शिशुको बाबु पत्ता लगाउन डीएनए परीक्षण


– नरेन्द्र रौले

 दृश्य १:    डीएनए परीक्षण गराउन खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोशालामा पुगेका बाबु-छोराबीच त्यहीं कुटाकुट भयो। डिल्लीबजार निवासी ती बाबु भन्थे, ‘तिमी मेरो छोरा होइनौ।’  छोरा भन्थे, ‘मेरो बाबु तपाईं नै हो।’ आमाले पनि छोराकै पक्ष लिइन्। घरमा लामै समय कलह मच्चिरह्यो। तीन पटक त डीएनए परीक्षण गरियो। केस पुलिसले नियन्त्रणमा लिनुपर्ने अवस्था आयो। अन्ततः उनी सही बुबा नभएको पत्ता लाग्यो।

दृश्य २:      नेपालमा डीएनए परीक्षण गर्ने प्रविधि सुरु नहुँदै राष्ट्रिय विधि विज्ञान प्रयोशालाका विशेष वैज्ञानिकलाई सातदोबाटोकी एक महिलाले लगातार सोधिरहिन्, ‘नेपालमा यो प्रविधि कहिले  भित्रिन्छ ?’ केही वर्षपछि जब उपकरणहरू आइपुगेको खबर -पत्रपत्रिकामा) उनले पढिन्। फेरि तिनै वैज्ञानिकसँग जिज्ञासा राखिन्, ‘अब कहिलेदेखि परीक्षण सुरु हुन्छ ?’ यसरी लगातार  जिज्ञासा राख्नुका पछाडिको कारण थियो, श्रीमान्को यातना। उनीबाट जन्मिएको शिशुलाई श्रीमान्ले ‘यो मेरो होइन भन्थे।’ महिला ‘हो’ भनेर जिकिर गर्थिन्।

दृश्य ३:       काठमाडौंका साजन सुवेदी र बुटवलकी नीलिमा ज्ञवालीबीच पाँच वर्ष प्रेमसम्बन्ध चल्यो। एक गैरसरकारी संस्थामा कार्यरत सुवेदीले आफूहरूबीच शारीरिक सम्बन्ध भएको स्वीकार  गरे। तालिम र सेमिनारमा भाग लिन उनी बेलाबेला विदेश पनि हानिन्थे। उनी विदेश रहेकै बेला यता काठमाडौंमा प्रेमिकाले शिशु जन्माइन्। जब सुवेदी फर्किए, उनले त्यो शिशु  आफ्नो नभएको बताए। यसै विषयमा उनीहरूबीच विवाद भयो र अन्ततः सम्बन्धको अन्त्य हुने मोड आयो।

पछील्लो समय खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोशालामा डीएनए परीक्षणका लागि आएका यी केही प्रतिनिधि घटना हुन्। तीन फरक घटना र फरक परिवेशले हाम्रो समाजको  बदलिँदो स्वरूपको झझल्को दिन्छ। यस्ता थुप्रै केस परीक्षणका लागि आउने क्रम बढिरहेको देखिन्छ।

नेपालमा डीएनए परीक्षण गर्ने प्रविधि भित्रिएयता झन्डै ४ सय केस परीक्षण गरिसकेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको तथ्यांकले देखाउँछ। मुख्यतः तीनवटा प्रमुख कारणले  परीक्षण गराउन आउनेहरू छन्, विदेश जाँदा भिसा बनाउने सिलसिलामा, नागरिकता बनाउँदा ‘केही गरी बाबु होइन’ भन्ने विवाद सिर्जना भए र तेस्रो, विवाहित वा अविवाहित जो डीबीच शारीरिक सम्बन्धपछि जन्मिएको ‘सन्तान कसको ?’ भन्ने विषयमा विवाद हुँदा। यीमध्ये तेस्रो कारणले डीएनए परीक्षण गराउनेहरूको संख्यामा निकै वृद्धि भैरहेको छ। विशेषतः  महिलाहरू श्रीमान्को यातना खप्न बाध्य छन्। सन्तान जन्मिएपछि श्रीमान्ले ‘मेरो होइन’ भन्ने र श्रीमतीले ‘हो’ भनेर जिकिर गर्दा कलह मच्चिने गरेको छ। लामो समय विदेश बसेर  फर्किएका, स्वदेशमै रहे पनि जागिरे पुरुषहरू -जो परिवारलाई पर्याप्त समय दिन पाउँदैनन्) का घरमा यस्तो समस्याले सताउने गरेको छ। अझ दबाबमा परेर विवाह गर्नेहरूलाई  यस्तो समस्याले बढी गाँजेको पाइएको छ। विवाहित जोडीहरूमा मात्र सीमित छैन यो समस्या, अविवाहित जोडीहरूमा पनि त्यत्तिकै बढिरहेको छ।

यसो हुनुमा खुलापनतर्फ लम्किरहेको समाज, सूचना तथा प्रविधिको बढ्दो प्रयोग, स्वच्छन्द जीवनशैली, बिदेसिएका पति र तिनका पत्नीहरूबाट आर्थिक स्रोत जुटाउने नियत बोकेका  पुरुष हुन् भन्ने कुरामा सहमत छन्, समाजशास्त्री सुधीर ढकाल। विवाहसम्बन्धी परम्परागत धारणामा परिवर्तन आएको ढकाल बताउँछन्। ‘एउटा महिलाले विवाहपछि श्रीमानसँग मात्र  शारीरिक सम्बन्ध राख्नुपर्छ भन्ने पुरानो मान्यता फेरियो। असहमति भए सजिलै छुट्टएिर बस्न सक्ने अवस्था विकसित भयो।’ ढकालले भने। डीएनए परीक्षणका लागि काठमाडांै जिल्ला  अदालत, पुनरावेदन अदालत, सर्वोच्च अदालत र महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकामार्फत राष्ट्रिय विधि विज्ञान प्रयोशालामा आउने मुद्दाहरू अन्ततः पारपाचुकेमा  टुंगिएका उदाहरण प्रशस्तै छन्। अधिवक्ता मीरा ढुंगाना पनि आफूकहाँ यस्ता मुद्दा आउने गरेका बताउँछिन्। ‘परपुरुष वा स्त्रीसँग सम्बन्ध भएका यी जोडीहरू स्वतन्त्र बस्न चाहन्छन्।’  ढुंगानाले बताइन्। ‘तर हाम्रो उद्देश्य त्यो होइन।’ विशेष वैज्ञानिक तथा राष्ट्रिय विधि विज्ञान प्रयोशाला, डीएनए विभाग प्रमुख जीवनप्रसाद रिजालले प्रस्ट्याए, ‘परिवारमा शान्ति होस् र  विवाद साम्य होस्।’

६ वर्षअघि नेपालमा सुरु भएको डीएनए परीक्षण गर्न ८ हजार रुपैयाँ तिर्नुपर्छ। तैपनि सजिलै त्यत्रो रकम तिर्न तयार हुन्छन् दम्पतीहरू। ‘सधैं तनाव र यातना सहनुभन्दा कि वार कि  पार भएकै राम्रो,’ -नाम नछाप्ने सर्तमा एक महिलाले भनिन्। परीक्षणबाट सधैं दुःखद् परिणाम मात्र आएका छैनन्। डीएनए परीक्षणले सकारात्मक परिणाम पनि ल्याएको छ। आमालाई  थाहा हुन्छ— शिशु कसको हो भन्ने कुरा। ‘विवाहपश्चात् बाबुसँग डीएनए मिलेन भने गर्भ रहेको अवस्थामा स्वीकारेको हुन सक्छ।’ व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र, त्रिभुवन  विश्वविद्यालय, कीर्तिपुरका विजय सुवेदीले बताए। डीएनए परीक्षण गराउन सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत तथा प्रहरी कार्यालयमार्फत मुद्दाहरू आउने गरेका छन्। सर्वोच्च  र जिल्ला अदालतको प्रतिवेदनमा चित्त नबुझे पुनरावेदन जाने व्यवस्था रहेको सर्वोच्च अदालतका प्रवक्ता हेमन्त रावलले बताए। यसबाहेक स्वतस्फूर्त रूपमा आफैं पनि खुमलटारस्थित  राष्ट्रिय विधि विज्ञान प्रयोशालामा गएर परीक्षण गराउन सकिन्छ। यसो गर्दा बाबु, आमा र सन्तान तीनै पक्ष आउनुपर्ने विभाग प्रमुख रिजालले बताए। कतिपय अवस्थामा पुरुषहरूले  सुटुक्क साथमा बच्चा बोकेर यो मेरो सन्तान हो कि होइन परीक्षण गरिदिनुपर्‍यो भन्ने घटनासमेत घटेका छन्। ‘हामी त्यस्तो केसलाई निरुत्साहित गर्छौं,’ रिजालले भने।

हामी झगडा मिलाउन चाहन्छौं

जिबन प्रसाद रिजाल, डीएनए डिपार्टमेन्ट प्रमुख

हामी डीएनए परीक्षणका लागि आउने विवाद मिलाउन चाहन्छौं, तर यसो भन्दैमा गलत प्रतिवेदन दिने भन्ने होइन। मानवीयताका नाताले परिवारको झगडा शान्त पार्ने र विवाद  हटाउने प्रयास गर्छौं। व्यावसायिक दायित्वले परिणाम जे आयो त्यही दिने हो। नकारात्मक वा सकारात्मक जे आए पनि। विज्ञान निर्दयी हुन्छ। यसलाई राम्रोसँग प्रयोग गरे सकारात्मक  र गलत प्रयोग गरे नकारात्मक परिणाम दिन्छ।

डीएनए रहरले गर्ने कुरा होइन। कुनै विकल्प रहेन भने सम्झौता गर्ने बिन्दु भेटिएन भने मात्र गर्ने हो। म सकेसम्म डीएनए परीक्षण नगर्न र आपसमा सहमती गर्न जोड दिन्छु। यो  विज्ञानमा आधारित भएकाले परिणाम स्वीकार गर्न करै लाग्छ। धेरैजस्तो अवस्थामा यसले शंका, उपशंका निवारण गर्न सघाउ पुर्‍याएको छ, जसले गर्दा परिवारमा खुसी पनि ल्याएको  छ। मानसिक, शारीरिक यातना पाएका निर्दोष महिलाहरूले यसबाट राहत पाएका छन्।

सरकारले डीएनए प्रविधिको विकासका लागि गर्नुपर्ने कामहरू अझै बाँकी नै छन्। हामीकहाँ दक्ष जनशक्ति र तालिमको कमी छ। सरकारले विधि विज्ञान -फरेन्सिक विज्ञान) पढाउन  विदेशतिर पठाउने व्यवस्था गरेको छैन। जो आफ्नै खर्चमा जान्छन् उनीहरू फर्केर आउँदैनन्। उतै काम गर्छन्। हामीलाई नयाँ प्रविधि र उपकरण खाँचो छ। नयाँ प्रविधि अँगाल्न सके  मात्र संसारसँगै अघि बढ्न सकिन्छ। अहिले भैरहेको ल्याब बढाउने ठाउँको अभाव छ, जुन सरकारको सहयोगले मात्र सम्भव छ।

नेपालमा डीएनएको इतिहास

 सन् २००५ मा डीएनए प्रविधि नेपालमा भित्रियो। यसअघि रगतको समूहका आधारमा डीएनए परीक्षण गर्ने चलन थियो। जुन त्यति विश्वसनीय थिएन। अर्को कुरा, कसको शिशु हो  भन्ने विवाद मिलाउन अदालतले शिशुको आमाले दिएको बयानका आधारमा फैसला गथ्र्यो। आमाले झूटो बोल्दैनन् भन्ने मान्यता अदालतले अँगालेको थियो। सबै आमाले सही बोल्छन्  भन्न सकिँदैन। कतिपय अवस्थामा त्यो कुरा लागू नहुन सक्छ। साँचो, झूटो छुट्याउने बलियो आधार डीएनए परीक्षण नै हो।

रगतको समूहका आधारमा गरिएको परीक्षण अविश्वसनीय हुन सक्छ, अमान्य हुन सक्छ। एउटा घटना स्मरणीय छ। काठमाडौंकै घटना हो। ७ वर्षअघि एक जोडी अदालतमा पुग्यो।  महिलाले आफूबाट जन्मिएको शिशु यही पुरुषको हो भनेर दाबी गरिन्, तर पुरुषले अस्वीकार गरे। उनीहरूबीच चर्काचर्की नै पर्‍यो। अदालतले महिलाका पक्षमा फैसला गर्‍यो। विधि  विज्ञान प्रयोगशालाले रगतको समूहका आधारमा गरिएको डीएनए परीक्षणपश्चात् महिलाकै पक्षमा प्रतिवेदन पठायो। अदालत र विधि विज्ञान प्रयोगशालाले महिलाकै पक्षमा समर्थन  गरेपश्चात् ती पुरुषले आत्महत्या गरे। जुन कुराले विधि विज्ञान प्रयोगशालाका धेरैजसो प्राविधिकलाई दुःखी तुल्यायो। उनीहरूले यस्तो होला भन्ने सोचेका पनि थिएनन् अनि डीएनए  प्रविधिको टड्कारो आवश्यकता महसुस गरियो। विधि विज्ञान प्रयोगशालाका प्राविधिकहरूको पाँच वर्षको अथक प्रयास एवं विज्ञान मन्त्रालयको सहयोगले सन् २००५ मा नेपालमै  डीएनए परीक्षण गर्ने सपना साकार भयो। सुरुमा सरकारले ९० लाख रुपैयाँ सहयोग गर्‍यो। त्यति बेला बेलायतको एप्लाइड वाय सिस्टम कम्पनीबाट उपकरण खरिद गरिएको थियो।  अब चाँडै नै हड्डीबाट पनि डीएनए परीक्षण गर्ने काम सुरु हुँदैछ। त्यसका लागि उपकरण पनि भित्रिसकेको छ।

के हो डीएनए ?

डीएनए अर्थात् डिअक्सिराइबो न्युक्लिक एसिड एक प्रकारको न्युक्लिक एसिड हो। जुन प्राणी, वनस्पति, कीरा फट्याङ्ग्राहरूको कोषमा हुन्छ। शरीरको संरचना बनाउन यसले महत्त्वपूर्ण  भूमिका खेल्छ। हाम्रो शरीरका अंग-प्रत्यंग आँखा, छाला, कपाल आदिको रंग, आकार, तौलको निर्धारण पनि यसैले गर्छ। बाबु, आमाबाट छोराछोरीमा पनि डीएनएकै माध्यमबाट गुणहरू  सर्छन्। वंशाणुगत गुणहरू निर्धारण गर्नुका अतिरिक्त जीवनमा महत्त्वपूर्ण हुने अन्य धेरै काम पनि यसले गर्छ।

यसले कसरी काम गर्छ ?

हाम्रो शरीरमा लाखौं, करोडौं कोष हुन्छन्। हरेक व्यक्तिमा ४६ वटा क्रोमोजोम हुन्छन्। यौनसम्पर्कपछि २३ वटा पुरुष र २३ वटा महिलाको क्रोमोजोम एकै ठाउँमा मिसिन्छ। ती को षभित्र न्युक्लियस हुन्छ। यसभित्र क्रोमोजोम्स हुन्छन्, जसलाई खोल्दै जाँदा डीएनएका क्वाइलहरू देखिन्छन्। जसमा चारवटा सिक्वेन्स मिलेर बनेको हुन्छ। एउटा मानिसमा भएका ४६  वटा क्रोमोजोम २३ जोडामा गाँसिएर बसेका हुन्छन्। महिलामा एक्स-एक्स र पुरुषमा एक्स-वाईका रूपमा जोडाहरू बसेका हुन्छन्। जब डीएनएलाई रेस्टि्रक्सन इन्डोन्युक्लियस -मेसिन)  को सहाराले छुट्याइन्छ, डीएनए फिङ्गर पि्रन्ट छुटिन्छ। यो नै डीएनए छुट्याउने आधार हो। भेरिएबल नम्बर टेन्ड्म रिपिट्स -भिएनटिआरएस) का आधारमा ब्यान्डिङ प्याटर्न हेर्न  सकिन्छ। कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ।

                                                                                                            source: saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.