काठमाडौ, असार १४ – राष्ट्रिय सहमतिको पहल गर्नका लागि नागरिक समाजका अगुवा र विभिन्न दलका युवा नेताहरुसाग छलफल गरी सकेको प्रधानमन्त्री बावुराम भट्टराईले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्रीले सहमति र निकासका लागि उद्योग व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीको कुर्सीको हानथापमा आफू नभएको बताउँदै उनले सहमति खोज्न आफू सधैं तत्पर भएको उल्लेख गरे ।
दलहरुले अहिले आवेग र आक्रोस पोखे पनि निकासका लागि सहमतिमा आउने प्रधानमन्त्रीको विश्वास थियो । प्रधानमन्त्रीले मूर्त सहमति आजको आवश्यकता भएको बताउँदै सर्वोच्चको आदेशमा टेकेर संविधानसभाको निर्वाचनको घोषणा गरेको बताए । उनले निर्वाचनको अर्को विकल्प नभएको पनि स्पष्ट पारे ।
देश विकास, आर्थिक सम्वृद्धिका लागि आफू सधैं प्रतिवद्ध रहेको बताउँदै उनले यसो भएमा मात्र गरिवी, वेरोजगारी असमानता जस्ता विषयको अन्त्य हुने औल्याए । दुई अंकको आर्थिक बृद्धिलाई पच्छ्याउनु पर्नेमा जोड दिंदै प्रधानमन्त्रीले आर्थिक विकासको नेतृत्व नीजि क्षेत्रले गर्न जरुरी भएको बताए । सरकार र नीजि क्षेत्रबीच एक आपसमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।
बजेटको कुरामा धेरै अल्मलिन नहुने बताउँदै प्रधानमन्त्रीले पूर्ण बजेटनै ल्याउनु पर्ने बताए । बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत नभएको उनको भनाइ थियो । राजनीतिक सहमतिमा अध्यादेश मार्फतनै बजेट ल्याईने पनि प्रधानमन्त्रीले बताए । उद्योग कलकारखाना बन्द हुने कुरा चिन्ताको विषय भएको बताउँदै उनले बन्द उद्योग खुलाउन राज्यले सबै पहल गर्ने उल्लेख गरे ।
उद्योग बन्द गर्दा राज्य, व्यवसायी र जनता कसैलाई पनि फाईदा नपुग्ने उनको धारणा थियो । रुग्ण उद्योगहरुलाई पनि खुलाउने तर्फ सरकार रहेको प्रधानमन्त्रीले भट्टराईले जनाए ।
यस्तै उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले संक्रमणकालिन अवस्था लामो हुँदा नीजि क्षेत्र प्रभावित बन्दै गइरहेकाले तत्काल निकासका लागि लाग्नुपर्ने बताए । सहमति र समझदारीमा नै निकास खोज्नुपर्ने उनको धारणा थियो । बजेटको अन्यौलता पनि हट्नुपर्नेमा उनले जोड दिए ।
छलफलमा सहभागी व्यवसायीहरुले प्रधानमन्त्रीलाई पूर्ण बजेट ल्याउन सुझाव दिएका थिए । उनीहरुले प्रधानमन्त्री जो सुकै भए पनि काम गर्ने अवसर दिनु पर्ने बताए । सत्ताको खेलमा नलागि स्वतन्त्र पूर्वक काम गर्ने वातावरण हुनुपर्नेमा उनीहरुको जोड थियो ।
Source: ekantipur