राजेन्द्र ज्ञवाली
मुम्बई, (एजेन्सी)-बलिउड र क्रिकेटबीचको निकटता नयाँ कुरा होइन। संसारलाई आफ्नो सौन्दर्यको मोहजालमा पार्ने बलिउड अभिनेत्रीहरू आफै भने क्रिकेट खेलाडीको आकर्षणमा बाँधिएको घटना थुप्रै छन्। अर्को शब्दमा भन्ने हो भने मैदानमा चौका र छक्का हिर्काउने खेलाडी मैदान बाहिर यिनै सुन्दरीबाट सजिलै क्लिन बोल्ड हुने गर्छन्।
पाकिस्तानका पूर्व कप्तान इमरान खान र भारतीय अभिनेत्री जीनत अमानबीचको सम्बन्धलाई कुनै बेला प्रेमी प्रमिकाले कसम खाँदा सम्झने गर्थे। त्यस्तै अर्की भारतीय अभिनेत्री रिना रायले त पाकिस्तानका पूर्व प्रारम्भिक ब्याट्सम्यान मोहसिन खानसँग बिहेसमेत गरेकी थिइन्।
त्यस्तै वेष्टइण्डिजका पूर्व कप्तान बिबियन रिचर्ड्स र भारतीय अभिनेत्री निना गुप्ताको अन्तरंग सम्बन्धले सन् १९८०को दशकमा खुबै चर्चा पाएको थियो। त्यो क्रम भारतका अर्का क्रिकेट खेलाडी रवि शास्त्री र अभिनेत्री अमृता सिंहबीचको सम्बन्ध विवाहमा परिणत हुँदा हुँदै रोकिएको थियो। भारतका अर्का क्रिकेट कप्तान मोहम्मद अजहरुद्धिनले त अभिनेत्री संगिता विजलानीसँगको प्रेमलाई विवाहमा परिणत गराएका थिए।
अहले पनि भारतीय स्पिनर हरभजन सिंहसँग गीता बसराको नाम जोडिएको छ। त्यसैगरी युवराज सिंहको नाम प्रिटी जिन्टासँग जोडिएको थियो भने भारतीय कप्तान महेन्द्र सिंह धोनी र दिपिका पादुकोणबीचको सम्बन्धलाई पनि निकै स्वादिलो समाचारका रुपमा पस्किने काम पत्रपत्रिकामा भएकै हो।
पछिल्लो पटक बलिउड र क्रिकेटबीचको अन्तरंग सम्बन्धको प्रयाय बनेका छन् अनुष्का शर्मा र सुरेश रैना। रब ने बनादी जोडी र ब्याण्ड बाजा बरात जस्तो चलचित्रमा आफ्नो अभिनय तथा सुन्दरताले सबैलाई मोहित पारेकी अनुस्का अहिले रैनालाई बोल्ड गर्न सफल भएकी छिन्।
बलिउडको हल्लालाई मान्ने हो भने दुबैको भेट केही महिनाअघि लण्डनमा भएको थियो। यसपछि दुबैले समय मिलाएर एकअर्कासँग बढीभन्दा बढी समय विताउने कुनै अवसर छाड्दैनन्। हेरौँ बलिउड र क्रिकेटकोबीच देखिएको रोमान्सको यो दौडले कति धेरै रन बनाउँछ।
Source: Nagarik