डीआइजी कोइराला पुर्पक्षका लागि जेलमा-
काठमाडौँ, फागुन १४ – आफ्नै पत्नी गीता ढकालको हत्या गरेको अभियोग लागेका सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालालाई आज काठमाडौँ जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म लागि जेलमा राखी कानुनी प्रक्रिया पूरा गर्न आदेश दिएको छ। सरकारी वकीलले हत्याको मतियारको अभियोग लगाएको उनकी ‘प्रेमिका’ तारा रेग्मीलाई भने अदालतले १ लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। घटना लगत्तै उनी बेपत्ता भएकी थिइन्। भागेर मलेसिया पुगेकी उनी नेपाल फर्केको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँले माघ २३ गते डिल्लीबजारमा पक्राउ गरी सहअभियुक्तको अभियोग लगाएको थियो। प्रहरीले तारा रन्जनकी प्रेमिका भएको, हत्या अघि र पछि रन्जनसँग सम्पर्कमा रहेको र सोधपूछका लागि खोजी गर्दा भागेर बेपत्ता भएको भन्दै उनलाई मतियारको अभियोग लगाएको हो। गीता हत्यामा उनले योजना बनाउन सहयोग गरेको भन्दै १५ वर्ष कैद सजायको माग गरिएको थियो। ताराले भने रन्जनसँग सामान्य चिनजान भए पनि उनी आफ्नो प्रेमी नभएको र आफू कतै नभागेको दावी गर्दै गीता हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेकी थिइन्।
हत्या गरेको अभियोगमा डिआइजी कोइराला माघ ८ गते नागढुङ्गाबाट पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले सोही दिन अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेपछि उनी न्यायिक हिरासतमा रहँदै आएका थिए।
जिल्ला सरकारी वकीलको कार्यालयले कोइरालालाई सर्वस्व हरणसहित जन्मकैदको माग गरेको छ।
Source: Nagarik