मंसिर ७मा चुनाव हुन सक्दैन : आयोग


अर्जुन सुवेदी, काठमाडौं, साउन ८- निर्वाचन आयोगले मंसिर ७ मा घोषित संविधानसभा चुनाव सम्भव नभएकाले सहमतिमा अर्को मिति तोक्न सुझाव दिएको छ। प्रमुख तीन दलका शीर्ष नेताहरुलाई हिजो आयोगमै बोलाएर कानुनी जटिलताका कारण घोषित मितिमा चुनाव हुन नसक्ने जनाएको हो।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल आयोग पुगेका थिए। आयोगले यसअघि कानुनी जटिलता हटाउन साउन ७ सम्मको समय सीमा तोकेको थियो।

‘कानुन संशोधनका लागि दिइएको समयसीमा सकिँदा पनि दलहरुबीच चुनाव हुने, नहुने फरक फरक धारणा आइरहेको छ,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘मंसिर ७ मा चुनाव नहुने त पक्का भइसक्यो, अब सहमतिमा कानुनी जटिलता हटाएर कस्तो चुनाव गराउने र कुन मितिमा गराउने भन्नेमा प्रस्ट हुनुहोस्।’

छलफलमा उप्रेतीले जुनसुकै समयमा निर्वाचन गराए पनि कानुन संशोधन अनिवार्य भएको भन्दै कानुन संशोधनका लागि दलहरु सहमत हुनुपर्ने बताए। ‘जहिले चुनाव गरे पनि दलीय सहमतिविना कानुन संशोधनको कुनै बाटो छैन,’ उनले भने ‘चुनाव हुने नहुनेभन्दा पनि प्रमुख तीन दलका शीर्ष नेतालाई एकैठाउँ बोलाएर छलफल थाल्नु महत्वपूर्ण उपलब्धि हो।’

छलफलमा माओवादी अध्यक्ष दाहालले बहुदलीय व्यवस्थामा आइसकेपछि निर्वाचनको विकल्प नभएको बताए। ‘जहिले चुनाव गरे पनि त्यसका लागि सहमतिको विकल्प छैन,’ उनले भने ‘दलहरुको सहमतिपछि नै मिति र प्रकृति निर्धारण हुनसक्छ।’

उनले संविधानसभा र संसदीय दुवै खालका चुनावका विषयमा छलफल चलिरहेकाले कसरी गर्ने भन्ने दलीय सहमतिमै निर्भर हुने बताए। मंगलबारदेखि नै दलहरु छलफलमा जुट्ने उनले आश्वासन दिए।

एमाले अध्यक्ष खनालले कामचलाउ सरकारलाई चुनाव घोषणा गर्ने कुनै अधिकार नभएकाले नयाँ सरकार नबनेसम्म यो सरकारले जतिपटक चुनाव सारे पनि चुनाव हुनै नसक्ने बताए। ‘मिति सार्नेभन्दा पनि सवैभन्दा पहिले दलीय सहमति आवश्यक छ,’ उनले भने ‘दलीय सहमति बनेपछिको नयाँ सरकारले मात्रै चुनाव घोषणा गर्न सक्नेछ।’ कानुन संशोधनका लागि दलीय सहमति अनिवार्य रहेको उनले दोहोर्‍याए।

कांग्रेस उपसभापति पौडेलले सरकारले एकलौटी ढंगले चुनाव घोषणा गरे पनि कुनै तयारी नभएकाले सरकार फेरि असफल भएको बताए। ‘चुनाव नहुने पक्कापक्की छ,’ उनले भने ‘सरकार जनतासामु फेरि नांगिएको छ।’

आयोगका सचिव शंकर कोइरालाले आयोगका पदाधिकारीहरुको पदावधि सकिन लागेकाले चुनावमा समस्या पर्न सक्ने भन्दै शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका थिए। ‘चुनावका लागि के समस्या छन् भन्ने विषयमा छलफल भयो,’ उनले भने ‘अझै एक साताको समय दिएका छौं, चुनाव सार्ने या के गर्ने भन्ने विषयमा सरकारसँगको छलफलपछि निर्णय हुन्छ।’

कानुनी अड्चन फुकाएपछि एक महिना २५ वटा निर्देशिका जारी गर्न लाग्ने र बाँकी तिन महिना चुनावी पूर्वाधार, भौतिक, प्राविधिक तयारी गर्न लाग्ने कोइरालाको भनाइ थियो।

यसअघि आयोगले संविधानसभा निर्वाचनका लागि अन्तरिम संविधानको धारा ३३, ६३ र १५४ मा साउन ७ भित्र कानुन उपलब्ध गराउन भन्दै असार पहिलो साता सरकारलाई लिखित आग्रह गरेको थियो।

संविधानको धारा ३३ मा २०६४ सालभित्र संविधानसभा निर्वाचन हुने उल्लेख छ भने धारा ६३ को उपधारा ७ मा मतदातासम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार ०६३ मंसिर मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेकाले मात्र मतदान गर्न पाउनेछन्।

त्यसैगरी धारा १ सय ५४ मा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था छ। चुनावअघिको राष्ट्रिय जनगणनालाई आयोगको सिफारिसमा निर्वाचन क्षेत्र निर्धारण हुने संवैधानिक व्यवस्था छ।

अन्तरिम संविधानमा सरकारले प्रस्तुत गर्ने विधेयक संसदको दुई तिहाइले पारित गरेपछि मात्र संविधान संशोधन हुने प्रावधान भए पनि संविधानसभाको कार्यकालसँगै उसको व्यवस्थापिका संसदको हैसियत पनि समाप्त भएकाले संविधान संशोधनको बाटो अवरुद्ध भएको हो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बाधा अडकाउ फुकाएमा पनि त्यसलाई संसदले अनुमोदन गर्ने प्रावधान छ।

सरकारले गत जेठ १४ गते मध्यरातमा आगामी मंसिर ७ गते संविधानसभाको नयाँ निर्वाचनको घोषणा गरि संविधानसभा विघटन भएको थियो।
तीनै दलका नेताहरुले दलीय सहमतिविना कुनै पनि हालतमा चुनाव असम्भव रहेको भन्दै कानुनी संशोधनका लागि सहमति थालिहाल्ने प्रतिबद्धता व्यक्त गरेको प्रमुख आयुक्त उप्रेतीले बताए। आयोगले कानुन संशोधन गरेर सरकारमार्फत चैत या वैशाखमा चुनाव सार्न सकिने जनाइसकेको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.