अमेरिकामा उडुस, साङ्ला र मुसाको आतङ्क


– मञ्जु निरौला 

अहिले नेपालका सञ्चार माध्यममा कि त मुसाको चर्चा छ, कि त गुदपाक भण्डार र मिठाइ पसलेको कर्तुतको छ । उहिले ‘पाइपर’ को कथा पढेर बाँसुरीबादकले सबै मुसा समुद्रमा लगेर डुबाएको कथा पढेकी थिएँ । मुसो नभएको ठाउँ पो कहाँ छ र ? गणपतिका बाहन जता पनि शयरशयलमा पुगी उपद्रव मच्चाउँछन् । दूलो पार्नमा माहिर, खेत-खलिहान, घर-दैलो, करेसाबारी, झुप्रो, दरबार, महल जहाँ पनि उसलाई खुल्ला विचरण गर्न स्वतन्त्रता छ । नेपालका युवकयुवतीहरू विश्वको हरेक कुनामा पुगेर आयस्रोत बनाउन थालेपछि हाम्रा बहादुर मुसो पनि के कम हुन्थे, हवाईजहाजमा बसेर विदेश यात्रा गर्न पुगेको खबरले सञ्चारजगत्मा तहल्का मच्चाइदियो । देशका ६०१ सभासद् विदेश भ्रमणका लागि झुत्ती खेलेको देखिएकै हो । मन्त्रीहरू पनि जुम्ला-हुम्लाको भ्रमण त्यागी विदेशीभ्रमणमा लोभिएको समाचार पढेकै हो । मुसोले पनि विदेश भ्रमण गर्नु कुनै नौलो कुरो हो र । मुसो देेखेपछि पाइलटको सातोपुत्लो जानु स्वाभाविकै थियो । धन्य ! नैतिकवान रहेछन् हाम्रा पाइलटहरू र यात्रुको ज्यान जोखिममा राखी हवाईजहाज चलाउनु अन्तर्राष्ट्रिय नियमविरुद्ध हो भनी अडान लिए । नत्र त जाबो मुसो देख्दा डराउने पाइलट भनेर कारबाही गर्न बेर थिएन ।

नेपालमा मुसा हुनु कुन नौलो भयो र अमेरिकाजस्तो सफा सुन्दर, हरियालीले ढपक्कै ढाकेको, ठूलठूला भवनले मोहनी लगाउने, सामुदि्रक सहर, लसभेगास, न्युयोर्क, बोस्टन, क्यालिफोर्नियाजस्ता आकर्षक सहरमा पनि मुसोले वितण्डा मच्चाउँछ भन्दा आश्चर्य लाग्ला । मुसोको उपद्रव त छँदैछ तर ज्याद्रो साङ्लोले त झन् अमेरिकाको प्रत्येक होटल, एपार्टमेन्ट, घर, रेस्टुराँमा आधिपत्य नै जमाएको पाइन्छ । काठका पुरानो घरहरूमा कहिल्यै साङ्ला खाली हुन्नन् । अब त साङ्ला मात्र होइन, ‘उडुस’ जसको भलाद्मी नाम छ ‘बेड-बग’ ले जताततै आतङ्क नै मच्चाएको छ पाताल-नगरीमा । न्युयोर्क साथीकोमा जाँदा साङ्लाले कानको जाली खाला भनी कपास नै कोचेर सुत्नुपर्‍यो भने रातभरि उडुसको ताण्डवनृत्यले त भागाभाग गरी मेरिल्यान्ड फर्किएँ । पाँचतारे होटल हृवाइट हाउसमा पनि ‘बेड-बग’ र मुसोको आतङ्क भनी समाचार आएको थियो । भनिन्छ उडुस, साङ्ला पहिले विश्वयुद्धमा जाने सैनिकहरूको सामानमा आएका थिए रे । अहिले न्युयोर्कको एपार्टमेन्टमा हेर्ने हो भने इमिग्रान्टले नै उडुस, साङ्ला ल्याएको हो भन्ने सोचाइ रहेको छ । भिडमभिड, अत्यधिक जनघनत्वका कारणले न्युयोर्कको सहरबजार रेस्टुरेन्टमा साङ्ला, उडुस, मुसो नभएको ठाउँ पाइन्न । झिँगा र लामखुट्टेको दर्शन चाहिँ पाइएको छैन । फरक यत्ति हो, स्वास्थ्यको सचेतता भएको कानुनी देश भएवापत बारम्बार होटल, रेस्टुरेन्ट, एपार्टमेन्टको निरीक्षण गरिन्छ तर ज्याद्रो साङ्लाले कहिल्यै एकलौटी राज्य छाडेन । उडुसको त के कुरा, सोफा, पलङ जताततै लुकेर आपत् पारेको छ, यहाँका बासिन्दालाई ।

एपार्टमेन्टको भान्छाकोठा र बैठकमा सानासाना मुसाहरू कुदिरहेको भेटेपछि एपार्टमेन्टमा गई गुनासो पोखेँ । साङ्ला त छँदैछन् अब मुसा पनि देखियो भन्दा ‘एनिमल कन्ट्रोल वा पेट कन्ट्रोल अफिस’मा फोन गरी आजको तीनहप्ता पछि मुसो हो कि मुसीलाई बिहीबार ठीक ३ बजे हेर्न आउने भनी दिन तोकियो बिहीबारका दिन ३ बजे आउँछन् भनी घरै बसेँ र प्रतीक्षा गरिरहेँ । ठीक ३ बजे ढोका ढक्ढक् गरे । ढोका खोल्न जाँदा भुसण्डे दुई अपि|mकन र अमेरिकन मुखमा मास्क लगाई मुसो मार्ने बन्दुक तेस्र्याउँदै कोठामा छिरे । उनीहरूको अनुहार, रूप देखेर तर्सिएँ पनि । आउने बित्तिकै ‘व्हेयर इज योर माउसी ?’ भन्छन् । ‘आइ डोन्ट नो एस फाइन्ड आउट माउसी’ भनी ठाडो जवाफ दिएँ मैले । मास्क किन

लगाएको भन्दा ‘माउसीले मुख चिथोर्छ भनेर’ भन्दा हाँसो उठ्यो । हे भगवान् ! हाम्रो देशको झैँ विरालो जत्रो मुसो देखे के गर्लान् यिनीहरू ? कति नखरा गरेकोजस्तो लाग्यो । ३ बजे दिउँसो आउँदा मुसो एक ठाउँमा बसिरहन्छ त ? चारैतिर खोजे । भान्छा र बाथरुमको कुनाकाप्चा ग्लु टेप छोडेर मुसो आउने बाटोमा छेकबार लगाए । फेरि गि्रन बेल्टको एपार्टमेन्टमा मुसाहरू यताउति कुदिरहेको देखेपछि डाक्टरलाई झैँ दुई महिना अगाडि नै मुसो समात्न तारिख तय गरियो । यो पल्ट त त्यति नखरा गरेनन् तर जम्पसुट लगाएर आए । भनाइका तात्पर्य अमेरिका बडो संवेदनशील नागरिक भएको समाज भएकाले सानो कुरोलाई पनि गम्भीरतापूर्वक लिने र नागरिकको सुरक्षा गर्ने प्रयत्न गर्दछन् ।

अर्को रमाइलो के छ भने यी मुसामुसी र साङ्लाको बथानले अमेरिकन खाना खान पायो भने झुत्ती खेल्दा रहेछन् । हाम्रो खाना दालभात राख्दा थोरै, पिज्जा, प|mाइड चिकेन, आलु तारेको, मासु राख्दा सलहजस्तै आउँदारहेछन् । मेरो किचनको काउन्टरमा पनि दालभातको स्वाद नपाएका मुसाले अमेरिकन खाना भेटे मख्ख पर्ने गरेको अनुभव नभएको होइन । अमेरिकामा लोखर्के पनि औधी आउँछन् । तिनलाई पनि रोटी दिए खाँदैनन्, पाउरोटी दिँदा टिपेर टाप् कस्छन् । हाम्रा कुकुर, बिरालो दालभात खाएर बाँच्न सक्छन् तर अमेरिकी जनावरका लागि बेग्लै खाना क्यानफुड, सिरियल बनाइएको हुन्छ । गिनिपिग मुसाका लागि अलग्गै दाना, खोर, गु्ड्ने पिङ बनाइदिएपछि चच है गरी खेल्ने मुसाको रमाइलो खेल हेर्न केटाकेटी उत्सुक भएको देखिन्छ । विशेष गरी केटाकेटी भएको घरमा गिनिपिगजस्ता मुसा पाल्ने चलनै छ । छुट्टीमा कतै लामो विदामा जान पर्‍यो भने घरमा पालिएका मुसादेखि सबै जनावरका लागि हेरचाह गरेर जाने व्यवस्था गर्नुपर्छ, अन्यथा कानुनी कारवाही हुन्छ । जेहोस्, अमेरिकामा जनावरका पनि सम्मान र उत्तरदायित्व छ । जनावर भनेर हेप्ने र उपेक्षा गर्ने संस्कार यहाँ पाइन्न ।

 Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.