहेको उक्त शिशुलाई कसरी हुर्काउने भन्ने चिन्ताले आफन्त पिरोलिएका छन्।

कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीडेन्ट उमाकान्त झाले सुत्केरी महिलाको स्वास्थ्यस्थिति र रेफर गर्नुको कारण’bout आफूलाई जानकारी नभएको बताए। ‘के भएको रहेछ म बुझौंला,’ उनले भने। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जनस्वास्थ्यका बढीजसो कार्यक्रम सुत्केरी महिला र नवजात शिशुकेन्द्रित छन्। सुरक्षित मातृत्व, खोप, परिवार नियोजन, पोषण कार्यक्रम, गर्भवती, नवजात शिशु लगायतमै बढी कार्यक्रम र बजेट परिचालन हुने गरेको जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए।

गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी गाउँ-गाउँमा मातृ शिशु कायकर्ता र हरेक वडामा स्वयम्सेविका पनि परिचालित छन्। अस्पतालमा सुत्केरी गराउने महिलालालाई भत्तासहित आइरन चक्की, शिशु जाँच, भिटामिन ए, परामर्श सेवा लगायत पनि निःशुल्क दिने सरकारी व्यवस्था छ। बच्चा जन्मेको ४२ दिनसम्मलाई सुत्केरी अवस्था मानिन्छ। ‘गाउँ-गाउँमा गएर गर्भवती र सुत्केरी महिलालाई निःशुल्क परामर्श सेवा दिनका लागि मातृशिशु कार्यकर्ता खटाइएको हुन्छ,’ जनस्वास्थ्य प्रमुख सुब्बाले भने।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय निजी तथा गैरसरकारी स्वास्थ्य संस्था नीति, मापदण्ड एवम् पूर्वाधार निर्देशिका अनुसार निजी अस्पताल पुग्ने असहाय र गरिब परिवारका १० प्रतिशतसम्म बिरामीलाई निःशुल्क उपचार गर्नैपर्ने व्यवस्था छ। तर यहाँका निजी अस्पतालले उक्त सुविधा कार्यान्वयनमा अटेर गरेका छन्। जनस्वास्थ्यले यसअघि नै अनुगमन गरी त्यस्ता अस्पताललाई कारबाही गर्ने तयारी रहेको जनाए पनि लागू गर्न सकेको छैन।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.