किसान सिंहदरबारमै सास्ती (मल नलिई कुन मुखले गाउँ र्फकने) ?


काठमाडौ, असार १४ – नुवाकोटमा मल नपाएपछि त्यहाँको खड्गभन्ज्याङका किसान कृष्णप्रसाद धिताल चार दिनदेखि सिंहदरबार धाइरहेका छन् । उनको झोलामा मल ल्याइदिन गाउँका किसानले उठाएको ४ लाख ७५ हजार रुपैयाँ छ । प्रधानमन्त्री कार्यालयको विशेष पास लिएर उनी दिनहुँ सिंहदरबार पस्छन्, मल खोज्न मन्त्री र सचिवलाई भेट्छन् । तर मल पाउने छेकछन्दै छैन । कर्मचारीतन्त्रको माखेसाङ्लोमा धिताल र उनीसँगै आएका अन्य चार जना नराम्ररी अल्भिmएका छन् । बुधबार बेलुकी अबेरसम्म पनि उनी सिंहदरबारभित्रै थिए ।

शनिबार

नुवाकोटका थान्सिङ, काउले, चारघरे, खड्गभन्ज्याङका २४ हजार किसानले मल खोज्न उनलाई काठमाडौं पठाउने निर्णय गरे । किसानहरूबाट ४ लाख ७५ हजार बटुलियो । धितालसहित पाँच किसान मल किन्न सोही दिन राजधानी आइपुगेका थिए । काठमाडौं आउनुअघि उनीहरूलाई सिंहदरबार पस्ने कसरी भन्ने समस्याले पिरोलेको थियो । त्यसका लागि उनीहरूलाई कसैले ४२११७८९ नम्बर वा हेलो सरकारलाई फोन गर्न सुझाएको थियो । तर त्यो टेलिफोन कहाँको हो भन्नेसमेत उनीहरूलाई पत्तो थिएन ।

आइतबार

अनेक प्रयत्न गरी धिताल पहिलो पटक सिंहदरबार पसे । त्यहाँ उनले स्थानीय नेतासमेत रहेका पर्यटनमन्त्री पोस्टबहादुर बोगटीलाई भेटे । रासायनिक मल नपाएर गाउँमा मकै र धान सुक्न लागेको उनलाई बताए । मन्त्री बोगटीले मलका लागि सिफारिस गरिदिन निर्देशन दिएपछि उपसचिव जनकराज भट्टले प्रधानमन्त्री बाबुराम भट्टराईले नै सम्हालिरहेको कृषि विकास मन्त्रालयलाई ‘नुवाकोटका किसानलाई धान र मकै खेतीका लागि मल उपलब्ध गराइदिन’ सिफारिस लेखे ।

सोमबार

धिताल सिफारिस पत्र लिएर सिंहदरबार परिसरमै रहेको कृषि मन्त्रालय पुगे । पासको व्यवस्था मिलाउन दसतिर गुहार्दागुहार्दै उनी मध्याह्नपछि मात्र मन्त्रालय पुग्न सकेका थिए । त्यसबेला रासायनिक मल अनुगमन गर्ने महाशाखाका कर्मचारी नभेटेपछि त्यत्तिकै फर्किए ।

मंगलबार

अघिल्लो दिन नभेटिएका कर्मचारी खोज्दै उनी फेरि कृषि मन्त्रालयको कृषि सामग्री लिमिटेड अनुगमन गर्ने शाखा पुगे । मन्त्रीको पत्र पढेपछि त्यहाँ रहेका अर्थविज्ञ प्रकाशकुमार सञ्जेलले उनलाई मल उपलब्ध गराइदिन कुलेश्वरमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडलाई पत्र लेखिदिए । पत्र लिएर ५१ वषर्ीय धिताल कुलेश्वर हानिए र मन्त्रालयको पत्र वितरण प्रमुख नारायण मरासिनीलाई देखाए । तर तिनले फाइलै हुत्याइदिए । ‘यसमा कति मल दिने परिणाम नै छैन, लेखाएर ल्याउनहोस्,’ ती मरासिनीलाई उद्धृत गर्दै धितालले भने । त्यस दिन सिंहदरबार फर्किन नसकिने भएपछि बेलुकी रित्तै भतिजा हेमप्रसादको डेरामा फर्किए ।

बुधबार

बिहान १० बजे उनी फेरि अरू चार साथीसहित सिंहदरबार गेट पुगे । पास एउटा मात्र मिलेकाले धिताल भित्र पसे । उनले पर्यटन मन्त्रालयमा सिफारिस लेखिदिने उपसचिवलाई भेटेर पत्रमा परिमाण नखुलाइएकाले लेखिदिन भने । उपसचिवले परिमाण लेखिदिएपछि उनी कृषि मन्त्रालय आए र त्यहाँको मल अनुगमन गर्ने शाखामा पुगे । तर त्यहाँ कोही भेटिएनन् । त्यहाँका प्रमुख सहसचिव उत्तम भट्टराईको कोठामा घन्टांै कुरे । तर भट्टराई आएनन् । उनी सचिव नात्थुप्रसाद चौधरीको कार्यकक्षमा गए । त्यहाँ रहेका उनका स्वकीय सचिवले मल हेर्ने सहसचिव भट्टराईकै शाखामा फर्काइदिए । त्यहाँ पुग्दा लिमिटेडलाई पत्र लेखिदिने सञ्जेल पनि भेटिएनन् ।

यतिन्जेलसम्म सिंहदरबार गेटबाहिर रहेका उनका साथीहरू पनि पास मिलाएर भित्र आइपुगे । कृषि मन्त्रालयमा रहुन्जेल धितालले पास मिलाउन कृषिसहित पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा दर्जन पटक फोन प्रयास गरे । तर त्यो पहलले काम गरेन । करिब २ घन्टा कुर्दा पनि कृषिमा सम्बन्धित कर्मचारी नआएपछि उनी ४ बजेतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हानिए । त्यहाँ उनले प्रधानमन्त्रीका स्वकीय सचिव फणीन्द्र देवकोटालाई चार दिनदेखिको समस्या सुनाए । देवकोटाले त्यहाँबाट कृषि सचिव चौधरीलाई फोन गरी धिताललाई भेट्न भनेपछि उनले अनुमति पाए । सचिव चौधरीलाई मलको परिमाण लेखिदिन भने । तर चौधरीले लेख्न इन्कार गरे । ‘बिहीबार कुलेश्वर जानुहोस्, म भनिदिउँला धेरै होइन थोरै पाउनुहुनेछ,’ चौधरीलाई उद्धृत गर्दै धितालले भने ।

सचिवको आश्वासनपछि उनी अघिला दिनझैं भतिजाको डेरा फर्किए । 

सात महिनाअघि बुवा ईश्वरीप्रसादको निधन भएका धिताल बर्खी बारिरहेका छन् । दिनमा एक छाक मात्र आफंै पकाएर खाने गरेको उनी बताउँछन् । झोलामा भोक लागेका बेला खान हालेका नरिवलका चाना र फाइलमा गाउँका सात सहकारीले मल किन्न पठाएको रकमसहित अख्तियारीपत्र छ । गाउँलेले गरेका बैठकका निर्णय पनि साथै छन् ।

पाँच गाउँका किसानलाई कति मल चाहिन्छ त्यो विवरण फाइलमै छ । विवरणमा किसानको नाम, खेतको क्षेत्रफल, कित्ता र किसानको नागरिकता नम्बरसमेत छ ।  ‘कर्मचारीले विश्वास नगर्लान् भनेर यी सबै कागजात बोकेको हुँ,’ झोलामा रहेको माइन्युट देखाउँदै उनले भने । उनले तयार पारेको विवरणअनुसार पाँच गाउँका किसानलाई अहिले मकै र धान खेतीलाई ३ सय ५० बोरा युरियाको खाँचो छ । यसअघि नुवाकोटको प्रशासन कार्यालयमा धाउँदा मल नपाएपछि काठमाडौं आएको उनले बताए । काठमाडौंबाट नपाए वीरगन्जको गोदाम पुग्न पनि तयार भएको समेत उनले सुनाए । ‘मल नलिई कुन मुखले गाउँ र्फकने ?’ उनी पिरोलिन्छन् ।

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.