कांग्रेस-एमाले सम्बन्ध चिसिँदै


गोविन्द परियार,  साउन ७- राजनीतिक संकट समाधानका विषयमा विपक्षी दल कांग्रेस र एमालेबीच मतभेद देखिएको छ। शान्तिप्रक्रिया र संविधान निर्माणमा दुई दलबीच समान धारणा रहे पनि एमालेले संविधानसभा पुनर्स्थापनाको औपचारिक विरोध गरेपछि कांग्रेससँगको सम्बन्ध चिसिएको हो।
एकीकृत माओवादीसँगको वार्तामा विपक्षी एजेन्डा बलियो बनाउन संवैधानिक र राजनीतिक विषयमा समान धारणा बनाउन दुई दलबीच भएको ‘भद्र सहमति’ एमालेले तोडेको कांग्रेसको आरोप छ।

‘संविधानसभा हँुदादेखि नै कांग्रेस र एमालेबीच शान्तिप्रक्रिया र संविधान निर्माणमा समान धारणा बनेको थियो,’ दुईदलीय वार्तामा सहभागी हुने एक कांग्रेस नेताले शनिबार नागरिकसँग भने, ‘एमालेले गठबन्धनका दलहरुसँग छलफलै नगरी संसदको चुनावमा जाने निर्णय गरी अविश्वास बढाएको छ।’

सरकारविरोधी आन्दोलनको नेतृत्व गरेका प्रमुख दुई दल कांग्रेस र एमालेबीच पछिल्लो समय बैठक र वार्तासमेत हुन सकेको छैन। विपक्षी आन्दोलनको कार्यक्रम असार मसान्तमा सकिइसकेको छ।

‘हतारिएर निर्णय गरिएको होइन, कांग्रेसमा पनि हामीले निर्णय गरेजस्तै विचार राख्नेहरु छन्,’ एमाले सचिव युवराज ज्ञवालीले नागरिकसँग भने, ‘के गर्ने भन्नेमा पहिले पार्टी स्पष्ट हुनुपर्योछ, अब अरु दलसँग पनि छलफल गरी समान धारणा बनाउने प्रयास गर्छौं।’
संविधानसभा विघटनपछि जारी सरकारविरुद्धको आन्दोलनमा समेत एमाले सक्रिय नभएको कांग्रेसको आरोप छ।

जेठ २६ गते राजधानीको खुलामञ्चमा भएको संयुक्त विरोधसभामा एमालेले कार्यकर्ता नबोलाएको भन्दै कांग्रेस नेताहरुले गम्भीर असहमति जनाएका थिए।

कांग्रेस नेताहरुको असहमतिका कारण एमालेले उपत्यका इन्चार्ज राजेन्द्र श्रेष्ठलाई हटाएर कृष्णगोपाल श्रेष्ठलाई ल्याएको थियो। त्यसपछिका आन्दोलनमा समेत एमाले सक्रिय नभएपछि विपक्षी आन्दोलन शिथिल अवस्थामा पुगेको कांग्रेस नेताहरुको निष्कर्ष छ।
कांग्रेसका पूर्व सभासदहरुले भने बिहीबार औपचारिक विज्ञप्ति जारी गरी एमालेलाई संविधानसभा पुनर्स्थापना अस्वीकारको निर्णय फिर्ता लिन आग्रह गरेका छन्।

‘कुनै न कुनै रुपमा संविधानसभा वा संसद पुनर्स्थापनाबाहेक अन्त कतै जाने बाटो कसैसँग छैन,’ कांग्रेस पूर्वसभासद मोहन पाण्डेले भने, ‘जहाँबाट गल्ती भएको हो, त्यहाँ फर्कनु जरुरी छ। संविधान संशोधन संसदबाहेक कसैले पनि गर्न सक्दैन त्यसैले एउटै विकल्प पुनर्स्थापना हो, ढिलोचाँडो सबै आउने बाटो एउटै भएकाले कांग्रेस र एमालेबीचसमान धारणा बन्नुपर्छ।’

एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले पनि संविधानसभा पुनर्स्थापना अस्वीकार गर्ने पार्टी निर्णय पश्चगामी भएको भन्दै विरोध गरेका छन्। उनीहरुले पार्टी नेतृत्वसँग विगतमा भएको सहमतिविपरीत संसद चुनावमा जाने स्थायी समितिले निर्णय गरेको आरोप लगाएका छन्।

असन्तुष्ट एमाले नेताले संविधानसभा पुनर्स्थापनाले मात्रै अहिलेको संकट विधिसम्मत समाधान हुने दाबी गर्दै आएका छन्। एमाले उपाध्यक्ष अशोक राईले जेठ ३० गते अध्यक्ष झलनाथ खनाललाई बुझाएको नौबँुदे मागमा संविधानसभा पुनर्स्थापनालाई मुख्य मागको रुपमा उठाएका छन्।

एमालेभित्र संविधानसभा पुनर्स्थापनाको माग हुँदाहुँदै आन्तरिक र कांग्रेसलगायतका विपक्षी गठबन्धनका दलहरुसँग छलफलै नगरी स्थायी समिति बैठकले संसदको चुनावमा जाने निर्णय गरेपछि प्रतिपक्षी मोर्चाका अरु दलहरुले आपत्ति जनाएका हुन्।

कांग्रेसमा संविधानसभा निर्वाचनमा पराजित केन्द्रीय सदस्यहरुले भने संविधानसभा पुनर्स्थापनाको विरोध गरेका छन्। ‘अघिल्ला वर्षमा पनि हामी संविधानसभा म्याद थपको पक्षमा हुँदा एमाले विपक्षमा हुन्थ्यो, फेरि म्याद थप्ने समयमा पुग्दा पक्षमा जान्थ्यो,’ पूर्वसभासद पाण्डेले भने, ‘एउटा जिम्मेवार पार्टीले निकासको सम्भावना बोकेको एजेन्डालाई निषेध गर्न मिल्दैन।’

कांग्रेसका ८० सभासदले संयुक्त हस्ताक्षर गरी संविधानसभा पुनर्स्थापनालाई पार्टीको एजेन्डा बनाउन सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई दबाब दिँदै आएका छन्।

कांग्रेस उच्च स्रोतका अनुसार केही दिनभित्रै बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा राजनीतिक र संवैधानिक संकटको निकासको रुपमा संविधानसभा पुनर्स्थापनालाई पनि एउटा विकल्पको रुपमा पेस गर्ने तयारी सभापति कोइरालाले गरेका छन्।

संवैधानिक निकायहरु रिक्त हुदै गएको, चुनाव गराउने आयोगसमेत केही महिनामा आयुक्तविहीन हुन लागेको अवस्थामा संसद नभए अर्को चुनाव पनि सम्भव नहुने भन्दै कांग्रेसभित्र संविधानसभा पुनर्स्थापनाको माग बढेको हो।

देउवा र पौडेल छोटो समयका लागि संविधानसभा पुनर्स्थापनाका पक्षमा देखिएका छन्। कोइराला पनि संकट समाधानको वैधानिक बाटो संसदबाटै खोज्नुपर्नेमा सहमत छन्।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.