घरपरिवारले माया मारेको मान्छे आँगनमा टुप्लुक्क
१४ असार, काठमाडौं -फेसबुकले कति मान्छेलाई प्रहरी खोरमा पुर्याएको छ । कतिको घरपरिवार र आफन्तसित मनमुटाब बढाएको छ । कर्मचारी बरालिए भनेर कतिपय कार्यालयमा फेसबुक चलाउन बन्देज पनि लगाइएको छ । तैपनि नयाँनयाँ जानकारी आदानप्रदान, सूचना बाँडफाँड, नयाँ साथीसँगी र प्रीयजन भेट गर्ने थलोको रुपमा फेसबुक परिचित बन्दै गएको छ । यतिमात्र होइन २७ वर्षसम्म घरपरिवारबाट टाढा भएका एकजना मान्छेलाई फेसबुकले नै घरपरिवारको सम्पर्कमा ल्याइदिएको छ ।
ओखलढुंगा बलखु गाबिस ७ का भरत धमला २०४२ सालमा घर छाडेर हिंड्नुभएको थियो । बिरक्तिएर घरबाट निस्केका उहाँ कामको खोजीमा भारतको मुम्बई पुग्नुभयो । त्यहाँको एउटा जिम क्लवमा सामान्य जागीरे भएर काम गर्नुभयो । घरपरिवार र साथीभाइसँग सोधखोज नै नगरी एकाएक बेपत्ता भएका धमलालाई पहिले सबैले खोजे । कतै फेला पार्न सकिएन । धमलाले पनि आफू मुम्बईमा रहेको कुरा घरपरिवारलाई भन्नुभएन । बिस्तारै उहाँले परिवारलाई बिर्सनुभयो । उहाँलाई पनि परिवारले बिर्से ।
मुम्बईमा काम गर्ने क्रममा धमलाले इमेल, इन्टरनेट सिक्नुभयो । यही क्रममा फेसबुक एकाउन्ट खोल्नुभयो । फेसबुक चलाउने क्रममा एक्कासी उहाँको आँखा मावलको भाइ कुमार लुईंटेलको तस्वीरमा पर्यो । धमलाले लुईंटेललाई चिन्नुभयो, तर लुईंटेलले धमलालाई चिन्नुभएन । धमलाले आफू तिम्रो दाजु भएको भनेर स्टाटस लेख्नुभयो । तर नचिनेको कारण लुईंटेलले पहिले उति वास्ता गर्नुभएन ।
फेसबुकबाट साथी बनेको ६ महिनापछि धमलाले फेरि मावलको त्यही भाइ कुमार लुईंटेलको फोननम्बर फेसबुकबाट पत्तो लगाउनुभयो । अनि फोन गरेर आफ्नो परिचय दिनुभयो । त्यसपछि लुईंटेललाई बल्ल आफ्नो मान्छे रहेछन् भन्ने थाहा भयो । धमलाको ’boutमा लुईंटेलले घरपरिवार र आफन्त सबैलाई भन्नुभयो । २७ वर्षदेखि हराएको मान्छे भेटिने भयो भनेर सबै खुशी भए । लुईंटेलले आफ्नो दाईलाई घर आउन निकै आग्रह गर्नुभयो । पहिले त धमलाले मान्नुभएन । धेरै अनुरोध गरेपछि हप्तादिन पहिले मात्र धमला आफ्नो जन्मघर ओखलढुंगा आइपुग्नुभएको छ ।
आशा मारिसकेको छोरो एक्कासी आँगनमा टुप्लुक्क आइपुग्दा उहाँका बुबा जयराज र आमा खडमायाको खुसीले गद्गद् हुनुहुन्छ । आफन्त, परिवार र छिमेकी चकित भएका छन् । ‘हामीले त बिर्सिसकेका थियाँै,’ आमा खडमायाले भन्नुभयो, आस मारिसकेको छोराको अनुहार देख्न पाउँदा औधि खुसी छु ।’ सबैको आग्रहमा धमला अब भारत नजाने हुनुभएको छ ।
Thanks good haraisakeko manchhe aja ayera 27 barsa pachhi vetda kasto khusi vayeholan pariwar jan thanks fecbook thanks