गोल र अंकबिना नेपालको यात्रा टुंगियो


काठमाडौं, फागुन ३० – घरेलु मैदानमा एकै गोल र एकै अंक नबटुली नेपालको एएफसी च्यालेन्ज कप यात्रा टुंगिएको छ। अघिल्ला दुई खेल गुमाउँदै सेमिफाइनलबाट बाहिरिसकेको नेपाल सोमबार तुर्कमेनिस्तानसँग ३-० ले पराजित भयो। जितसँगै तुर्कमेनिस्तान समूह ‘ए’ का विजेता हुँदै सेमिफाइनल पुगेको छ।

हल्चोकमा अर्को दक्षिण एसियाली टोली माल्दिभ्सलाई २-० ले हराउँदै प्यालेस्टाइनले पनि अन्तिम चारको ठाउँ सुरक्षित पार्‍यो। समान ७ अंक भए पनि गोलअन्तरमा प्यालेस्टाइन समूह उपविजेता बनेको हो। माल्दिभ्सको हारसँगै च्यालेन्ज कपमा दक्षिण एसियाली राष्ट्रको चुनौती सकिएको छ। नेपाल र भारत एक खेलअगाडि नै बाहिरिसकेका हुन्।

सातौं मिनेटमा ताजायभ इल्मानको गोलबाट अग्रता लिएको तुर्कमेनिस्तानले दोस्रो हाफमा दुई गोल थप्यो। इमानोभ आर्सलानमेरतको पासमा इल्मानले गोल गरेका हुन्। ७९औं मिनेटमा विराज महर्जनको आत्मघाती गोलमा तुर्कमेस्तानको अग्रता दोब्बर भयो। रुल्लानको क्रसलाई रोक्न खोज्दा विराजको आत्मघाती गोल भएको हो।

खेल सकिन एक मिनेट बाँकीमा ह्यान्गीडिएभ गुभान्चले ‘कठिन कोणबाट गोल गर्दै टोलीलाई समूह विजेता बनाए। नेपालले खेलभर तीनवटा आक्रमण गरे पनि सफल भएन। ३८औं मिनेटमा भतर खवासले पोस्ट अगाडि निकालेको पास सन्तोष साहुखलले भेट्टाएनन् भने ६०औं मिनेटमा सन्तोषले नै विपक्षी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन्। ७०औं मिनेटमा विराजको पासमा भरतको शक्तिशाली प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो।

तुर्कमेनिस्तानका प्रशिक्षक याजगुली होजालिगडिएभ सेमिफाइनल छनोट भएकोमा खुसी हुँदै नेपालभन्दा आफ्नो टोली दबाबमा रहेको बताए। ‘नेपाल पहिले नै बाहिरिएकाले दबाब थिएन। तर सेमिफाइनल पुग्न हाम्रो लागि यो खेल महत्वपूर्ण थियो,’ उनले भने, ‘हामी यसमा सफल भएका छौं। अघिल्ला खेलमा मौका नपाएका खेलाडीले पनि यसमा मौका पाए।’ उनले सेमिफाइनलमा जुनसुकै टोली आए पनि फरक नपर्ने धारणा राखे।

हल्चोक सम्पन्न खेलको ५९औं मिनेटमा प्यालेस्टाइनका लागि हुसाम वादीले गोलको खाता खोले। अर्सफ अलफावागरले इन्जुरी समयको चौथो मिनेटमा गोल थप्दै प्यालेस्टाइनको जित निश्चित पारे। हारपछि माल्दिभ्सका प्रशिक्षक इस्त्भान उर्वान्यलले दक्षिण एसियाली राष्ट्रको स्तर आफ्नो क्षेत्रभन्दा माथि नरहेको बताए। ‘तीब्र गति र शारीरिक रूपमा बलिया टोलीविरुद्ध हामी प्रतिस्पर्धा गर्नै सक्दैनौं,’ उनले भने, ‘नेपालले भने खेल्ने नयाँ रणनीति लिएको छ, जसले फाइदा पुगेको देखिन्छ।’ प्यालेस्टाइनका प्रशिक्षक जमल महमुदले जितलाई प्यालेस्टाइनको फुटबलमै ठूलो सफलताका रूपमा अर्थ्याए।
मौनधारण

नेपाल र तुर्कमेनिस्तानबीच सोमबारको खेलअघि एक मिनेट मौनधारण गरियो। २५ वर्षअघि फागुन २९ कै दिन दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल भइरहँदा हुरीबतासका कारण भागदौड मच्चिँदा ७३ जनाको मृत्यु भएको थियो। हुरीबतास चलेपछि भाग्न खोज्दा सबै ढोका बन्द भएकाले च्यापिएर धेरैको मृत्यु भएको थियो। नेपाली खेलइतिहासमै त्यो ठूलो दुर्घटना थियो। सोही दुःखद घटनाको सम्झना गर्दै नेपाल ओलम्पिक संग्रहालयले सोमबार दशरथ रंगशालामा पूजा पनि गर्‍यो।

नेपाली टोली
किरण चेम्जोङ (गोलकिपर), सागर थापा (कप्तान), सन्दिप राई, रोहित चन्द (जितेन्द्र कार्की ८२ मिनेट), विराज महर्जन, दीपक भुसाल, निराजन खड्का (सविन्द्र श्रेष्ठ ८९ मिनेट), भरत खवास, सन्तोष साहुखल, जुमानु राई (गणेश लावती ८४), अनिल गुरुङ।

सविन्द्रको डेब्यु
लेफ्टब्याक सविन्द्र श्रेष्ठले सोमबार राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन्। एएफसी च्यालेन्ज कपअन्तर्गत तुर्कमेनिस्तानविरुद्ध समूह चरणको अन्तिम खेलमा सविन्द्रले ८९औं मिनेटमा निराजन खड्काको सट्टा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। यसपटकको प्रतियोगितामा तीन खेलाडीले डेब्यु गरे। प्यालेस्टाइनविरुद्ध जितेन्द्र कार्की र माल्दिभ्सविरुद्ध टंक बस्नेतले डेब्यु गरेका थिए।

 

  समूह ‘ए’ को अंकतालिका
देश खेल  जित बराबर हार  गोलपक्षमा  विपक्षमा  अंक
तुर्किमिनिस्तान ३  २  १  ०  ६  १ ७
प्यालेस्टाइन  ३  २ १  ०  ४  ०  ७
माल्दिभ्स  ३ १  ०  २  २  ५  ३
नेपाल ३  ०  ०  ३  ० ६ ०

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.