नक्कली केपी र बाबुराम


मेरी बास्सै’ टेलिफिल्म पहिलो पटक हेर्ने दर्शक एकपटक झुक्किन्छन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र एमाले नेता केपी ओलीकै भेष र बोलीमा अभिनय गर्ने दुरुस्त अनुहार देखेर दर्शक नझुक्किऊन् पनि कसरी । बोली उस्तै, भेष उस्तै, अभिनय उस्तै र हिँडाइ पनि ।केपीको भूमिकामा निर्देशक सीताराम कट्टेल र भट्टराईको भूमिकामा चितवनका ज्योति काफ्ले देखिँदै आएका छन् । सञ्चारकर्मीका रूपमा काम गर्दै आएका काफ्ले अहिले प्रधानमन्त्री भट्टराईको नामले चिनिन्छन् । उनले बोल्ने थेगो ‘भन्ने हामलाई लाइराखेको छ’ ले झन् बढी चर्चा कमाएको छ ।

‘कहिलेकाँही हतारले सुटिङको लुगा र कपालमा लगाएको रंग नपखाली कोठामा र्फकनुपर्ने हुन्छ,’ काफ्लेले भने, ‘त्यही भएर बाटामा भेट्ने केटाकेटीदेखि बूढापाकासम्मले नमस्कार गर्छन् । सायद मलाई प्रधानन्त्री भनेर होला ।’ तर उनी सामान्य रूपमा हिँड्दा भने थेगोले दर्शकले बोलाउने गर्छन् ।

२०६५ को अन्त्यबाट ‘मेरी बास्सै’मा देखापरेका उनको सुरुको अभिनयले त्यति चर्चा पाएन । पछि बाबुरामको भूमिकामा देखापर्न थालेपछि भने उनी गाउँदेखि सहरसम्मका दर्शकमाझ परिचित बन्न पुगे । ‘पहिला घर जाँदा परिवारसँग मात्र भेटघाट हुने गर्दथ्यो,’ कार्यक्रममा व्यस्त काफ्लेले भने, ‘तर अहिले घर जाँदा मलाई हेर्नकै लागि चोक, टोल र गाउँबाट समेत दर्शक आउँछन् । यो सबै अभिनयकै कमाल हो ।’ उनी यो भूमिकामा देखापरेपछि उनलाई प्रधानमन्त्री भट्टराईले पाँचपटक भेटे । उनलाई देख्नेबित्तिकै भट्टराई हाँसिहाल्छन् । ‘म प्रधानमन्त्रीलाई भेट्न जाँदा उहाँको भेषमा जान्नँ,’ उनले भने, ‘तर पनि उहाँ मलाई देख्न साथ हाँस्नुहुन्छ ।’

भट्टराईले आफ्नै भेषमा दुरुस्त अभिनय गर्दा आफू आश्चर्य चकित पर्ने र देश कसरी बनाउने भनेर सुझाव समेत लिने गरेको काफ्लेले बताए । बाबुरामको भूमिकामा देखापरेपछि काफ्लेलाई कार्यक्रममा जान समेत भ्याई नभ्याई छ । आम्दानी गर्ने बाटो पनि दरिलो बनेको छ । नेपालका विभिन्न जिल्ला र विदेशबाट समेत कार्यक्रमका लागि निम्तो आउने गरेको छ । फिल्ममा पनि अभिनयका लागि अफर आउने गरेका छन् । ‘यति धेरै चर्चा कमाउँछु भनेर सोचेको थिइनँ,’ काफ्लेले भने । 

केपीको भूमिकामा प्रस्तुत सीताराम (धुर्मुस) पनि उत्तिकै चर्चित छन् । धुर्मुस पात्रसँगै केपीको भूमिकामा देखापर्न थालेपछि कट्टेलले लोकपि्रयता कमाएका हुन् । उनको कार्यक्रम नेता ओलीले समेत हेर्न छुटाउँदैनन् । ‘अरूको भूमिकामा अभिनय गर्दा त्यति चासो लिँदैन थिए,’ कट्टेलले भने, ‘तर ओलीले भने भेटेरै मलाई बधाई दिनुभयो । उहाँकै चरित्रमा अभिनय गरेको गाईजात्रा समेत हेर्न आउनुभयो ।’ ओलीले अन्यले गिरिजाप्रसाद, देउवा, प्रचण्ड, माधव नेपालको अभिनय गरेको देखे पनि आफ्नो अभिनय गरेको नदेखेको भन्दै धन्यवाद दिएको कट्टेलले सुनाए ।

 ‘यो सबै दर्शकको माया र ममताले गर्दा भएको हो,’ कट्टेलले भने, ‘त्यही भएर दर्शकको चाहअनुसार हामी अभिनय गर्दै जानेछौं ।’

Posted by: Dambar Rimal                                                     Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.