चाँदनी हमाल,
चितवन, माघ २०- स्वेच्छिक अवकास रोजेका लडाकुहरुलाई आज दलीय सहमतीमा बनेको प्याकेज अनुसारको चेक हस्तान्तरण कार्य शुरुहुँदै छ। शिविरमा सचिवालयका टोली पुगेको ठाउँमा आज र नपुगेको ठाउँमा भोलीवाट काम थालिने सेनासमायोजन विशेष समिति अन्तर्गतको सचिवालयले जनाएको छ।
चितवनको तेस्रो डिभिजनमा भने आजै थाल्ने तयारी भैरहेको संयोजक बालानन्द शर्माले वताए। जसका लागि केन्द्रवाट १२ जना र शिविर व्यवस्थापन लगायतको गरी १४ जनाको टोली तेस्रो डिभिजन शक्तिखोरमा खटिने छन्।
संयोजक बालानन्द शर्माको नेतृत्वमा मधुविलास पण्डित, शरदचन्द्र शर्मा लगायतको टोली बिहीबार नै चितवन आइसकेको छ। टोलीले करिव १२ दिनभित्र आफ्नो कार्य सक्ने लक्ष्य लिएको संयोजक शर्माले जानकारी दिए।
हरेक शिविरमा खटिएका आठदेखि बाह्र जनासम्म सदस्य खटिएका छन्। टोलीले यसअघि नै दर्जा निर्धारण गरी उनीहरुले पाउनुपर्ने रकमको बन्दोबस्ती गरिसकेको छ। दर्जा अनुसार उनीहरुले पाँच देखि ८ लाखसम्म पाउने छन्। उनीहरुको खातामा सोझै रकम जम्मा गरिनेछ। पहिलो डिभिजनमा शम्भुराम सिंखडा, दोस्रो डिभिजनमा चन्द्रप्रकाश खनाल, तेस्रोमा संयोजक बालानन्द शर्मा, चौथोमा षडानन्द कुर्मी, पाँचौँमा कुलप्रसाद केसी, छैटौँमा दीपक भट्ट र सातौँ डिभिजनमा गोपाल बोहोराले टोलीको नेतृत्व गरेका छन्।
शुक्रवार विहान शिविरका लडाकुहरुसँग छलफल गरेर दिउँसो चेक हस्तान्तरणको कार्यक्रम शुरु गर्ने शिविर व्यवस्थापन समिति चितवनका संयोजक शरदचन्द्र शर्माले बताए। आवश्यक तयारी पुरा भएको विग्रेड कमाण्डर गोविन्दबहादुर वटालाले बताएका छन्। चितवनको शक्तिखोर शिविरमा ३३ सय ५० मध्ये ११ सय ३७ जना स्वइच्छिक अवकास रोजेका लडाकु छन्।
Source: Nagarik