चुनाव गराउने आयोग नै रित्तिने


गोविन्द परियार, काठमाडौं, असार ११- सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गरे पनि निर्वाचन आयोग भने पुससम्म नेतृत्वविहीन हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेती छवर्षे कार्यकाल पूरा गरी कात्तिक २२ गते अनिवार्य अवकाश पाउँदैछन्। बाँकी दुई आयुक्त दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादवले पनि पुसदेखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कानुनी, राजनीतिक र प्राविधिक कुनै पनि हिसाबले मंसिरमा चुनाव सम्भव नभएको बताए। ‘अहिले नै कानुनी र राजनीतिक सुनिश्चितता भए पनि मंसिरमा चुनाव सम्भव छैन,’ अघिल्लो संविधानसभा चुनाव गराएका पोखरेलले नागरिकसँग भने, ‘चामत्कारिक रुपमा राष्ट्रिय सहमति भयो भने पनि फागुनअघि चुनाव गराउन सकिँदैन।’

घोषित मितिमा वा एक महिनापछि चुनाव भइहाले पनि आयोग हुने आयुक्त नहुने अवस्था आउने उनको भनाइ छ।

निर्वाचन आयोगले असार मसान्तसम्म संविधान संशोधनसहित कानुनी जटिलताको हल नगरे चुनाव गराउन नसक्ने लिखित धारणा प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष राखिसकेको छ।
संविधानसभा विघटनपछि संविधान संशोधनको प्रक्रियाका सम्बन्धमा राजनीतिक दलहरु नै अन्योलमा भएको बेला असार मसान्तभित्र चुनावका कानुनी जटिलता फुक्ने स्थिति देखिएको छैन।

‘संविधान संशोधनको प्रक्रियामै अन्योल छ भने असारभित्र कानुनी जटिलता फुकुवा हुने सम्भावना छैन,’ पोखरेलले भने, ‘सहमतिमा भइहाले पनि आयुक्तहरु नभएको निर्वाचन आयोगले कसरी चुनाव गराउँछ?’

राजनीतिक र कानुनी जटिलताका साथै प्राविधिक रुपमा पनि चुनाव गराउन निर्वाचन आयोगलाई समय लाग्ने पोखरेलको भनाइ छ।

‘चुनाव गराउनुअघि क्षेत्र निर्धारर्ण, मतदाता सूची पुनरावलोकन जस्ता काम अनिवार्य गर्नुपर्छ,’ पोखरेलले भने, ‘अहिले पहिलोपटक फोटोसहितको मतदाता सूची बनाउने व्यवस्था गरेकाले सबै मतदाता सचीकृत हुन सकेका छैनन् भने अर्कातिर क्षेत्र निर्धारणका लागि पनि आयोग गठन भएको छैन।’
यसअघि प्रत्येक निर्वाचनअघि गठित क्षेत्र निर्धारण आयोगले दिएको सुझावका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने अभ्यास छ।
सरकार भने चार वर्षअघिको संविधानसभा निर्वाचनअनुसारकै क्षेत्रको आधारमा निर्वाचन गराउने तयारीमा छ। निर्वाचन ऐनले तराईमा जनसंख्या र पहाडमा एक जिल्लामा एक निर्वाचन क्षेत्र निर्वाचन हुने गरी क्षेत्र निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।

चार वर्षपछि हुन लागेको निर्वाचनमा मतदाता संख्यामा पनि वृद्धि हुने भएकाले क्षेत्र निर्धारण आयोग गठन आवश्यक रहेको विज्ञहरुको भनाइ छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले राज्यका निकायहरु रित्तो बनाएकाले मुलुक राज्यविहीनताको अवस्थामा पुगेको टिप्पणी गरे।
‘राज्य भनेको अमूर्त हुन्छ, राज्यले आफ्ना संस्था र निकायमार्फत काम गर्ने हो,’ उपाध्यायले भने, ‘लामो समय राज्यका निकाय रित्तो राखेर मुलुकलाई राज्यविहीनताको अवस्थामा पुर्‍याएर चुनाव हुँदैन।’
संविधानसभासँगै संवैधानिक परिषद पनि विघटनसरह भएकाले निर्वाचन आयोगमा नियुक्ति हुने सम्भावना छैन। संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषदले निर्णय गरेर संसदीय सुनुवाइ हुनुपर्ने अनिवार्य व्यवस्था संविधानमा छ।
संवैधानिक परिषदमा प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहन्छन्। परिषदले निर्णय गरे पनि आयुक्तहरूको संसदीय सुनवाइ गर्ने निकाय छैन।
‘संसद नभएको अवस्थामा संवैधानिक परिषद लंगडो भएकाले संविधानअनुसार नियुक्ति गर्न सकिँदैन,’ पोखरेलले भने, ‘मुलुक सबै विषयमा चोके परेको अवस्थामा छ।’
निर्वाचन आयोग आयुक्तविहीन त छँदैछ त्यससँगै अरु संवैधानिक निकायहरु पनि पदाधिकारी नहुँदा निष्त्रि्कय अवस्थामा पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ वर्षदेखि नेतृत्वविहीन छ भने दुई वर्षदेखि आयुक्तहरुसमेत अवकाश भएर रित्तो छ।
सरकारी हिसाबकिताब परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालय पनि लामो समयदेखि नेतृत्वविहीन छ। त्यसका साथै संवैधानिक परिषद लंगडो र संसद नहुँदा सर्वोच्च अदालतमा समेत माघसम्म आधाजसो न्यायाधीश अवकाशमा जाँदैछन्।
‘गैरजिम्मेवारीपनको हद नाघेर राज्य सञ्चालकले लोकतन्त्रलाई मात्र होइन, राज्यलाई नै विसर्जनको बाटोमा हिँडाएका छन्,’ उपाध्यायले भने, ‘यो संक्रमण लम्बिए हामी चाँडै नै असफल राज्यमा परिणत हुनेछौं।’
उपाध्यायको भनाइमा चुनाव घोषणा भएको छ, निर्वाचन आयुक्त छैनन्, अख्तियार छ, आयुक्त छैनन्, सर्वोच्च अदालत छ, न्यायाधीश रित्तिँदै छन्। यो राज्य सञ्चालकहरुको गैरजिम्मेवारीको पराकाष्ठा हो।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.