कलेन्द्र सेजुवाल, दशरथपुर (सुर्खेत), माघ २४ – माओवादी सेनाको दशरथपुरस्थित छैटौं डिभिजनबाट बुझेका केही लडाकुहरुले स्वैच्छिक अवकाशबापत चेक बुझे पनि डिभिजनका कमाण्डरहरुले नियन्त्रणमा लिएको आरोप लगाएका छन्। हालसम्म चेक बुझेका करिब चार दर्जन लडाकुहरुको चेक नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ। नाम उल्लेख गर्न नचाहने एक लडाकुले मुख्यालयस्थित ब्रिगेडअन्तर्गत ७ नम्बर बटायिलन कमाण्डर अर्जुनले आफ्नो साढे दुई लाख रुपैयाँको चेक जवरजस्ती कब्जामा लिएको बताए।
‘माथिको आदेश हो भन्दै मेरो हातबाट चेक लगे,’ उनले भने, ‘पछि सल्लाह गरेर दिन्छु भनेका छन्, खै के गर्छन् थाहा छैन।’ उनले बाटो खर्चबापत पाएको रकम भने नलगेको बताए।
लामो समय घर विदामा बसेका, संगठनमा निस्क्रिय भएका र शिविरको सम्पर्कमा नरहेका लडाकुहरुको चेक नियन्त्रणमा लिइएको डिभिजनस्रोतले जनाएको छ। यद्यपि, केही नियमित सम्पर्कमा रहेका लडाकुहरुको चेक पनि नियन्त्रणमा लिइएको छ। त्यस्ता चेकबाट ४० प्रतिशत काटेर बाँकी रकम दिने बताइएको एक लडाकुले जानकारी दिए।
पूर्णझर्नाको ७ नम्बर बटालियनमा कार्यरत जाजरकोटकी डिलसरा बिकले बटालियन कमाण्डर अर्जुनले आफ्नो चेक मागेर राखेको बताइन्। ‘उहाँले एकैपटक साँटेर सामूहिक विदाईको बेला दिने भन्दै माग्नु भएको छ,’ उनले भनिन्, ‘पैसा काटेर दिन्छौँ त भन्नु भएको छैन।’ वर्गीकरणको बेला पाँच लाख बुझ्नेबाट एक लाख कटौती गर्ने भनिए पनि अहिले त्यस’bout थाहा नभएको उनले बताइन्।
डिभिजन सहायक कमाण्डर दुर्गबहादुर चौधरी भने बिगतमा अनुशासन उल्लंघन गरेका केही साथीहरुको चेक नियन्त्रणमा लिइएको हुन सक्ने बताउँछन्। ‘आर्थिक र सांगठनिक अनुशासन उल्लंघन गरेका केही साथीहरुको चेक पछि छलफल हुने गरी लिइएको हुन सक्छ,’ उनले भने, ‘यस’bout आधिकारिक छलफल भएको छैन।’ यद्यपि, डिभिजन स्तरमा यस’bout निर्णय नभएको उनले बताए।
डिभिजन मुख्यालयका सचिव नरबहादुर पुनले भने चेक नियन्त्रणमा लिइएको कुरा हल्लामात्र भएको बताए। ‘चेक जसले बुझेको हो उसैसँग छ,’ उनले भने, ‘कमाण्डरुले आफूसँगै लडाई लडेका साथीहरुबाट चेक खोसेर लिने त कल्पनासमेत गर्न सकिँदैन।’
सुरक्षा व्यवस्था कडा
चेक नियन्त्रणमा लिने क्रमसँगै सोमबार अयोग्य लडाकुहरुले शिविरभित्रै प्रवेश गरी तोडफोड गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले शिविरभित्र र बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेको छ।
यद्यपि, सुरक्षार्थ खटिएका प्रहरीकै सामु मूलगेटमा चेक नियन्त्रणमा लिने काम भइरहेको एक लडाकुले बताए। ‘म बाहिर निस्किँदै थिएँ, मुलगेटमा रहेका प्रहरीकै अगाडि मेरो चेक खोसियो,’ एक लडाकुले भने, ‘अब कसरी सुरक्षाको महसुस गर्ने?’
यसैबीच, तोडफोडको घटनापछि सोमबार नियन्त्रणमा लिइएका ७५ जना अयोग्य लडाकुहरु प्रहरी नियन्त्रणमै छन्। माथिल्लो निकायबाट आदेश नआएकोले उनीहरु थुनामै रहेका प्रहरीले जनाएको छ।
Source: Nagarik