एसीसी यु १९ एसिया कपः नेपालद्वारा भारत १७६ मा अल आउट


काठमाडौं, असार १२ – मलेसियामा भइरहेको  एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १७६ रनमा अल आउट गरेको छ। टस जिती फिल्डिङ रोजेको नेपालले खेल सकिन २८ बल बाँकी रहँदा भारतका सबै विकेट झारेको हो।    भारतको विकेट झार्ने क्रममा भुवन कार्की र राहुल विश्वकर्माले सर्वाधिक तीन विकेट लिएका हुन्। त्यसैगरी सागर पुनले दुई विकेट लिए। पृथु बाँस्कोटा र अविनाश कर्णको नाममा एक-एक विकेट रह्यो।

नेपालले खेल जित्न प्रति ओभर औसत ३.५४ रन बनाई ५० ओभरमा १७७ रन बनाउनु पर्नेछ।  आजको समूह चरणको अन्तिम खेलमा विजय हात पार्ने टोलीले सेमिफाइनल प्रवेश पाउने छ। 

भारतका लागि बाबा अपराजितले सबैभन्दा बढी ५५ रन बनाए। त्यसैगरी उन्मुक्त चन्दले सात चौका र एक छक्कासहित ४७ रन बनाए। उनले हानेको सोही छक्का यो खेलेको एक मात्र छक्का थियो। उनलाई राहुलको बलमा सागर पुनले क्याच आउट गरेका हुन्। अपराजितलाई भने भुवन कार्कीले बोल्ड गरे। स्कोरबोर्डमा १९ रन बन्दा पहिलो विकेट झरेको भारतको विकेट पतन १५३ रनमा अपराजितको विकेट पतन भएपछि दयनीय बनेको थियो। १५३ रनमा छैटौँ विकेट, १५४ रनमा सातौँ विकेट र १५५ रनमा भारतको आठौँ विकेट झरेको थियो। 

यु-१९ स्तरमा नेपाल र भारत पाँचौंपटक भिड्न लागेका हुन्। सन् २००० मा श्रीलंकामा आइसिसी यु-१९ विश्वकपमा नेपाल र भारत पहिलोपटक भिडेका थिए। युवराज सिंह, मोहम्मद कैफ, बेनुगोपाल राव, रितिन्दर सिंह सोंढी सम्मिलित भारतले सुपर लिगमा विनोद दासको कप्तानमा रहेको नेपाललाई सजिलै ८ विकेटले पराजित गरेको थियो।

२००३ मा भारतको यु-१९ टोली नेपाल भ्रमणमा आयो। ‘काठमाडौं क्ल्यास’ नाम दिइएको शृंखलामा भारतले शक्ति गौचनको नेतृत्वमा रहेको नेपाली टोलीलाई तीनै खेलमा पराजित गर्‍यो। अम्बती रायडु, सुरेश रैना, भिआरपी सिंह, दिनेश कार्तिकसहितका खेलाडीसँग नेपालले राम्रो चुनौती दिँदै तेस्रो खेलमा विजय नजिक पुगेको थियो।
क्वालालम्पुरमा नेपाल र भारत दुवै पाकिस्तानसँग पराजित तथा मलेसियामाथि विजय पाएका टोली हुन्। पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटले पराजित नेपालले अघिल्लो दिन मलेसियालाई १ सय ७ रनले पराजित गरेको थियो। आइतबार पाकिस्तानसँग १ रनले पराजित भारतले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

मलेसियामाथि विजय पाउँदा देखाएको अलराउन्ड प्रदर्शन दोहोर्‍याउने नेपालको आशा छ। नेपालले २ सय ४७ रनको मजबुत स्कोर बनाउँदा सुवास खकुरेल र प्रदीप ऐरीले पहिलो विकेटमा ७४ रन जोडेका थिए भने त्यसमा सागर पुनले ७१ रनको इनिङ खेलेका थिए। बलिङमा राहुल बिकले ५ तथा कप्तान पृथु बाँस्कोटा र अविनाश कर्णले २-२ विकेट लिएका थिए।

पहिलो दुई खेल जितेर सेमिफाइनलमा सुरक्षित भइसकेको पाकिस्तानले समूह ‘ए’ को अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ। समूह ‘बी’ बाट श्रीलंका सेमिफाइनल प्रवेश गरिसकेको छ। बंगलादेश र अफगानिस्तानबीच मंगलबार हुने खेलले अन्तिम चार पुग्ने अर्को टोलीको टुंगो लगाउने छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.