पत्नी पीडितहरू !!


श्रीमान् पीडित श्रीमतीकै हाराहारीमा श्रीमती पीडित श्रीमान् भेटिन थालेका छन् । कति डर, लाज र प्रतिष्ठाले बोल्न सक्दैनन्, भिन्दै कुरा ! समस्या भने चरम हुँदै गएको छ । उनी बत्तीस महिना दुबईमा बिताएर बिदामा घर फर्किए । बुढी आमा, उमेरदार श्रीमती र साना छोरा-छोरी छाडेर पैसा कमाउने आसमा खाडी मरुभूमि गएका थिए । पैसा भए जिन्दगी केही गत्तिलो हुन्छ कि भन्ने लोभले परिवारको माया र यादलाई गाँठो पारेर परदेसिए । दुःख गरे, पैसा घर पठाए । र, दिन गन्दागन्दा बल्ल फर्किएर आउन पाए । ‘बाबु आयौ ?’ छिमेकीले बाटैमा सोधे, ‘कति पैसाको पछि लाग्छौ ? परिवार पनि हेर न ! ”ए तिमी आयौ ?’ ढोकाबाट पस्ने बेला अर्का छिमेकीले भने, ‘ठीक गर्‍यौ ! ‘उनी घर गए, परिवारसँग रमाए । दिन बित्दै गए । हरेक छाक श्रीमती खाना पकाएर हटकेस पछ्यौराले छोप्दै कसैलाई पुर्‍याउन जान्थिन् । एक दिन उनले सोधे- ‘यो कसलाई लगेको ?’

‘तल डेरामा बस्ने भाइ एक्लै छन्’, उनले भनिन्, ‘कहिलेकाहीं खाना दिने गरेको छ ।’

उनले सामान्य रूपमा लिए । तर, एक दिन/दुई दिन गदै रहस्य खुल्यो । उनको अनुपस्थितिमा डेरावाल र मालिक्नीबीच अर्कै किसिमको सम्बन्ध विकास भइसकेको रहेछ । केही प्रमाण भेट्टाए । तीमध्ये एउटा एसएमएस यस्तो थियो- ‘मेरो धुर्मुस ! म तिमीबिना एक दिन त परै जाओस्, एक मिनेट पनि बाँच्न सक्दिन !’

कुरा बुझ्दै गए । आमा, छोराछोरी, छरछिमेकी, अरू डेरावाल कसलाई थाहा छैन रहेछ र त्यो कथा ! त्यही भएर त आउँदा आउँदै छिमेकीहरू भन्दा रहेछन्, ‘परिवार पनि हेर न !’

सासुलाई बोलाएर परामर्श गरे । ‘मलाई पनि पहिल्यैदेखि थाहा थियो,’ उनले भनिन्, ‘सके राख्नुस्, नसके छोडिदिनुस्, मेरी छोरी मरी भन्ने ठानुँला !’

उनले बालबच्चाको भविष्य हेरे । सम्झाएर सुध्रने भए मिल्ने प्रयत्नमा लागे । समस्या ‘माइती नेपाल’ पुग्यो । माइती नेपालकी अनुराधा कोइरालाले त्यो केटासँगको सम्बन्ध छोड्ने सहमति गराई फिर्ता पठाइदिइन् ।

फर्केर घरमा पूजा लाए । दक्षिणकाली गएर ती महिलाले ‘अब त्यस्तो हुँदैन’ भनी कसम खाइन् । त्यसको भोलिपल्ट उनी फेरि काममा दुबई फर्किए ।

कसम खाए पनि, पूजा लाए पनि मनको शंका कसरी उडोस् ! तीन महिना नभई उनी अलि राति पारेर खबरै नगरी घर फर्किए । पस्दापस्दै दुवै जनालाई आफ्नो कोठामा आपत्तिजनक अवस्थामा फेला पारे । तत्काल प्रहरी बोलाए । अस्पताल लगेर परीक्षण गराए । अस्पतालले पनि प्रमाणपत्र दियो- ‘भर्खरै यौन सम्पर्क भएको छ ।’

अब भने उनी सम्झौता गर्न नसक्ने अवस्थामा पुगे । प्रहरीले पनि भन्यो, ‘छोडपत्र गर्नुस् र उसैलाई जिम्मा लाइदिनुस् ।’ उनले भने माइती नेपालमा परामर्श गर्न चाहे । त्यहाँबाट भनियो, ‘छोडपत्र गर्न प्रहरीले वर्षौं लाइदिन्छ, यता आउनुस्, हामी तत्काल गराइदिन्छौं ।’ तीनै पक्ष त्यहाँ पुगे । अर्को दिन केटो गायब भयो । अनि, त्यहाँ उनलाई भनियो, ‘छोडपत्र गर्ने भए यिनलाई ५ लाख दिनुस् ।’

‘अहिलेसम्म जोड्दा १२ वर्ष विदेश बसें । धेरै दुःख गरें’, राजधानीको राम्रो ठाउँमा घर भएका उनी तर्र आँसु झार्दै भन्छन्, ‘पठाएको पैसाको कुनै लेखाजोखा छैन । त्यो केटालाई मोटरसाइकल किनिदिछे, घरको धनीपूर्जा पनि एक ठाउँ राखेर तीन लाख निकालेछन् । म कमाउने, ऊ उडाउने ! सबै सहें, फेरि ५ लाख दे भन्दा मनले फिटिक्कै मानेन ।’

अब त्यो केटा गायब छ । माइती नेपालले श्रीमतीलाई पनि घरै पठाइदियो । भिन्दाभिन्दै कोठामा तनावपूर्ण जिन्दगी बितिरहेछ उनीहरूको ।

कतारबाट एउटा भाइको फोन आयो ।

‘मेरी श्रीमती अर्कैसँग लागेकी छ रे । राम्ररी बुझेर खबर गर्नु न !’, रुँदै उसले भन्यो ।

‘धत्, फटाहा !’ मैले गाली गरें, ‘श्रीमतीलाई बित्थामा शंका गरेर हुन्छ ? कसैलाई रिस उठेर हल्ला गरिदियो होला !’

‘होइन दाजु !’, झन् रुँदै उसले भन्यो, ‘पक्कै हो । पत्याउने मान्छेले भनेको, तपाईं पनि बुझिदिनु न !’

सोच्दैछु, कसरी बुझिदिने होला उसको कुरा ! कति जटिल काम आइलागेको मलाई पनि ! नबुझ्नु भने ऊ आशा गरिरहेको होला, बुझ्नु भने कसलाई सोध्नु ? के भनेर सोध्नु ?

हाम्रो देशमा श्रीमान् पीडित महिला धेरै छन् । श्रीमती हुँदाहुँदै अर्की युवतीसँग घनिष्ठता बढाउने, बाहिर अर्की महिला राख्ने, घरमै सौता ल्याउनेजस्ता पुरुषका करतुत सुनिँदै-देखिँदै आएका हुन् । तर, वर्तमान समाजलाई हेर्ने हो भने महिलामा पनि त्यही खाले रोग सर्दै गएका प्रशस्त उदाहरण पाइन्छन् । श्रीमान् पीडित श्रीमतीकै हाराहारीमा श्रीमती पीडित श्रीमान् भेटिन थालेका छन् । कति डर, लाज र प्रतिष्ठाले बोल्न सक्दैनन्, भिन्दै कुरा ! समस्या भने चरम हुँदै गएको छ ।

विदेशबाट फर्केको पाँचौ दिन अर्को एउटा साथी मलाई भेट्न आयो । अँध्यारो अनुहारमा देखिएको उसले बसेर टाउको कन्यायो ।

‘के भयो ?’ मैले सोधें, ‘सञ्चो छैन कि क्या हो ?’

‘ठीकै छ’, उसले भन्यो, ‘खास केही भएको छैन ?’

‘खासचाहिँ किन भनेको नि ?’ मैले जान्न चाहेँ ।

‘खास कुरो…’, उसले फेरि टाउको कन्यायो । भन्न सकेन ।

‘भन न भन’, मैले भनें, ‘मैले पो केही सहयोग गर्न सक्छु कि ?’

‘एउटा एसएमएस देखाउँछु’, उसले मोबाइल झिक्यो ।

‘माई डियर डार्लिङ, म तिमीबिना आजको रात नै बाँच्न नसक्ने भइसकें । म अहिले लिन आउँछु, नाई नभन है’, त्यसमा यस्तो लेखिएको थियो ।

‘कसको एसएमएस ?’ मैले सोधें ।

‘मध्यराति श्रीमतीलाई आएको !’ उसले भन्यो, ‘भन त अब म के गरुँ ?’

कत्रो आशाले मकहाँ आएको उसलाई मैले के गर भन्नु ? के सल्लाह दिनु ?

बरु मनमन सोचें- कति बढ्न थाले हाम्रो देशमा श्रीमती पीडित पनि !

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.