१८ माघ, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भोलि गर्ने भएको छ ।समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरी’bout बिहीबार बिहान सुनुवाइ गर्ने निर्णय गरेको हो ।
आगामी दिनमा हुने नियक्ति समावेशी बनाउने सरकारको प्रतिवद्धतापछि राजदूतहरुको सुनुवाई गर्न लागिएको सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो । समितिले यसअघि राजदूत नियुक्ति समावेशी नभएको भन्दै सुनुवाई गर्न अस्वीकार गरेको थियो ।
सरकारले माघ ३ गते विभिन्न १० मुलुकका लागि नेपाली राजदूत नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको थियो ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरू शङ्करदास वैरागीलाई स्विट्जरल्यान्ड, मुक्तिनाथ भट्टलाई डेनमार्क, रुद्रकुमार नेपाललाई अस्ट्रेलिया, भरतराज पौडेललाई पाकिस्तान, राममणि पोखरेललाई बेल्जियम र रविमोहन सापकोटालाई रुसी महासङ्घका लागि राजदूत सिफारिस गरेको थियो । यस्तै सरकारले कमानसिंह लामालाई दक्षिण कोरिया, मायाकुमारी शर्मालाई कतार, पारस घिमिरेलाई म्यान्मा र प्रल्हादकुमार प्रसाईंलाई इजरायलका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
Source: Onlinekhabar