काठमाडौँ, फागुन २७- सरकारले आगामी चैतको अन्तिम सातादेखि काठमाडौँको सरसफाई अभियानका लागि एक लाख स्वयम् सेवक परिचालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शनिबार राष्ट्रिय स्वयम्सेवा अभियान सञ्चालन भएको छलफल कार्यक्रममा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।
कार्यक्रममा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौँ उपत्यकालाई हरियाली सहरको रुपमा विकास गर्नका लागि सबै तह तप्कालाई मिलाएर काम गर्न निर्देशन दिए। काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रहरूमा चैत्रबाट सुरु गरिने यो अभियानमा सबै युवा तथा सरोकारबाला निकायहरूलाई समेट्न प्रधानमन्त्री डा भट्टराईले निर्देशन दिनुभएको कुरा मन्त्री रायमाझीले बताए।
मन्त्री रायमाझीका अनुसार सफा र सुन्दर नेपाल नै नेपालीको पहिचान भन्ने मूल नाराका साथ सञ्चालन हुने सो अभियानमा उद्योग वाणिज्य सङ्घ, राजन्ीतिक दलका भातृ सङ्गठनहरू, सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने छ।
स्थानीय विकास मन्त्रालयको मातहतमा राष्ट्रिय स्वयंसेवक परिचालन गर्ने सरकारको तयारी रहेको सो अभियानमा अन्तर्गत सरसफाइदेखि सडक निर्माण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने स्थानीय विकास मन्त्री रायमाझीले बताए।
चैतको अन्तिम हप्ताबाट सुरु गरिने सरसफाई अभियान सकेर बैशाखको पहिलो हप्तामा काठमाडौँलाई सफा काठमाडौँ घोषणा गर्ने तयारी सरकारको रहेको छ ।पहिलो चरणमा काठमाडौँबाट सुरु हुने सरसफाई अभियान त्यसपछि देशभरी चलाउने मन्त्री रायमाझीले बताए।
स्वयम्सेवकमा नेपाल सरकारका कर्मचारी, विभिन्न राजनीतिक दलका कार्यकर्ता, निजी उद्योगी व्यवसायी, विभिन्न सङ्घसंस्था रहने बताइएको छ।
सरकारको स्वयम्सेवक परिचालन अभियानमा सरसफाईदेखि सडक निर्माण र जनचेतनामुलक कार्यक्रमसमेत रहेका छन्।सरकारले विभिन्न सरोकारवाला पक्षसँगको छलफलपछि राष्ट्र निर्माणमा देशव्यापी स्वयम्सेवक परिचालन गर्ने बताइएको छ।
छलफलमा मन्त्री रायमाझी, उद्योगमन्त्री अनिल झा, काठमाडौँ महानगरपालिकाका प्रमुख तथा अन्य सरोकारबाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो।
Source: Nagarik