खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १३- ताप्लेजुङको मेहेलेमा गएराति गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ। पहिरो जाँदा बेपत्ता मेहेले १ की ५० वर्षीया मनकुमारी राई मृत अवस्थामा फेला परेकी स्थानीय खुवा निमावीका शिक्षक जीवन राईले बताए। मृतक मनकुमारीका छोरा वीरेन्द्र गम्भिर अवस्थामा फेला परेका छन्। बाबु चतुरामान जेठा छोराको घरमा गएको र घरमा आमा छोरा मात्रै भएको बेला पहिरोले घर बगाएको थियो । मृतक मनमायाको शव ५ सय मिटर तल फेला परेको थियो । पाँच दिनदेखिको अविरल वर्षाका कारण पहिरोले चतुरमान तथा गुमानसिहं राईको भान्सा घर पुरेको छ। पानी परिरहेकाले अझै पहिरो रोकिएको छैन ।
रेडक्रसकर्मी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा सक्रिय रहेको भएपनि पानीले गर्दा उद्धार कार्यमा कठिनाई भएको राईले जानकारी दिए। प्रहरी नायव उपरीक्षक केदार ढकालले तेल्लोक इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको जानकारी दिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स पठाइएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति गणेश अधिकारीले जानकारी दिए ।
Source: Nagarik