बदला लिन छिमेकी महिलाद्वारा १४ महिने बालकको हत्या


मिथिलेश यादव, सिरहा, वैशाख ३१- शुक्रबार सिरहाको कर्जन्हा-८ परयागपुर निवासी प्रमोद साहका १४ महिने छोरा किसनको हत्या भयो। नाबालक साहको घाँटीमा काँटी घोचेर हत्या गरिएको थियो। नाबालक हत्याको अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाको बयानबाट प्रहरीले डरलाग्दो तथ्य फेला पारेका छन्।

सिरहा प्रहरी प्रमुख राजेशलाल कर्णले भने- अपराधको यो अहिलेसम्मकै क्रुर रुप हो। हत्या गरिएका नाबालककी हजुरआमालाई उनका छिमेकी ललितादेवी ठाकुरले बोक्सी लगाएर आफ्नो छोरा र आमालाई मारेको अनि आफूलाई पागल बनाएको आरोप लगाउँदै आएकी थिइन्। त्यसैको बदलास्वरुप किसनलाई आफूले मारेको ती महिलाले प्रहरीमा बयान दिएपछि प्रहरी तीन छक्क परे। २ वर्षपहिले आफ्नो छोरालाई बोक्सी लगाएर पोखरीमा डुबाएको र आमालाई बोक्सी लगाएर बिरामी बनाई मारेको सोचले ती महिलाको दिमागमा बदलाको भावना जन्मायो- कर्णले भने।

यतिसम्म कि क्रुर महिला जसले नाबालकलाई किला घोची घोची मारिन्, मैले अहिलेसम्म यस्तो घटना थाहा पाएकै थिइन्- कर्णले भने। यो अपराधले यहाँको समाजको मानसिकता कतातिर गइरहेको छ भन्ने झल्काउँछ- उनले बताए।

गत बिहीबार साँझ नाबालक किसन खेल्दाखेल्दै सामुने रहेको ललिताको घर पुगे। ललिता कलमा कपडा धुँदै थिइन्। बच्चा कलसम्म पुगेर खेल्न थाल्यो। कपडा धोइसकेपछि उनले बच्चालाई काखमा उचालिन् र एकछिन खेलाइन्। काखमा उठाएर खेलाउँदै घरमा काट्ने सामान खोज्न थालिन्। त्यत्तिकैमा उनले काँटी (किला) भेट्टाइन्। त्यही किला बच्चाको घाँटीमा घोचेर हत्या गरिन्- प्रहरीमा ललिताले दिएको बयान उद्धृत गर्दै कर्णले भने। करिव चार पाँच पटक उनले बच्चाको घाँटीमा किला घोचेपछि बच्चाले काखमै प्राण त्यागे- उनले प्रहरीलाई वयानमा भनेकी थिइन्। हत्या गरिसकेपछि मृत बच्चालाई साडीको पोल्टामा लुकाएर घरनजिकै रहेको भर्खरै लगाएको उखुको खेतमा फ्याँकेको पनि ललिताले बताइन्।

सिरहाको मलहनीयाखोरी-१ ससुराली भएकी ललिता पति वैदेशिक रोजगारमा गएपछि माइती घर कर्जन्हा-८ परयागपुरमै बस्दै आएकी छिन्। ललितासँग उनले हत्या गरेकै उमेरको छोरा छ। उनी अहिले काखे छोरा च्यापेर इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा पुगेकी छिन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही सुरु गरिएको एसपी कर्णले बताए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.