काठमाडौं, माघ ५ । बेलायतले नेपालको शान्ति प्रकृयाका लागि २० मिलियन पाउण्ड अर्थात् झण्डै साढे दुई अर्ब रुपैँया आर्थिक सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री एन्ड्रियु मिचेलले बिहीबार बिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर सहयोग गर्ने बताएका हुन् ।
काभ्रेको धुलिखेलस्थित हाइभ्यु रिसोर्टमा आरामका लागि पुगेका प्रधानमन्त्रीलाई भेट्न मिचेल होटलमै पुगेका थिए । बेलायतले दिने आर्थिक सहयोग शान्ति मन्त्रालय अन्तर्गतको शान्ति कोष मार्फत खर्च हुने छ ।
विपक्षीको चर्को आलोचना र आफ्नै पार्टीबाट समेत राजिनामाका लागि दबाब आएपछि प्रधानमन्त्री डा.बाबुराम भट्टराई मंगलबारदेखि आराम गर्न काभ्रेको धुलिखेल पुग्नु पुग्नुभएको थियो । दुई दिनको आरामपछि प्रधानमन्त्री भट्टराई बिहीबार काठमाडौं फर्किएका छन् ।