खोइ साढेदुई अर्बको संविधान ???


– प्रभात भट्टराई

संविधानसभाको गठनदेखि २०६८ वैशाखसम्म सभासद् र पदाधिकारीहरूको तलब, भत्ता, औषधोपचार, पानी-बिजुली, सञ्चार महसुल, भाडा, सवारी-इन्धन, भ्रमण जस्ता शीर्षकमा रु.१ अर्ब ९७ करोड तथा कर्मचारीका लागि रु.६० करोड गरी साढे दुई अर्बभन्दा बढी खर्च भएको छ । संविधानसभा बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडामा मात्रै रु.३२ करोड ७७ लाख खर्च भएको छ, जुन बर्सेनि बढ्ने हुनाले संविधान बनाउन जति ढिला गर्‍यो त्यति नै बढ्दै जानेछ। व्यवस्थापिका-संसद् सचिवालयले अत्यन्त गोप्य राखेको यो खर्चको विवरण फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार माग गरेपछि उपलब्ध भएको हो।

दुई वर्षमा एक-डेढ अर्ब खर्च गरेर संविधान बनाउने लक्ष्य अनुसार काम शुरु गरेको संविधानसभाले तीन वर्षमा त्यसको दोब्बर खर्च गरिसकेको छ भने चौथो पटक थपिएको ६ महिनाभित्र संविधान बनाएको खण्डमा पनि यो खर्च तेब्बर नाघ्न सक्छ। यसबाहेक विभिन्न दातृराष्ट्र, निकाय, राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आ-आफ्नै तरिकाले संविधानसभाकै लागि गरेको खर्च समेत जोड्दा त कता हो कता धेरै हुनेछ। संविधानसभाअन्तर्गत शान्तिकोषका लागि फिनल्यान्ड र नर्वेले मात्रै रु.६७ करोड ८ लाख सहयोग गरेका छन्।

सभासद्हरूले गएको वैशाखसम्ममा तलब मात्र रु.९४ करोड ३७ लाख बुझेका छन्। हरेक आर्थिक वर्षमा लक्ष्य अनुसार तलब नपुगेर रकमान्तर गर्दै थप्नु परेको छ। संविधानसभा गठनको पहिलो आव २०६४/६५ मा सभासद्को तलबका लागि रु.५ करोड ३४ लाख तथा सभामुख-उपसभामुखको तलबका लागि रु.४ लाख ३८ हजार रकमान्तर गरिएको थियो। यसैगरी अन्य क्षेत्रको बजेट कटाएर सभासद्को तलबका लागि आ.व २०६५/६६ मा रु.१७ लाख ५० हजार र २०६६/६७ मा १ करोड ६१ लाख थप्नु पर्‍यो। तलबबाहेक सभासद्हरूले भत्तामा रु.१५ करोड र कार्यक्रम भ्रमणमा रु.५ करोड ९ लाख सिद्ध्याएका छन्।

फ्रिडम फोरमका अध्यक्ष दाहाल सभासद्हरूले जिम्मेवारीअनुरुप काम नगरी तलब-भत्ता मात्र खाइरहनुलाई राजनीतिक तथा आर्थिक भ्रष्टाचार ठान्छन्। “राजनीतिक दलहरूको जिम्मेवारी र जवाफदेही विहीनताको यो बलियो प्रमाण हो”, उनी भन्छन्, “कुनै नैतिकवान व्यक्तिले यसरी काम नगरी तलब-भत्ता खाएर मुलुकलाई अनावश्यक आर्थिक बोझ् थोपर्न सक्दैन।”

रु.५० हजारभन्दा बढीको उपचार गराउने सभासद्  संविधानसभाले अहिलेसम्म गरेको खर्च पश्चिम तराईको ५० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने बाँकेको सिक्टा र कैलालीको रानीजमरा-कुलरिया सिंचाइ आयोजनालाई यस आर्थिक वर्षमा छुट्याएको बजेटभन्दा ५० करोड बढी हो। संविधानसभाले एक-डेढ अर्बको खर्चमा संविधान बनाएर बाँकी पैसा यी आयोजनामा लगानी गरेको भए प्रशस्त धान हुने तर सिंचाइ नभएको यो क्षेत्रमा मात्रै वार्षिक ३५ लाख टन धान फल्थ्यो। यो वर्ष देशभर ५० लाख टन धान फल्दा पाँच प्रतिशतको आर्थिक वृद्धि सम्भव देखिएको अवस्थामा पश्चिम तराईको उत्पादन वृद्धिले मुलुकको धान उत्पादन ८० लाख टन र वार्षिक आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी हुन्थ्यो भन्ने विज्ञहरूको धारणा छ।

रोगी सभासद्!

संसद्को खर्च विवरणले संविधानसभाका ३५ प्रतिशत सभासद्लाई रोगी देखाएको छ। ’cause, ६०१ सभासद्मध्ये २१४ ले विभिन्न रोगको उपचार गरेको बिल पेश गरेर संविधानसभाबाट रु.६२ लाखभन्दा बढीको औषधोपचार खर्च लिएका छन्। संविधानसभाबाट पाँच सभासद्ले रु.१ लाखभन्दा बढी र सात सभासद्ले रु.५० हजारदेखि रु.१ लाख औषधोपचार खर्च लिएका छन्। सबैभन्दा धेरै लिनेमा संविधानसभाका वृद्ध सदस्य कुलबहादुर गुरुङ छन्। इलाम-३ मा नेपाली काङ्ग्रेसबाट निर्वाचित उनले २९ मङ्सिर २०६७ मा लिएको उपचार खर्च रु.४ लाख ८१ हजार ५०१ छ। यसैगरी काङ्गे्रसबाटै निर्वाचित काठमाडौं-४ की सुप्रभा घिमिरेले ९ पुस २०६७ मा रु.३ लाख ४ हजार ३६६ लिएकी छन्।

उपचार खर्च लिनेमा ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर गरिएका तर कारबाही नभएका ‘खलढुङ्गाका मा’वादी सभासद् बालकृष्ण ढुङ्गेल पनि छन्। उनले २०६६ साउन र माघमा गरी रु.७२ हजार ६८० बुझ्ेका छन्। मृत्यु भएका चार सभासद् रामकुमारी देवी साह, डम्बरबहादुर खड्का, दामोदर चौधरी र गौरीशङ्कर खड्काको कुल रु.२ लाख ६४ हजार ५८५ रुपैयाँको औषधिउपचार खर्च पनि व्यहोरिएको व्यवस्थापिका-संसद् सचिवालयको विवरणमा उल्लेख छ।

Source: HimalKhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.