साउदीमा भगौडा कामदार – भाग्नेको बेहाल, भगाउने मालामाल


धरम के.सी.,४ मई २०१२
साउदीमा आफ्नो रोजगारदाता कम्पनी छोडी भाग्नेहरू बढिरहेका छन, कहीं कतैबाट पनि यसमा लगाम लगाउने, रोक्ने या दुरूत्साहित गर्ने खालका पहलहरू भएका छैनन । नव निर्धारित न्युनतम १ हजार रियालको तलब यी भगौडा कामदारहरूका लागि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” जस्तै हो, किनकि यिनीहरू भागेर गैरकानूनी हैसियतमा पुगिसकेकाले स्वतः ब्ल्याक लिष्टमा पर्छन र फेरी कहिल्यै साउदी फर्किन पाउंदैनन ।

नयां तलब नयां कामदारहरूका लागि धेरै राम्रो छ, तर साउदीमा भगाउने दलालहरूको सञ्जाल जति कृयाशिल छ, यसले नयां कामदारहरूलाई पनि त्यो लपेटमा नलेला भन्न सकिन्न । पछिल्लो जानकारी अनुसार दलालहरूले दिन दहाडै क्याम्प क्याम्पमै पुगेर बैध कामदारहरूलाई दलालकै गाडीमा राखी भगाईरहेका छन ।

तलब कम हुनुमात्र होइन, म्यानपावर कम्पनीहरूका फर्जी (जस्तै २ फरक करारनामा गराउने) कामहरू, भनिए अनुसारका तलब तथा सुविधाहरू नपाउनु, कामदारहरूका समस्याहरूको सुनुवाई र समाधान बेलैमा हुन नसक्नु, चेतनाको अभाव तथा दूतावाससम्म को पहुंच नपुग्नु पनि कामदार भाग्नुका थप कारणहरू हुन जो आगामी दिनमा पनि दोहोरिरहने नियती जस्तै छ ।

भागेपछि कामदारहरूले काम पाउंदासम्मको अवधिमा केही बढी आर्जन गर्ने भएता पनि संधै (नियमित) काम नपाउने, गरेको कामको पनि तलब नपाउने, औषधोपचार, बिमा लगायतका कुनैपनि सुरक्षा नहुने, घर जानका लागि जेल जानै पर्ने र जेल जान पनि दलाललाई मोटो कमिशन दिनुपर्ने र त्यहां पनि बिभिन्न जोखिम र तनावहरूको सामना गर्नुपर्ने नियती भोगिरहेका छन र अन्ततः जिवनमै एउटा ‘कालो दागी’ (Black Listed) भएर जानलाई पनि ठूलो कसरत गर्नुपरिहेको छ भगौडा नेपाली कामदारहरूले ।

अतः नेपाली म्यानपावर ब्यवसायीहरूलाई इमान्दार, जिम्मेवार, सेवामुखी र जबाफदेही बनाउन हाल बिद्यमान ‘दण्डहिनता’को अन्त्य गर्नैपर्दछ र साउदी अरबमा कृयाशिल भगौडा कामदारहरूका दलालहरूलाई पनि कानूनी कार्बाहीको दायरामा ल्याउनैपर्दछ । त्यस्तो गैर कानूनी धन्दा र कमिशनको खेल समाजसेवा हुनै सक्दैन र त्यसमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संलग्न जो कोही पनि ‘सहजकर्ता या सेवक’ हुनैसक्दैनन । यी दलालहरू नै हुन र भगौडाको दलाली यिनीहरूको पेशा (ब्यवसाय) नै बन्दैछ । जेलमा परेका यस्ता भगौडा कामदारहरूलाई स्वदेश फिर्तीका लागि दूतावासको सकृयता र पहलले पनि प्रकारान्तरले भगौडा कामदारहरूको अबैध बजारलाई प्रबर्द्धन गरिरहेको छ । आफ्ना नागरिकलाई जेलमुक्त गरी स्वदेश फर्काउने राज्यको दायित्व पूरा गर्न दूतावासले यसो गरिरहेको भएता पनि दूतावासका अरूपनि यस्ता थुप्रै दायित्व, कर्तब्य र जिम्मेवारीहरू छन ।

यसैले दूतावासमा उपलब्ध सिमित बजेट, जनशक्ती र साधन स्रोतलाई अत्यधिक मात्रामा भगौडा कामदारकै लागि खर्च गर्नुभन्दा अबका दिनमा भाग्नु अघि नै कामदारहरूका यावत समस्याहरू समाधान गर्न, भाग्न बाद्य पार्ने म्यानपावर कम्पनीहरूलाई कार्बाही गर्न साथै भाग्न प्रोत्साहित गर्ने साउदी अरबका स्थानिय दलालहरूलाई पनि दण्डित गर्न कुनै कसर बांकि नराखियोस ।

(उपरोक्त मन्तब्य आज शुक्रबार, ४ मईमा साउदी अरबको खोबारमा सम्पन्न अन्तरकृयामा प्रस्तुत गरिएको हो)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.