विदेशबाट शव झिकाउनै कठिन


सुरेन्द्र पौडेल,  असार २७- साउदी अरब सरकारले बबिता घर्तीको शव बुझ्न ताकेता गरेको १० महिना पुग्यो। उसले एक साताभित्र शव नबुझे त्यहीँ गाड्ने जनाउसहितको अन्तिम पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको छ। परराष्ट्रले राहदानीमा उल्लेख दाङको ठेगानामा घर्तीको खोजी नगरेको भने होइन। दाङको ठेगानामा न उनको परिवार बस्छ, न उनलाई चिन्ने कोही भेटिएका छन्। घर्ती परिवार नभेटिएपछि अहिले परराष्ट्र कन्सुलर शाखाका कर्मचारी साउदीलाई के जवाफ पठाउने अन्योलमा छन्।

सिन्धुलीका बिष्णुबहादुर वाइबाको शव केही साताअघि परराष्ट्रले साउदीबाट काठमाडौं झिकायो। तर, त्यो शव वाइबाको नभई सुर्खेतका पदमबहादुर थापाको रहेछ। थापा वाइबाको राहदानीमा फोटो परिवर्तन गरी साउदी पुगेका रहेछन् । नक्कली राहदानीमा गएकै कारण उनको शव झिकाउन परराष्ट्रलाई ६ महिनाभन्दा बढी लाग्यो।

सिन्धुलीकी वाइबाको जस्तै बाग्लुङकी कविता उपाध्यायको शव पनि साउदीबाट एक-दुई दिनभित्र काठमाडौं आइपुग्दै छ। त्यो शव पनि रौतहटकी सुमित्राकुमारीको रहेछ। सुमित्रा पनि कविताको राहदानीमा फोटो परिवर्तन गरी साउदी पुगेकी थिइन्। शव कुमारीको आउने भए पनि कागजमा मर्नेको नाम भने कविताकै हुनेछ।

‘अर्काको राहदानीमा फोटो परिवर्तन तथा नक्कली कागजातमा विदेश जाने क्रम बढ्दो छ,’ परराष्ट्र कन्सुलर शाखा प्रमुख दिलिपकुमार पौडेलले भने, ‘यस्ता कागजातमा गएका व्यक्ति विदेशमा मर्दा शव झिकाउनै गाह्रो छ।’

त्यसै पनि विदेशबाट शव झिकाउने काम सहज छैन। अवैधानिक तरिकाले बसोबास गरेका र नक्कली कागजातमा गएकाको मृत्यु भए त झनै कठिन हुन्छ। यस्ता शव पठाउँदा न रोजगारदाता कम्पनीले नै खर्च बेहोर्छ, न त मृतकका परिवारले कुनै किसिमको क्षतिपूर्ति रकम पाउँछन्। शव सम्बन्धित देशबाट नेपालसम्म ल्याउँदाको सम्पूर्ण खर्च मृतकका परिवारले नै व्यहोर्नु पर्छ।

वैधानिक तथा अवैधानिक तरिकाले विदेशमा बसोबास गर्दै आएका नेपालीको मृत्युदर पनि पछिल्ला दिन बढ्दै गएको छ। परराष्ट्र मन्त्रालय र विदेशस्थित विभिन्न दूतावासका अनुसार २०६८ सालमा मात्र मलेसिया र खाडी राष्ट्रमा काम गर्न गएकामध्ये ८ सय २२ नेपाली कामदारको मृत्यु भएको छ। यो संख्या रेकर्डमा आएकाको मात्र हो। खाडी राष्ट्र तथा मलेसियाबाहेक अन्य राष्ट्रमा हुने नेपालीको मृत्युलाई यसमा जोडिएको छैन। औसतमा प्रत्येक दिन पाँचजना नेपालीको शव विमान चढेर नेपाल आउँछ।

‘नक्कली कागजातमा आउने कतिपय कामदार मरेको जानकारी नै पाइँदैन,’ खाडी राष्ट्रका लागि एक नेपाली राजदूतले भने, ‘यस्ता कामदारको शव यहाँको सरकारले नै गाडिदिन्छ। कुनै रेकर्डमा हुँदैन। घरपरिवारले न शव पाउँछ न मरेको जानकारी नै।’

पछिल्लो तथ्यांक अनुसार २०६८ सालमा मात्र साउदीमा २ सय ५४, बहराइनमा ११, ओमान १०, दक्षिण कोरियामा, संयुक्त अरब इमिरेट्समा ७०, मलेसियामा २ सय ८२, कतारमा १ सय ४८, इजरायलमा ३ र कुवेतमा ३५ जना नेपाली कामदारको मृत्यु भएको छ।

परराष्ट्रका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको उमेर १८ देखि ४५ वर्षसम्म छ। मर्नेहरु भने अधिकांश युवा छन्। मौसम, हृदयघात, आत्महत्या, सडक दुर्घटना, झैझगडा- नेपाली कामदारको मृत्यु हुने प्रमुख कारण बनेका छन्। मर्नेमध्ये ठूलो संख्या सडक दुर्घटना र आत्महत्या गर्नेहरुको छ। अझ सबैभन्दा ठूलो संख्या बाटो काट्न नजान्दा सडक दुर्घटना परी मर्नेको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.