संविधान सभाको बैठक दिउँसो बस्दै-
काठमाडौं, वैशाख ३१ – संविधान निर्माणमा रहेका विवादहरु समाधान गर्न गठित विवाद समाधान उपसमितिको आज बसेको बैठकले समाधान हुन बाँकी १६ र पहिले समाधान भइसकेका तर पुनः बल्झिएका १४ वटा प्रश्नलाई संवैधानिक समितिमा पठाउने निर्णय गरेको छ।
संवैधानिक समितिको बैठक अहिले सुरु भएको छ।
राज्य पुनर्संरचना बाहेकका विवादित विषयका ३० वटा प्रश्न मतदान गराउने निर्णय गर्न संवैधानिक समितिमा लगिने भएको हो। विवाद समाधान उपसमितिले शनिबार छिनोफानो गरेका ती प्रश्नहरूलाई समितिमा लगेर वस्तुगत बनाइने जानकारी सदस्य माधवकुमार नेपालले दिएका छन्।
३० मध्ये १६ वटा प्रश्न उपसमितिले यसअघि नै सहमति जुटाए पनि समितिले अनुमोदन गरेको छैन। बाँकी १४ प्रश्नलाई पनि विषयगत रूप दिन समितिमा लगिनेछ।
बहुमतबाट निर्णयका लागि ३० वटा प्रश्न संविधानसभाको आइतबार दिउँसोको बैठकमा लगिने बुझिएको छ।
शासकीय स्वरुपमा मिश्रित प्रणाली प्रवेश गराउन प्रश्न थपिने उपसमितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।
त्यसअघि चार दलका शीर्ष नेताहरूसहित विवाद समाधान उपसमितिको बैठक बस्ने एमाले नेता नेपालले जानकारी दिए। बहुमतीय प्रक्रियाबाट अघि बढ्दा संविधान बन्न नसक्ने निष्कर्षका साथ यसलाई ढिला गर्न मात्र प्रश्नावली बनाउने जिम्मेवारी सारिंदै आएको बैठकका एक सहभागीले टिप्पणी गरे।
Source: Nagarik