कति सुरक्षित छन् हाम्रा अस्पतालहरु


– श्रीरामसिंह बस्नेत

नेपालका अधिकांश अस्पताल भवनहरू भूकम्प, आगलागीजस्ता प्रकोपका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका छन् ।नेपालमा सबै जिल्लामा गरी करिब २०० वटा सरकारी व्यवस्थापनका स्वास्थ्य उपचार केन्द्रहरू छन् । तीमध्ये ८० प्रतिशत उपचार केन्द्रहरू ठूलो भूकम्प आयो भने उपचार सेवा सुचारु गर्न नसक्ने अवस्थामा पुग्नेछन् ।

 सन् २००२ मा स्वास्थ्य मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठन र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) द्वारा संयुक्तरूपमा उपत्यकाभित्र र बाहिरका गरी १४ वटा सरकारी अस्पतालमा गरिएको प्राविधिक अध्ययन विश्लेषणबाट यो स्थिति’bout थाहा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा सेनेन्द्रराज उप्रेती बताउनुहुन्छ । भूकम्प वा ठूला प्रकोपमा मानिसको सबैभन्दा बढी चाप अस्पतालमै पर्ने तर अस्पताल आफैँ सुरक्षित नरहने स्थिति ज्यादै चिन्ताजनक भएको उहाँ बताउनुहुन्छ । यही स्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेटमा सरकारी अस्पतालको भवन सवलीकरण (रेट्रोफिट) गर्नका लागि रु ५० करोड प्रस्ताव गरिएको र हरेक वर्ष यो शीर्षकमा बजेट प्राप्त भएमा सरकारी अस्पताल भवनहरूलाई क्रमशः जोखिममुक्त बनाउँदै लान सकिने डा उप्रेतीको धारणा छ ।

भवनहरू सुरक्षित बन्नुपर्छ भन्ने उद्देश्यले लामो प्रयासपछि २०६१ सालमा नेपालमा भवन संहिता (बिल्डिङ कोड) लागु भयो । तर त्यो भवन संहिता जति गम्भीररूपमा कार्यान्वयन हुनुपर्ने हो, सोअनुरूप नभएकाले पनि सरकारी भवनहरू अपेक्षितरूपमा बलियो नहुने गरेको पाइएको छ ।   अस्पताल भवनको सन्दर्भमा त भवन संहितामा स्पष्ट केही उल्लेख नभएकाले झन् अप्ठेरो परेको बताइन्छ । अस्पताल भवन’bout भवन संहितामा स्पष्ट उल्लेख नभएकोले सामान्य भवनभन्दा डेढगुणा बढी बलियो बनाउने भन्ने हचुवा नीति अपनाइएको केही प्राविधिकहरू बताउँछन् । तर एनसेटका इन्जिनियर विजय उपाध्याय भवन संहितामा अस्पताल भवन, विद्यालय भवन आदि भनेर बेग्लाबेग्लै उल्लेख नगरिए पनि सबैखालका भवनलाई आवश्यक पर्ने आधारभूत कुराहरू उल्लेख छन्, त्यसैका आधारमा कति क्षमताको कस्तो अस्पताल बनाउने हो सोहीअनुरूप इन्जिनियरहरूले डिजाइन प्रक्रियामै भवनको बलियोपन निर्धारण गरी सोहीअनुरूप निर्माण गर्न सक्ने धारणा राख्नुहुन्छ । सरकारले हरेक वर्ष विभिन्न स्तरका नयाँ स्वास्थ्य उपचार सेवा केन्द्रहरूको निर्माणमा करिब रु तीन अर्ब लगानी गर्ने गरेको छ । तर प्रकोप जोखिमको दृष्टिले ती नयाँ भवनहरू कत्तिको भरपर्दा छन् भन्ने कुराको कुनै निश्चित आधार छैन । यस्ता स्वास्थ्य भवनहरूको निर्माण भवन संहिताअनुरूप नहुनु, निर्माणको चरणमा पर्याप्त निगरानी नहुनु र ठेकेदारको विवेकमा नै धेरै कुरा भरपर्नु आदि कारणले यस्ता अत्यावश्यक सेवाका भवनहरू अपेक्षितरूपमा सुरक्षित हुन नसकेको पाइन्छ ।

भूकम्प, आगलागी, भीषण बाढी, पहिरोजस्ता ठूला प्रकोपमा घरवास गुमाउनु परे पनि घाइतेहरूको ज्यान बचाउने आश्रयस्थल उपचार केन्द्रहरू नै हुन् । त्यसैले जस्तोसुकै प्रकोपमा पनि यी उपचार केन्द्रका सेवा अवरुद्ध हुनुहुँदैन । नेपालमा विभिन्न स्तरका स्वास्थ्य उपचार केन्द्रहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ । सन् २००२ सम्म १४ वटा मात्र अस्पताल भएको काठमाडौँ उपत्यकामा अहिले त्यस्ता अस्पतालको सङ्ख्या ५० नाधिसकेको छ । तर ती अस्पतालहरूको भौतिक अवस्था हेर्ने हो भने ठूलो भूकम्प नै पर्खिरहनुपर्ने स्थिति छैन ।           गैरसरकारी वा निजी क्षेत्रका विभिन्न स्तरका अस्पताल, मेडिकल कलेज आदिलाई सञ्चालनको स्वीकृति दिँदा तिनको भवनलगायतका भौतिक स्थितिलाई खासै ध्यान दिने गरेको पाइँदैन । राजनीतिक र आर्थिक आधारमा नै सबै निर्णय हुने गरेकाले जोखिम न्यूनीकरणको पक्ष गौण बन्ने गरेको छ । यसले गर्दा कुनै दिन ठूलै विपत्ती भोग्नु पर्ने वा पछुताउनु पर्ने अवस्था नआउला भन्न सकिँदैन ।

काठमाडौँ उपत्यका भित्रका सरकारी अस्पतालहरू मध्ये शिक्षण अस्पताल महाराजगन्जको भवन तुलनात्मकरूपमा सुरक्षित मानिन्छ । यदि पानी, बत्ती, सञ्चार, यातायात, चिकित्सा जनशक्ति परिचालन आदि चुस्तदुरुस्त रहने हो भने काठमाडौँ उपत्यकामा ठूलो भूकम्प आए पनि सो अस्पतालको सेवा अवरुद्ध नहुने अपेक्षा गरिएको छ । अस्पताल भवन धेरै तलाको, अग्लो, साँघुरो हुनु जोखिमपूर्ण    मानिन्छ । भूकम्प, आगलागीजस्ता प्रकोपका बेलामा यस्ता अग्ला भवनका लिफ्टले काम गर्दैनन्, गरे पनि त्यस्तो अवस्थामा लिफ्ट प्रयोग गर्नु स्वयम् खतरा निम्त्याउनु हुनजान्छ । सामान्य अवस्थामा पनि बिरामी, चिकित्सक आदिको सुविधालाई दृष्टिगत गर्दा धेरै तलाको अग्लो अस्पताल भवनभन्दा थोरै तला, अझ भूइँतलाको मात्र अस्पताल व्यवहारिकरूपमा बढी सहज र उपयोगी हुन्छ । झन् आपत्काल वा प्रकोपको अवस्थामा त अस्पताल भवनहरूको अग्लो संरचना नै एउटा जटिल समस्या बनिदिन्छ । भूकम्पीय जोखिमलाई ध्यानमा राखी आफ्नो भवनलाई सवलीकरण गर्ने काठमाडौँ उपत्यकाको एकमात्र अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालय हो । यसैगरी अस्पतालहरूले आ–आफ्नो भवनको अवस्था’bout प्राविधिक मूल्याङ्कन गराई आवश्यक सवलीकरण गराएमा ठूलो प्रकोपमा हजारौँ पीडितलाई सेवा प्रदान गर्न सक्ने, अन्यथा आफैँ भत्किएर सेवा दिन नसक्ने लाचार अवस्थामा पुग्नुपर्ने इन्जिनियर महेश नकर्मी बताउनुहुन्छ ।    अस्पताल भवन रेट्रोफिट गर्ने विचार कसरी आयो भनी क्षत्रपाटी अस्पतालका अध्यक्ष विजय मालीसँग जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ– ‘हामीले समुदायिक स्तरमा प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी तालिम तथा साप्ताहिक कार्यक्रमहरू सञ्चालन ग¥यौँ, त्यही क्रममा रेट्रोफिटको महत्व थाहा भयो, अनि हामीले त्यसलाई अपनायौँ ।’

रेट्रोफिट गर्नु कत्तिको खर्चिलो हुन्छ भन्ने सन्दर्भमा उहाँले भवनको अवस्थामा त्यसको रेट्रोफिट खर्च भर पर्ने बताउँदै सालाखाला नयाँ भवन बनाउन लाग्ने खर्चको ४० प्रतिशत खर्चमा भरपर्दो रेट्रोफिट गर्न सकिने उल्लेख गर्नुभयो । उहाँ नेपालका बनिसकेका अस्पताल भवनमात्र होइन सबै किसिमका सार्वजनिक भवनहरू र सम्भव भएसम्म निजी घरहरू पनि रेट्रोफिट गर्नु अति आवश्यक ठान्नु हुन्छ । अस्पतालहरूमा प्रकोप एवम् चिकित्साजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यमा सक्रिय रहनुभएका इन्जिनियर नकर्मी क्षति धेरै हुने सम्भावना भएका अस्पताल भवनहरूको रेट्रोफिट अविलम्ब गर्नुपर्ने र नयाँ बन्ने अस्पताल भवनहरू अनिवार्यरूपमा सम्भव भएसम्म जोखिमरहित ढङ्गले निर्माण गरिनुपर्ने धारणा राख्नुहुन्छ ।

सरकारी भवनहरू अरू भवनभन्दा बलियो र जोखिमरहित हुनुपर्नेमा त्यसको उल्टो हुने गरेको सन्दर्भमा जिज्ञासा राख्दा उहाँ निर्माणको सुपरीवेक्षण तथा निरीक्षण स्वतन्त्र एवम् निष्पक्ष विज्ञहरूबाट गराउने परिपाटी हुनुपर्ने र गलत प्रतिवेदन दिने वा तोकिएको मापदण्ड पूरा नगरिकन निर्माण गर्ने र त्यस्तो निर्माणलाई अनुमोदन गर्ने सम्बन्धित जिम्मेवार व्यक्ति वा संस्थाविरुद्ध मुद्दा लाग्ने र दोषी ठहरिएमा क्षतिपूर्ति समेत भराउने व्यवस्था हुनु जरुरी भएको बताउनुहुन्छ ।

नयाँ बन्ने अस्पताल वा स्वास्थ्य उपचार भवनलाई भरपर्दो बनाउन भवन संहिताको पूर्णपालना गर्नुका साथै गुणस्तरीय र बलियो निर्माणका लागि गर्नुपर्ने सबै उपायहरू बिना कुनै कैफियत अपनाउनु अपरिहार्य छ । यसका साथै बनिसकेका त्यस्ता भवनहरूलाई रेट्रोफिट गरी जोखिम न्यूनीकरण गर्नेतर्फ सरकार र सम्बन्धित निकायले उच्च प्राथमिकता दिनु अत्यावश्यक छ । अन्यथा लाखौँ सर्वसाधारणको जीवनसँगको खेलवाड अर्थात् जघन्य अपराध हुन जानेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.