२९ जेठ, युरोकप फुटबलको समूह डि को महत्वपूर्ण खेलमा आज इङल्याण्ड र फ्रान्स भिड्दैछन । युक्रेनको डोनेक रंगशालामा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । पछिल्ला २१ खेलमा अपराजित फ्रान्सलाई तुलनात्मक रुपमा बलियो मानिएको छ । इङल्याण्डका मुख्य खेलाडीको अनुपस्थितले पनि उसलाई मदत गर्ने बताइएको छ ।
लीगमा खाएको रातो कार्डका कारण पहिला २ खेलमा इङल्याण्डका स्टार स्ट्राइकर वायन रुनी मैदान उत्रने छैनन भने चोटका कारण फ्रान्क लाम्पार्ड, ग्यारी केहिल युरोमा अनुपस्थित रहने निश्चित छ । २ पटक युरो जितिसकेको फ्रान्स तेस्रो उपाधिको खोजीमा छ भने इङल्याण्ड पहिलो पटक उपाधिको स्वाद चाख्न आतुर छ ।
यसैगरी आजै राति किभ रंगशालामा हुने अर्को खेलमा प्रतियोगिताको सहआयोकज युक्रेन स्वीडेनसँग भिडदैछ । पहिलो खेललाई लिएर दुबै टोली उत्साहित छन् । घरेलु प्रशिक्षक ओलेग ब्लकहिनको प्रशिक्षणमा रहेको युक्रेन घरेलु समर्थकमाझ उत्कृष्ट खेल पस्कने योजनामा छ भने स्विडेनका प्रशिक्षक इरिक हृयामरेनले स्वीडेन समूह डीको ‘अन्डरडग’ भएको बताएका छन् । आजको खेलमा युक्रेन आन्द्रेइ सेभचेन्को तथा स्वीडेन याल्टन इब्राहिमोबिचको खेलमा निर्भर रहनेछ ।