कतै बन्द कतै सद्‍भाव र्‍याली


बनेपा, जेठ १० – दनुवार जातिले आज गरेको बन्द आह्वानले काभ्रे र सिन्धुपाल्चोकमा आंशिक प्रभाव परेको छ। उनीहरूले जातीय राज्यको माग गर्दै काभ्रेको तीनपिप्लेदेखि पाँचखालसम्मको बजार बन्द गराएका छन्। एक तथ्याङ्क अनुसार पाँचखालमा मात्रै करिब १५ प्रतिशत दनुवार जाति रहेको जनाइएको छ। 

 
सिन्धुपाल्चोकमा पनि बन्दको प्रभावले अरनिको राजमार्ग हुँदै चल्ने छोटो तथा लामो दूरीका यातायातको साधन सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिए।

पाँचखालमा भएको सो बन्द खुलाउन प्रहरी परिचालन गरिएको छ।

विराटनगर- बृहत् मधेसी मोर्चाद्वारा स्वायत्त मधेस एक प्रदेशको माग गर्दै आह्वान गरिएको अनिश्चितकालीन तराई बन्दको आज छैटौँ दिन पनि यहाँको जनजीवन प्रभावित एवम् कष्टकर बनेको छ।

बन्दका क्रममा बजारका साथै उद्योग, कलकारखाना तथा छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन भएका छैनन्। भित्री बजार भने खुल्ला रहनाका साथै औषधिपसल सञ्चालन भएको छ। एघार कक्षाको आजको परीक्षा भने सञ्चालन भएको प्रहरीले जनाएको छ। विराटनगर मेनरोडमा भने एम्बुलेन्स, सञ्चारकर्मीको गाडी तथा रिक्सा, मोटरसाइकल सञ्चालनमा आएको छ।

अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। शान्तिसुरक्षा कायम गर्नका लागि सुरक्षाकर्मीको चोकचोकमा बाक्लो उपस्थिति छ। रोडशेष चोकमा बन्दकर्ताले मोटरसाइकल सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ। दैनिकजसो बन्दले गर्दा यस क्षेत्रमा सर्वसाधारण जनता पीडित भएका छन्।

चितवन-उद्योग वाणिज्य सङ्घ चितवनले आज बिहान नारायणगढमा बृहत् सद्भाव र्‍याली तथा दौड आयोजना गरेको छ।

कार्यक्रमपछि आयोजित सभालाई सम्बोधन गर्दै सङ्घका पूर्वअध्यक्ष कृष्णबन्धु पियाले सबै जातजाति जसरी थियौँ त्यसरी नै रहनुपर्छ भन्दै जातीय सद्भाव खलबलिन दिन नहुने बताए। निर्बाधरूपमा आफ्ना काम गर्न पाउने वातावरण सिर्जना गर्न उनको आग्रह थियो।

सङ्घका अध्यक्ष तिलचन्द्र भट्टराईले नेपालीलाई बन्दहडताल नभएर सामाजिक, सांस्कृतिक र आर्थिक समृद्धि चाहिएको बताए। फेन्सी व्यवसायी सङ्घका अध्यक्ष इसुफदिन मियाले बन्दका कारण उद्योगव्यवसाय धराशायी बन्दै गएको बताए।

‘शान्ति र संविधानका लागि सद्भाव’ भन्ने मूल नाराका साथ उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना, फेन्सी व्यवसायी सङ्घ चितवनको संयोजन तथा वस्तुगत व्यवसायी सङ्घको सहयोगमा र्‍याली तथा दौड आयोजना गरिएको हो।र्‍यालीमा ठूलो सङ्ख्यामा उद्योगीव्यवसायी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सर्वसाधारण एवम् पत्रकारको सहभागिता थियो।

नारायणगढको पोखरा बसपार्कबाट सुरु भएको सद्भाव र्‍याली एवम् दौड लायन्स चोकमा आएर सभामा परिणत भएको थियो। विभिन्न जातीय सङ्गठनले आयोजना गरेको बन्दका कारण दुई सातादेखि चितवन ठप्प हुँदा दैनिक करोडौँको नोक्सानी बेहार्नुपरेको व्यवसायीले बताएका छन्।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.