प्रतिमा बाँस्कोटा
काठमाडौ, जेष्ठ १६ – साउदी अरेबियाबाट बिदामा नेपाल आउँदै गरेका बाराका असिन मिया ६९ लाख ७२ हजार भारतीय नक्कली रुपैयाँसहित पक्राउ परेका छन् । अढाइ वर्षपछि घर फर्केका महेशपर ७ मियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट पाँच सय दरका ३ हजार ९ सय ९० र एक हजार दरका ४ हजार ९ सय ७७ थान नोट बरामद गरेको छ । साउदीको सारजहाबाट एयर अरेबिया (जी९५३५) नम्बरको उडानबाट उनी नेपाल आएका थिए । विमानस्थल सुरक्षा प्रमुख डीआईजी नारायण बस्ताकोटीले कोही नेपालीले नोट लिएर आउँदैछ भन्ने सूचनाका आधारमा निगरानी बढाइएको र त्यही क्रममा मियाँ पक्राउ परेको बताए ।
‘सामान्य सूचना थियो, उनै हुन् भन्ने पक्का थिएन,’ डीआईजी बस्ताकोटीले भने, ‘विमानस्थलमा जाँच गराएर बाहिर निस्किएपछि उनको व्यवहार शंकास्पद देखियो । त्यसपछि नियन्त्रणमा लिएर खानतलासी लिंदा नोट फेला पर्यो ।’
बस्ताकोटीले यसअघि नक्कली नोटसहित पक्राउ परेका व्यक्ति र मियाँलाई एउटै गिरोहले प्रयोग गरेको हुनसक्ने बताए । ‘पैसा बोकेर आउने व्यक्ति फरक-फरक देशका छन्, तर फल्स बटम बनाउने र समान लुकाउने तरिका एकै छ,’ उनले भने, ‘नेपालबाट सडकमार्ग हुँदै त्यसलाई भारत पठाउने नै गिरोहको उद्देश्य हो ।’
प्रहरी संविधानसभाको सुरक्षातर्फ व्यस्त भएको मौका छोपेर गिरोहले भारु पठाएको डीआईजीको भनाइ छ । ‘तर यस्तो बेलामा हामी देशभित्र मात्र होइन, देश बाहिर जाने तथा आउनेका ’boutमा समेत झन् निगरानी राख्छौं,’ उनले भने । मियाँले बोकेको कालो रङको ब्यागमा भित्रपट्टि फल्स बटम बनाएर पैसा राखेका थिए । यस्तै बिस्कुट, कुकिजको बट्टा, लुगा धुने सरफको बट्टा र चिया रङको बट्टाभित्र पैसा राखेर प्याक गरिएको थियो ।
३८ वर्षीय मियाँले भने आफूलाई सुटकेसभित्र नक्कली भारु भएको थाहा नभएको बताए । ‘२ महिनाअघि हिन्दी बोल्ने एकजनासँग चिनजान भएको थियो, उसैले दिएर पठाएको हो,’ उनले भने, ‘यहाँ बाराका मञ्जुर अन्सारीलाई झोला दिनु थियो ।’
लुकाउने अनेक तरिका
हवाईमार्गबाट नेपाल प्रवेश गर्ने नक्कली भारुका कारोबारीले नोट लुकाउन अनेक उपाय अपनाउन थालेका छन् । नेपाली नागरिक असिन मियाँले ल्याएको सुटकेसभित्र कुकिज, बिस्कुट, चियापत्ती र लुगा धुने सरफ थिए । विदेशबाट नेपाल आउने व्यक्तिले आवश्यकताभन्दा बढी त्यस्ता सामान ल्याएको देखेपछि प्रहरी सशंकित बनेको थियो ।
त्यस्ता खाद्य पदार्थभित्र नक्कली नोट फेला पारेको हो । ‘सुटकेसभित्र फल्स बटम बनाएर नक्कली रुपैयाँ ओसारपसार गर्ने प्रवृत्ति पुरानो भइसक्यो,’ डीआईजी बस्ताकोटीले भने, ‘खानेकुराको प्याकभित्र नगद राखेर ल्याउन थालेका छन् ।’ यसअघि कलंकीमा दुबईबाट ल्याएको एक करोड २२ लाख नक्कली भारतीय रुपैयाँ पनि लेज, कुरकुरे जस्ता खानेकुराको खोलभित्र राखी ल्याउने गरिएको थियो ।
प्रहरीका अनुसार अचेल नक्कली रुपैयाँ ल्याउने तरिकामात्र होइन, ल्याउने व्यक्तिसमेत फेरिएका छन् । केही समयअघिसम्म नेपालमा पाकिस्तानी नागरिकहरू पक्राउ पर्ने गरेका थिए । नेपालको बाटो हुँदै भारत लगिने नक्कली भारतीय रुपैयाँ लिएर नेपाल छिर्ने पाकिस्तानी नै हुने गरेका थिए । प्रहरीले काठमाडांै वा अन्य स्थानमा पक्राउ र बरामदले पनि पाकिस्तानी रहेको कुरालाई पुष्टि गर्ने गरेको थियो । तर निरन्तर रूपमा पाकिस्तानी नागरिक काठमाडांैंमा पक्राउ पर्न थालेपछि गिरोहले गैरपाकिस्तानीलाई भरिया बनाउन थालेको देखिएको छ ।
पछिल्लो समयमा नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका व्यक्तिहरू गैरपाकिस्तानी छन् । यसले प्रहरीको दाबीलाई सत्यतामा बदलिदिएको छ । प्रतिआतंकवाद सेलका एक वरिष्ठ प्रहरी अधिकारी पाकिस्तानीमाथि बढी निगरानी हुन थालेपछि गिरोहले गैरपाकिस्तानीलाई लालच देखाएर भरियाका रूपमा प्रयोग गरेको हुनसक्ने बताउँछन् । पछिल्लो पटक २०६८ वैशाखमा थाई नागरिक नक्कली भारुको ओसारपसारमा प्रयोग गएका थिए । प्रहरीका अनुसार भियतनामी, बंगलादेशी र भारतीय नागरिकसमेत नक्कली भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेका थिए.
Source: ekantipur