खुरुक्क मिलौँ, जुरुक्क उठौँ !


– निर्मल कुमार आचार्य

घर झगडा नमिलेसम्म तगडा नहोइने आत्मज्ञान ढिलै भए पनि नेकपा एमालेमा जाग्नथालेको छ । विगत केही महिनायता नेतृत्वबीच ङ्यारङ्यार ङुरङुर कम हुनुले नै शुभलक्षण देखाएकै हो, त्यसमाथि आपसी मनमुटाउलाई तिलाञ्जलि दिन थालिएको पछिल्लो प्रयासले सकारात्मक मोड लिने अपेक्षा गरिएको छ । एमाले अध्यक्ष झलनाथ खनाल तथा नेता के.पी. ओलीबीचको सन्निकटता र बढ्दो आत्मीयताले पार्टी संयन्त्रलाई बलियो बनाउन मद्दत पुर्‍याउनेमा शङ्का रहँदैन । आफ्नै पार्टीको सरकार ढाल्न न्वारानदेखिको बल लगाउँदै आएका नेताहरू सत्ताबाट हुर्रिएपछि नै सही मेलमिलापका बाटामा लाग्नुलाई लोकतान्त्रिक सुदृढीकरणका सन्दर्भमा साधुवादको विषय मान्नुपर्छ ।

शान्ति, संविधानको टुङ्गो लाग्नथालेका बेलामा पार्टीभित्र रडाको मच्चिइरहनुलाई कसैले उचित ठहर्‍याउन सक्दैन । निर्णायक घडीमा सही अडान लिन पनि आन्तरिक एकता अपरिहार्य हुन्छ । समयसीमाभित्र शान्ति, संविधानको कार्यले पूर्णता पाएपछि हुने महानिर्वाचनमा आन्तरिक किचलोले के कति असर पार्नसक्छ भन्ने एमालेलाई राम्रो थाहा छ । फेरि उही टुटफुटजन्य तीतो इतिहास दोहोरिन नदिन एमाले सचेत बन्नुलाई सामयिक चेतकै बिन्दु मान्नुपर्छ ।

चेतनाको कमी यतिखेर एनेकपा माओवादी तथा नेपाली काङ्गेरसमा देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) र उपाध्यक्ष मोहन वैद्य-किरण) ३६ कै आँकडामा रहिरहने हो भने ‘काम कुरो एकातिर, कुम्लो बोकी अन्तैतिर’को यात्रामा निस्कनुपर्ने अवस्था आउनसक्छ । उता काङ्गे्रस सभापति सुशील कोइराला तथा नेता शेरबहादुर देउवा ‘मेरो गोरुको बाह्रै टक्का’ प्रवृत्तिबाट टसको मस नभएमा परिणति अत्यन्त लज्जास्पद तथा कलङ्कपूर्ण साबित हुनेमा विमति रहोइन ।

फुटेर होइन, जुटेर मात्र सफलताको चुरो हात पार्न सकिने यथार्थ मनन गरी यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी जस्ता साना पार्टी मिलनयात्रामा लागेका छन् भने यसमा अन्य दलसमेत समेट्ने प्रयास जारी छ । राजनीतिक सुदूरपूर्वको यात्रा भरपर्दो बनाउन ससाना पार्टी गाभिन थालेको दृश्यबाट समेत ठूला नेतागणमा होस् नजाग्नुलाई आश्चर्यकै पक्ष ठान्नुपर्छ ।

राजनीतिक अन्योल, अनिश्चितता र अस्थिरता अन्त्य गर्न शान्ति, संविधान निर्माणका दिशामा एकातिर सार्थक पहल भइरहेका छन् भने अर्कोतिर जनान्दोलनकारी प्रमुख शक्तिभित्रै असीम द्वन्द्व समाधानको मार्ग बेपत्तिनुले आशङ्का नमेटाएको वस्तुस्थिति छ । शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन लडाकू समायोजन, व्यवस्थापनतर्फ कार्यगति उत्साहजनक हिसाबमा बढ्नुलाई आम नेपालीले मात्र होइन, विदेशीले पनि त्यत्तिकै सराहेका छन् । वि.सं.२०६९ जेठ १४ गतेभित्र नयाँ संविधान जारी गर्न कार्यतालिकासमेत पारित गरेर राजनीतिक दलले अपेक्षित दिशातर्फ आˆनो अग्रसारिता देखाएका छन् । तैपनि शान्ति, संविधानको महान् गन्तव्य प्राप्त हुनेमा जनसाधारण ढुक्क बन्नसकेका छैनन् । खासगरी माओवादी तथा काङ्गे्रसका समूहगत विभेद, दूरी एवं दन्तबझानले स्थिति ‘सत्यम्, शिवम्, सुन्दरम्’ परिलक्षित हुन दिएको छैन ।

दलभित्रका रनाहा चम्कन दिई त्यसलाई तापेर बस्ने अवस्था अहिले पटक्कै छैन । सम्मानित सर्वोच्च अदालतले एकपल्ट मात्र संविधानसभाको म्याद बढाउन दिएकाले चाहेर वा नचाहेर पार्टीपङ्क्ति एक हुनैपर्ने अवस्था छ, अन्यथा दलका घरेलु झगडाले मुलुक र मुलुकबासीको शान्ति, संविधानको सपना धरापमा पर्नबाट कुनै माइका लालले रोक्नसक्ने छैन । शान्ति, संविधानका नाममा त्यत्रो ‘महाभारत’ गरेर, जनतासामु करुण रसप्रधान विशद रामायण सुनाएर संविधानसभामा पुगेका नेतागणले अन्तिम घडीमा पुगी धोका नदिएमा शङ्कै छैन-यसपालि नयाँ नेपालका लागि शान्ति, संविधानका दुवै दैला अवश्य उघि्रनेछन् ।

नेपालको शान्ति, संविधानको सफलता दुनियाका लागि नमुना बन्नेछ । नेपाली स्वयं शान्ति, संविधान निर्माणका निम्ति सक्षम रहेको उदाहरण प्रस्तुत हुनेछ । प्राप्त शान्तिलाई दिगो बनाउन र संविधानलाई बढी लोकतान्त्रिक, समावेशी तथा जनसहभागितामूलक तुल्याउन नेतृत्व वर्ग सतत क्रियाशील हुनैपर्छ । राजनीतिक प्रगतिले मात्र मुलुकको आवश्यकता पूरा हुन नसक्ने भएकाले आर्थिक क्रान्तिको बाटो पनि फराकिलो पार्दै लानु छ । जलस्रोत तथा पर्यटनलाई मात्र आधार बनाई अघि बढिएमा पनि केही वर्षभित्रै मुलुकको कायापलट हुनसक्छ । स्वदेशी, विदेशी लगानी बढाइएका खण्डमा विद्युत् उत्पादनबाट मात्रै मुलुक बुर्कुसी मार्दै कहाँको कहाँ पुग्नसक्ने कुरालाई नेतृत्व वर्गले चरितार्थ पार्न पछि पर्नु हुँदैन ।

मुलुकलाई अब नारा र भाषण होइन, काम, काम र केवल कामको खाँचो छ । औद्योगिक वातावरण कायम गर्नासाथ लगानी ओइरिनेछ । जलविद्युत्का क्षेत्रमा एकचोटि लगानी गरेकाले केही वर्षमै त्यसको खर्च उठाई निःशुल्क पानीबाट बर्सेनि लाभ मात्रै हासिल गर्दै जाने भएकाले यो जस्तो लगानीको सुन्दर माध्यम अर्को हुनसक्दैन । पर्यटन प्रवर्द्धनका प्रयासले पनि सुनमा सुगन्ध थप्नेछ । गत वर्ष जनवरी १२ तारिखका दिन संयुक्त राज्य अमेरिकाले आˆना नागरिकलाई नेपाल भ्रमणमा नजान गरेको सूचना हाल फेरेको छ । नेपाल शान्तिका बाटामा लम्कनलागेको देखेरै अमेरिकाले ढुक्क भई नेपाल भ्रमणमा जान आहृवान गरेको हो । अमेरिकाकै केवल न्युज नेटवर्क -सीएनएन) ले आˆनो अनलाइन संस्करणमा विश्वका उत्कृष्ट १२ गन्तव्यस्थलमध्ये नेपालको ‘नाम्जे’ गाउँलाई लिनु यतिखेर हर्षको विषय बनेको छ । धरान-धनकुटा सडकखण्डको भेडेटारबाट पूर्वतिर अवस्थित नाम्जे गाउँलाई सूर्योदय तथा सूर्यास्तको दृश्य अवलोकनका लागि जानैपर्ने ठाउँ जनाइनुले नेपालको पर्यटकीय महìव झन् उजेलिएको छ ।

यस्ता उदाहरण अनेक छन्, जसले नेपाल र नेपालीको अभ्युत्थानका निम्ति अभूतपूर्व योगदान गर्नसक्छन्, आवश्यकता केवल राजनीतिक इच्छाशक्तिको हो र त्यो इच्छाशक्ति बेमेल तथा द्वन्द्वको धरातलमा हुर्कन सक्दैन । तसर्थ राजनीतिक नेता गण अब अति भइसक्यो, खुरुक्क मिलौँ, देश निर्माणका लागि शान्ति, संविधानसँगै जुरुक्क उठौँ !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.