मंसिर ७, – नेपालले एसिसी ट्वान्टी-२० कप क्रिकेटका लागि मंगलबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। मंसिर १७-२५ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि नेपाली टोलीमा महेश क्षेत्री र शक्ति गौचनलाई समावेश गरिएको छैन।
// छनोट खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल, विनोद दास, महबुव आलम, बसन्त रेग्मी, अमृत भट्टराई, विनोद भण्डारी, राहुल विश्वकर्मा, प्रदीप ऐरी, पृथु बाँस्कोटा, सञ्जम रेग्मी र सुभाष खकुरेल छन्। शक्ति र महेशसहित कृष्ण कार्की र नरेश बुढाऐरलाई वैकल्पिकमा राखिएको छ। नेपाललाई आइसिसी यु-१९ विश्वकपमा छनोट गराउन प्रमुख भूमिका खेलेका सुभाष पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्। क्यानले घोषणा गरेको प्रारम्भिक २२ सदस्यीय टोलीमा सुभाष थिएनन्। दुई हप्ताअघि माल्दिभ्समा भएको सार्क यु-२५ ट्वान्टी-२० प्रतियोगितामा महेशले नेपाली टोलीको विकेटकिपिङ सम्हालेका थिए। ‘माल्दिभ्सको प्रतियोगितालगत्तै महेशको ब्याटिङ ट्वान्टी-२० मा चित्तबुझ्दो नभएपछि प्रशिक्षक पुबुदु दासानायाकेले अन्य विकेटकिपरका ’boutमा सोधेका थिए, त्यसपछि हामीले सुभाषको नाम दिएका थियौं,’ राष्ट्रिय छनोट समितिका संयोजक विजय शर्माले भने। एसिसी ट्वान्टी-२० नेपाली प्रशिक्षकका रूपमा दासानायाकेको पहिलो आधिकारिक प्रतियोगिता हुनेछ। ६ महिनाको अनुबन्धनपछि दासानायाके सेप्टेम्बर २९ मा पहिलोपटक नेपाल आएका थिए। नोभेम्बरमा चीनमा भएको एसियाली खेलपछि नेपाली राष्ट्रिय टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो। एसिसी ट्वान्टी-२० मा नेपालसहित युएई, हङकङ, अफगानिस्तान, कतार, ओमान, मलेसिया, कुवेत, भुटान, माल्दिभ्स र साउदी अरेबियाले प्रतिस्पर्धा गर्ने छन्। नेपाल समावेश समूह ‘बी’ मा हङकङ, युएई, कुवेत र साउदी अरेबिया छन्। नेपालले मंसिर १७ मा हङकङसँग, १८ मा युएईसँग, २० मा कुवेतसँग र मंसिर २१ मा साउदी अरेबियासँग खेल्ने छ। अफगानिस्तानबाहेक शीर्ष तीनमा पर्ने टोली युएईमा मार्चमा हुने ग्लोबल विश्व ट्वान्टी-२० छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ।
राहुलविरुद्व शक्ति नेपाल क्रिकेट संघ (क्यान) मा गएको पहिलो नाममा शक्ति अन्तिम १४ भित्र अटाएका थिए भने राहुल बाहिर थिए। क्यान सूत्रका अनुसार भोलिपल्ट त्यसको उल्टो भयो, राहुल टोलीमा परे भने शक्ति बाहिरिए। छनोटकर्ता र प्रशिक्षक नजरमा यी देब्रेहाते स्पिनरमध्ये कसलाई छान्ने भनेर गहिरो संकट परेको बताइएको छ। जेठमा भएको पेप्सी ट्वान्टी-२० राष्ट्रिय प्रतियोगितामा ४ खेलको ११ ओभरमा २८ रन दिएर ९ विकेट लिँदै शक्ति उत्कृष्ट बलरमा चुनिएका थिए। छनोटलाई आधार मानिने सो प्रतियोगिताबाहेक त्यसलगत्तै भएको पेप्सी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट बलर र म्यान अफ द सिरिजमा चुनिएका थिए। उनले नेपाल एपिएफलाई उपाधि दिलाउँदा ५ खेलमा १४ विकेट लिएका थिए। एसियाली खेलकुदमा नेपाली टोलीबाट हटाइएपछि यसपटक शक्तिले पुनरागमन गर्ने धेरैको अनुमान थियो। अझ किफायती बलर पनि भएकाले शक्तिलाई प्रमुख बलरकै रूपमा हेरिएको थियो। यता अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातारको शानदार प्रदर्शनले राहुलको स्थान सुरक्षित बनेको बताइएको छ। राहुलले फेब्रुअरीमा भएको एसिसी यु-१९ इलाइट कप र आयरल्यान्डमा भएको आइसिसी यु-१९ विश्वकप छनोटमा शानदार प्रदर्शन गरे। दुवै प्रतियोगितामा २१-२१ विकेट लिई उनी एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बने। गतवर्ष सुरुआतमा काठमाडौंमा भएको विश्व क्रिकेट लिग डिभिजन-५ मा अमेरिकासँग फाइनलमा लिएको ७ विकेटले राहुललाई टोलीमा छान्न निकै बल प्रदान गरेको बताइएको छ। ‘टोलीमा अन्य देब्रेहाते स्पिनर पनि थिए, राहुलले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो खेल्दै आएकाले हामीले उनलाई प्राथमिकतामा राखेका हौं,’ शर्माले भने, ‘हामीले छान्ने उत्कृष्ट टोली यही नै हो। २००७ यता राष्ट्रिय टोलीमा पर्दै आएका महेश पहिलोपटक टोली बाहिर भएका हुन्।
Source: nagariknews