परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गर्दैछ। परीक्षाफल प्रकाशनका लागि वोर्डको बैठक सुरु भएको छ। यसवर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी छन्।
परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ।
राससकाअनुसार, कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ। उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।
कार्यालयले आज परीक्षाफल प्रकाशन गर्न अपराह्न बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ। कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्ष पनि गत वर्षजस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बताए।
Source: Nagarik