संविधानसभाको अवसानपछि राजनीतिक अनिश्चितता लम्बिदै गएको बेला राष्ट्रपति डा. रामवरण यादवले ‘प्राप्त उपलब्धि’ गुम्ने चिन्ता व्यक्त गरेका छन्।त्यसो हुन नदिन उनले राजनीतिक सहमतिमा जोड दिएका छन्।हालै मात्र एकिकृत नेकपा माओवादीबाट अलग भएको नेकपा माओवादीको शीर्ष नेतृत्वसँग सामूहिक छलफलमा उनले त्यस्तो अपिल गरेका हुन्।छलफलमा सरिक नेकपा-माओवादीका सचिव सीपि गजुरेलले राष्ट्रपतिको भनाई उल्लेख गर्दै भने, “मलाई प्राप्त उपलब्धि पनि खोसिने हुन् कि भन्ने बढी चिन्ता छ, त्यसको रक्षा गर्न दलहरुबीच सहमति हुनुपर्छ।”
दायरा
संविधानसभाको अवसानपछि राष्ट्रपतिले राजनीतिक र गैर-राजनीतिक व्यक्तिहरुसँगको छलफल घनिभूत बनाएका छन्।पछिल्लो परामर्शका क्रममा राष्ट्रपतिले आफ्नो संवैधानिक अभिभाराको प्रसंग झिकेका थिए।
“राष्ट्रपतिले तत्कालै यस्तो कदम चाल्छु भन्नु भएन, सहमतिको अर्को विकल्प नभएकाले तपाईंहरुले सहमति गर्नुभयो भने मलाई त्यस अनुसार अगाडी बढ्न सजिलो हुन्छ भन्नुभयो”
सीपी गजुरेल, सचिव, नेकपा-माओवादीसचिव गजुरेलले भने,”उहाँले आफूमा संविधानको संरक्षक र मुलुकको राष्ट्रिय सार्वभौमिकता रक्षाको महत्वपूर्ण जिम्मेवारी रहेकाले संविधानको दायराभित्र रहेर अगाडी बढ्ने बताउनु भयो।”यसअघि अन्य विपक्षि दलहरुले राष्ट्रपतिलाई संकट निकासको निम्ति कदम चाल्न अपिल गरेका थिए।नेकपा माओवादीका नेताहरुले चाहीं निकासको निम्ति गोलमेल सम्मेलनको सुझाव दिएका छन्।
निर्णायक
तर राष्ट्रपतिले नयाँ पार्टी बनाएर एकिकृत माओवादीबाट छुट्टिएका नेताहरुलाई पनि सहमतिकै निम्ति आग्रह गरे।नेता गजुरेलको भनाई छ, “उहाँले तत्कालै यस्तो कदम चाल्छु भनेर भन्नु भएन, सहमतिको अर्को विकल्प नभएकाले तपाईंहरुले सहमति गर्नुभयो भने मलाई त्यस अनुसार अगाडी बढ्न सजिलो हुन्छ भन्नु भयो।”सहमतिमा जोड दिइरहेका राष्ट्रपतिले प्रधानमन्त्री बाबुराम भट्टराई स्वदेश फर्किएपछि निकासको निम्ति निर्णायक पहल थाल्ने कतिपयको अपेक्षा रहेको छ।
Source: BBC Nepali