मलेसिया यात्रु ओसार्न वायुसेवाबीच प्रतिस्पर्धा


सुशील भट्टराई, काठमाडौं, असार २२- वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या बढिरहेका बेला यहाँबाट यात्रु ओसार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा सुरु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार मलेसियामा हाल साढे ४ लाखभन्दा बढी नेपालीले रोजगारी पाएका छन्। यहाँबाट दैनिक ४ सय नेपाली रोजगारीका लागि मलेसिया जाने गरेका छन्। यसैलाई ‘क्यास’ गर्न वायुसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा सुरु भएको हो।
यो गन्तव्यमा लामो समयदेखि ‘एकछत्र राज’ गर्दै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई धक्का दिँदै मलेसियाकै निजी क्षेत्रको वायुसेवा कम्पनी एयर एसिया एक्सले सस्तो दरमा उडाउन थालिसकेको छ। अब यी दुवैसँग प्रतिस्पर्धा गर्न त्यहीँको सरकारी वायुसेवा कम्पनी मलेसिया एयरलाइन्स पनि भित्रिने भएको छ।
मलेसिया एयरलाइन्सले क्वालालम्पुरबाट काठमाडौं दुईतर्फी प्रतियात्रु १२ सय मलेसियन रिंगिट (३३ हजार २ सय ४ रुपैयाँ) मा उडाउने घोषणा बिहीबार गरेको छ। गत मंगलबारबाट काठमाडौं उडान सुरु गरेको एयर एसियाले दुईतर्फी करिब २० हजार रुपैयाँमा यात्रु तानिरहेको छ। यो भाडा करबाहेक हो।
यो गन्तव्यमा एक्लै उडिरहेको वायुसेवा निगमले भने एकतर्फी २३ हजार ८ सयदेखि २६ हजार ४ सय रुपैयाँ लिइरहेको छ। यतैबाट मलेसिया गइरहेकेा बंगलादेशको विमान बंगलादेशले २२ हजार ५ सयदेखि २३ हजार ९ सय रुपैयाँसम्ममा टिकट बिक्री गरिरहेको छ। विमानले काठमाडौंबाट ढाका हुँदै क्वालालम्पुर लान्छ भने निगम सिधै जान्छ।
मलेसिया एयरलाइन्सले बिहीबार गरेको घोषणाअनुसार एक साताका लागि दिइएको उक्त भाडा दर प्रवर्द्धनात्मक हो। यही असार २५ देखि आगामी साउन १ (जुलाई ९ देखि १६) भित्र उक्त भाडा दरमा टिकट खरिद गर्न पाइन्छ। उक्त अवधिमा खरिद गरिएको टिकट आगामी भदौ १६ बाट पुस १६ भित्र प्रयोग गरिसक्नुपर्छ।
‘मलेसियाको क्वालालम्पुरबाट ३३ हजार रुपैयाँमा दुईतर्फी भाडा तोकिएको छ,’ मलेसिया एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले बिहीबार नागरिकसँग भने, ‘काठमाडौंबाट फर्कंदा पनि लगभग यस्तै भाडामा उड्न पाइन्छ।’
मलेसिया एयरलाइन्सले आगामी भदौ १६ बाट काठमाडौं उडान सुरु गर्ने औपचारिक घोषणा गरेकै दिन प्रवर्द्धनात्मक भाडा दर पनि सार्वजनिक गरेको हो। ३३ हजार रुपैयाँमा क्वालालम्पुर, पेनाङ र जोहोर बाहरुबाट काठमाडौं दुईतर्फी उड्न पाइन्छ।
कम्पनीका अनुसार १ सय ६० सिट क्षमताको बोइङ ७३७-८०० सिरिजको जहाजबाट काठमाडौं उडान गरिने छ। यसमा १ सय ४४ इकोनोमी क्लास र १६ बिजनेस क्लास सिट हुनेछन्। उताबाट आएको जहाज बिहान साढे ११ बजे यहाँ अवतरण गर्ने र मध्याह्न १२ः२० बजे फर्कने तालिका छ।
उसले साताका तीन दिन मंगलबार, बिहीबार र शनिबार काठमाडौं-क्वालालम्पुर उडान गर्नेछ। नेपाल र मलेसियाबीच रहेको हवाई सेवा सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवा कम्पनीले सातामा २१ उडान गर्न पाउँछन्। यसमा सिट संख्या तोकिएको छैन। दुवै देशबाट जतिवटा वायुसेवा भए पनि २१ उडान बाँडेर लिनुपर्छ। मलेसिया एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउँछ। एयर एसियाले सातवटा उडान गर्ने अनुमति पर्यटन मन्त्रालयबाट पाएको छ।
वायुसेवा निगमले भने १ सय ९० सिट क्षमताको बोइङ ७५७ बाट मलेसियाका लागि सातामा ६ उडान गरिरहेको छ। एयर एसिया एक्स सस्तो तर, लामो दुरीमा उडान गर्ने ‘बजेट एयरलाइन्स’ हो। तीनवटै वायुसेवाले यात्रुलाई जहाजभित्र निःशुल्क खाना र पानी उपलब्ध गराइरहेका छन्।
एयर एसियाले ३ सय ७७ यात्रु क्षमताको एयरबस ए३३०-३०० जहाजबाट उडान सातामा दुई दिन मंगलबार र बिहीबार उडान गरिरहेको छ। यसमा ३ सय ६५ इकोनोमी क्लास र १२ प्रिमियम क्लास सिट छुट्ट्याइएको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.