अब्दुल्लाह मियाँ
काठमाडौं, माघ २१ – संविधान निर्माणमा देखिएका विवाद मिलाउन प्रमुख तीन दल आइतबारदेखि नै सक्रिय हुने भएका छन् ।सिंहदरवारमा शनिबार बिहान साना दलको सुझाव दिएपछि तीन दलका शीर्ष नेताहरुले छलफललाई तीब्रता दिने निर्णय गरेका हुन् । साना दलले ठूला दलले गर्ने सहमतिमा आफूहरु सहभोगी बन्ने धारणा राखेका थिए ।
बैठकमा माघ २९ गतेभित्र विवादित विषयमा सहमति जुटाउनेगरी कार्यतालिका संशोधन भएपछि पनि दलहरुले छलफल सुरु नगरेकोमा साना दलले ध्यानाकर्षण गराएका थिए ।
बैठकमा ठूला दलका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन केही दिनभित्रै निचोडमा पुग्ने प्रतिबद्धता जनाएका थिए । ‘सुझावहरु राम्रा छन्,’ साना दलको सुझावपछि दाहालले भनेका थिए, ‘भोलिदेखि परिणाम आउनेगरी छलफल गर्छौं, सहमतिका विषय र असमाधान धारणालाई मिलाउँछौं ।’
एमाले अध्यक्ष झलनाथ खनालले तीन दलबीच विवादित विषयमा सहमति गरी पुनः साना दलसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । आइतबारदेखि नै छलफल गरेर शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली, राज्य पुनर्संरचना आयोगको प्रतिवेदन’bout छलफल गरी विवाद साघुँर्याउने उनले बताए ।
बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले पुनः म्याद थप गर्न नमिल्ने सर्वोच्चको फैसलालाई ध्यानमा राखेर सहमति गर्न आग्रह गरेका थिए । उनले कार्यतालिका संशोधन भएको ६ दिनमात्रै बाँकी रहेको सम्झाउँदै परिणाममुखी छलफल गर्न सम्झाएका थिए ।
बैठकमा सहभागी सवै दलले राज्य पुनर्सरचना आयोगले बुझाएको प्रतिवेदनमा असन्तुष्टि जनाएका थिए । बैठकमा साना दलको तर्फबाट तमलोपा नेपालका महेन्द्र यादव, परिवार दलका एकनाथ ढकाल, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानलगायत १९ नेताले बोलेका थिए ।
Source: eKantipur