बूढो घन्टाघरले सही समयसमेत बताउन नसक्ने


राणाकालीन समयमा पश्चिम नेपालमा भएको भौतिक पूर्वाधारको विकासबाट प्रभावित भएर घन्टाघर बनाइएको हो त्यही बूढो घन्टाघरले अहिले बटुवालाई सही समयसमेत बताउन नसक्ने भएको छ । रेखदेखकर्ताको बेवास्ताका कारण ‘राष्ट्रिय धरोहरको सम्मान’ घन्टाघर थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । घन्टाघरको छातीमा टाँसिएको घडीले बटुवालाई मात्रै अल्मल्याउँछ वा आफैँ पनि अल्मलिँदै बुढेसकालको लामो दिन बिताइरहेछ, उसैलाई थाहा छैन । त्यसैले त कवि भूपी शेरचनले उतिवेलै घन्टाघरको अर्थ खोज्ने कोसिस गरेका थिए । भूपीका शब्दमा ‘एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी छातीमा झुन्ड्याएर’ उभिइमात्र रहेछ घन्टाघर । थुप्रै वर्ष भयो यो पुरानो घरले हिउँद र वर्षा खेपेको । किताबका टिपोट र इतिहासका पानामा ‘राष्ट्रिय धरोहर’ नाम पाएको घन्टाघरको दुर्दशाले आज यस शब्दको सम्मान गर्न नसकेको बोध हुन्छ । झन् पटकपटक फेरिएर नयाँ नेपालको सपना बाँड्दै हिँडेका सरकारहरूको पनि यो पुरानो ‘समय-घर’को संरक्षणमा दृष्टि पर्न नसक्नुले उनीहरूको चेतनाशून्य र विवेकहीन शैलीको राम्रो उदाहरण पेस गर्छ ।

अहिले घन्टाघरको चासो राख्ने र यसैलाई सपना बनाएर बाँचिरहेका छन् ५२ वर्षे गणेश सापकोटा । घन्टाघरको रेखदेखकर्ता वा संरक्षणकर्ता जे भने पनि यिनै गणेश हुन्, जो ०४४ सालदेखि घन्टाघरको बूढो घडीको रेखदेख र समय मिलाउने काममा खटिएका छन् ।

नेपालको लामो इतिहासको साक्षी बसेको, रानीघरको पालेजस्तो लाग्ने घन्टाघर लामो समय-रेखामा कोरिएको छ । नदीजस्तो बगेको समयलाई रानीपोखरीको किनारमा बसेर वर्षौंदेखि नियालिरहेको घन्टाघरसँग सुखद् इतिहास मात्र बाँकी छ, अब गर्व गर्न लायक वर्तमान छैन । यहाँ एउटा पुरानो घडीको बिगि्रएका पार्टपूर्जा बाँकी छन्, जो यसका निर्माता वीर शमशेरको स्मरण गराउन पर्याप्त छन् ।

राणाकालीन समयमा पश्चिम नेपालमा भएको भौतिक पूर्वाधारको विकासबाट प्रभावित भएर घन्टाघर बनाइएको हो । घन्टाघरको घन्टीले वि.सं १९८४ देखि टिकटिक गर्न सुरु गरेको हो । वीर शमशेरको पालामा बनाइएको घन्टाघरको निर्माणका लागि इन्जिनियरद्वय कुमार र किशोरनरसिंह राणालाई जापानमा तालिमका लागि पठाइएको थियो । यो घडी कहाँबाट ल्याइएको यकिन नभए पनि यसलाई इंग्ल्यान्डबाट ल्याइएको बताइन्छ । घन्टाघरलाई एकपटक वीरशमशेरले पुस्तकालयका रूपमा पनि विकास गरेका थिए । वि.सं १९०० मा वीर पुस्तकालयका रूपमा स्थापित गरिएको सो पुस्तकालयलाई पछि गएर अहिलेको पुरातत्व विभाग भएको भवनमा सारियो ।

सुरुवातमा घन्टाघरको घन्टीलाई लन्डनमा रहेको ‘विग वेन’ घन्टीसँग तुलना गरिन्थ्यो । घन्टाघरमा रहेको घडीको आवाज सय फिटमाथिसम्म सुनिन्थ्यो । उतिवेला घन्टाघरको घडीको प्रशंसा पनि निकै हुन्थ्यो । वि.सं १९९० मा आएको ठूलो भूकम्पका कारण घन्टाघरको ख्याति क्षणभरमै सकियो । भूकम्पका कारण घन्टाघर पूर्ण रूपमा ध्वस्त भयो । पछि यसको पुननिर्माण गरियो र पुनः सोही ख्याति दिन थालियो । पुननिर्माणपछि घन्टाघर हालको अवस्थामा रहेको छ ।

यही घरको समय-घन्टीबाट पूरै मुलुकको समय मापन गरिन्थ्यो । निकै परम्परागत लाग्ने घन्टाघरको बनोटले पुरानो समयको झल्को दिन्छ । घन्टाघरको सबैभन्दा माथिल्लो तलामा छन् ठुल्ठूला घन्टी जो सदिऔँदेखि प्रत्येक १५ मिनेट बज्छन्-टङ्…टङ्…टङ्…। राणाकालका र आधुनिक नेपालका गर्व गर्न लायक यो कृति आज कुनै तमासाजस्तो र भग्नावशेषजस्तो मात्र लाग्न थालेको छ । यो ठूलो भवनको माथिल्लो तलामा घिड्घिडो सास अड्याएर बाँचेको, वेला-वेला मात्रै समय दिने यस घरको मूख्य विशेषता ‘घडी’का चुँडिएका साङ्ला, भाँचिएका दाँती र साह्रै साँघुरो भर्‍याङ, जताततै फोहोर र भित्ताभरि माकुराको जालोले पुरानो शैलीमा बनेको साँघुरो र अग्लो घन्टाघरलाई रानीपोखरीले गिज्याइरहेजस्तो लाग्छ । यस घरले एउटा इतिहास बताइरहेको होला तर, यो इतिहासभित्र नेपालको पुरानो ‘सम्पति’ होइन, घन्टाघरमाथि राज्यले गरेको सौतेनी व्यवहार प्रस्ट झल्किन्छ । घन्टाघरको पुरानो स्वरूपमा कुनै परिर्वतन आएको छैन, न कि घडीका पार्टपूर्जामा । घन्टाघरको सबैभन्दा माथिल्लो तलाले मात्रै मात्र यो घरको महत्त्व झल्काउँछ नत्र फोहोरको डङ्गुर र वर्षौंदेखि प्रयोगमा नआएको पुरानो घरले कुनै हिन्दी टेलिफिल्ममा देखाइने ‘भूत-बङ्ला’को झल्को दिन्छ । पंक्तिकारहरू घन्टाघरको ‘घडी-कक्ष’मा प्रवेश गर्दा कुनै साँघुरो जेल पसेको अनुभव भएथ्यो । यसका मेकानिक्स गणेश सापकोटा सेतो कपाल, मुजा पर्दै गएको अनुहार लिएर पुरानो कपडाले घडीका पार्टपूर्जा पुछिरहेका थिए । यस कक्षको अवस्था साह्रै दयनीय थियो ।

गणेशका अनुसार, घन्टाघरको घडीको कुनै पनि पार्टपुर्जा बनाउन मिल्दैन । ‘बिग्रेको पार्टपुर्जा नेपालमा किन्न पाइन्नँ । यसका थुप्रै दाँती भाँचिएका छन् । मैले केही दाँती आफैँले मेकानिक्सकोमा लगेर बनाएको छु । केही दाँती डोरीले बाँधेर अड्याएको छु । यसका लक सबै बिगि्रए । आइरन पार्टस कुनै पनि सद्दे छैनन् । ब्यालेन्स आउट भएका केही दाँती त बंग्याएर चलाएको छु । सबै लकहरू भाँचिएका छन्,’ गणेश भन्छन् ।

उनले घडी बनाउने कुनै पनि ट्रेनिङ लिएका छैनन् । सुरुमा त्रि-चन्द्र कलेजमा बिजुलीका सामान बनाउने काम गर्थे उनी । ०४४ सालमा नेपालमा सार्क सम्मेलन हुने भएपछि घडी चलाउन सक्ने मान्छेको खुब खोजी भएछ । ‘साना-साना घडी पसलेलाई पनि बोलाउन गए सरकारी अधिकारी,’ उनी सम्भिmन्छन्, ‘कसैले पनि यो सम्हाल्ने आँट नगरेपछि मलाई नियुक्त गरिएको हो । त्यसअघि मैले घन्टाघरको घडीको स्वरूप कस्तो छ देखेको थिइनँ । मभन्दा पहिलेको कर्मचारीले सामान्य सुई घुमाउन सिकाइदिएको आधारमा मैले यो काम सम्हालेको हुँ ।’ गणेश घडी हेरचाहको काममा नियुक्त हुनुअघिदेखि नै घडीले सही समय दिन छोडिसकेको थियो । उनका अनुसार, त्यसवेला पनि दिनमा ८/१० पटक घडी बन्द हुन्थ्यो । ०३८ सालमा घन्टाघरमा आगलागी हुँदा घडी कक्षमा सामान्य क्षति पुगेको थियो । त्यसपछि घडी बिगि्रयो र केही समय बन्दै भयो । घडीको मेसिनलाई लामो समयसम्म कपडाले छोपेर राखियो । भारतीय कामदार आएर यसको मर्मत गरे र फेरि चल्न थाल्यो ।

अहिले त उनको पेन्सन पाकिसक्यो । उनले २४ वसन्तसम्म घन्टाघरको सेवा गरे । घन्टाघरको जिम्मेवारी पाएपछि १३ दिन, १३ रात उनी घडीअगाडि नै बसे मुर्दा कुरेजसरी । र, घडीका सामान्य रोग पत्ता लगाए । केही रोगको उपचार भयो, केहीको चाहिँ असम्भव । र, पनि घडीको सुईचाहिँ घुम्यो । उनले जिम्मेवारी लिने वेला उनलाई मुखियाबाट सुब्बामा बढुवा गराइदिने आश्वासन दिइएको थियो, सरकारबाट । सुब्बाको प्रोमोसन लेटर पनि आयो । तर, त्यो त्रि-चन्द्र कलेजमै अड्कियो । २४ वर्षदेखि उनले मुखियाकै पदमा चित्त बुझाउनुपरेको छ । यति लामो अवधिसम्म मुखिया पदकै तलबको भरमा केश फुलाए उनले ।

अहिले घन्टाघरको उद्धारका लागि आर्थिक स्रोत केही पनि छैन भन्छन् गणेश । ‘कलेजले तेल हाल्ने पैसा पनि दिँदैन, त्यसैले घडी चल्नै छाड्यो र ०५४ मा एकपटक मैले घडी नै बन्द गरिदिएँ,’ उनी भन्छन् । उनी एक्लै यो घडीको सर्वेसर्वा भएका छन् । ‘मैले यहाँ जागिर खाइसकेपछि कोही पनि सरकारी मान्छेको नाकमुख देखेको छैन,’ उनी भन्छन्, ‘मैले धेरैपटक भनेँ तर, कसैले केही रुचि देखाएको छैन ।’ उनी प्रत्येक दिन बिहान ६ बजे घन्टाघर आउँछन्, घडी बिग्रेको छ/छैन हेर्छन् र यसलाई चल्ने बनाएपछि घर जान्छन् । तर, घडी बनाएर घर गएको एक घन्टापछि घडी चल्न छोड्छ । घडीको सबैभन्दा ठूलो समस्या नै यसका दाँती र लक हुन् । ‘यसको लक र दाँती यति पुरानो भइसकेको छ कि, अब यसले काम नै गर्न छोडिसक्यो । यसलाई कसरी बनाउने पनि थाहा छैन । फेरेको दाँतीले पनि काम गर्दैर्न । वीरशमशेरले बनाएपछि अहिलेसम्म यसलाई कसैले सामान्य चासो पनि राखेको छैन,’ उनी भन्छन् । जागिर खाएपछिका दिनमा उनी काठमान्डु छाडेर एक रात पनि बाहिर सुतेका छैनन् । ‘घडी बिग्रेपछि म आउनै पर्छ,’ उनी भन्छन्, ‘त्यसैले एकरात पनि काठमान्डु छाडेर बाहिर सुतिनँ ।’

घन्टाघरको घडीको समय ‘यसरी’ मिलाउने भन्ने कुनै आधार छैन । उनको हातेघडीमा जति बज्छ, घन्टाघरमा त्यति नै बज्छ । ‘सरकारले यसको आधारमा समय मिलाऊ भनेर केही दिएको छैन, मेरै हातको घडीको आधारमा समय मिलाउँछु,’ उनी भन्छन्, ‘एकपटक मेरो घडी बिग्रेको वेला, घन्टाघरको समय पनि एक घन्टा ढिला भएको थियो ।’ पहिले टुँडिखेलमा तोप पड्काउनु अघि यहाँको समय हेरिन्थ्यो । पछि घन्टाघरको समयले साथ दिन छाडेपछि त्यो क्रम पनि भंग भयो । टुँडिखेलमा बसेका सिपाहीले दूरबिनबाट घन्टाघर हेर्थे र तोप पड्काउँथे । ०५२ बाट घडी हेरेर तोप पड्काउन छोडियो ।

घन्टाघरको संरचना निकै खराब छ । चट्याङको अर्थिङको लागि एरियल छ, तर त्यसले पनि काम गर्दैन । यस घडीको दम दिने कामचाहिँ घन्टाघरको पालेले गर्छन् । साताको १ पटक घडीलाई दम दिइन्छ । दम दिने १३ वटा चक्का छन् । यहाँको घिर्नीले पनि काम दिँदैन । यसको रड घोटिँदै गएको छ । ‘ऐतिहासिक चिजलाई बचाउने हो भने घन्टाघर बचाए हुन्छ । नत्र घन्टाघरलाई ब्याट्रीबाट चलाएर घडीको मेसिनलाई म्युजियममा लगे हुन्छ,’ उनी आक्रोशित बन्छन्, ‘आफ्नो पुर्खाको घरमा विनाउद्धार बस्नुपर्ने बाध्यताबीच हामी बाँचिरहेछौँ ।’ गणेशका यी वाक्यले घन्टाघरको दुरावस्थातिर संकेत गर्छन् । ०३८ सालको आगलागीले केही अपांग पारेको घरका दलिन अहिले पनि ध्वाँसोले पोतिएको देखिन्छ । रंगरोगन गर्नुपर्ने सरकारले आवश्कता ठानेको छैन । त्रि-चन्द्र कलेजको हाताभित्र भएको हुनाले घन्टाघरको रेखदेखको जिम्मा यस कलेजलाई रहेछ । तर, कलेज कानमा तेल हालेजसरी चुप बसेको छ । ‘कलेजलाई पनि यसको वास्ता छैन । कहिलेकाहीँ पार्टपुर्जामा हाल्ने तेल किन्नुपर्‍यो भने वर्षमा १, २ हजार रुपैयाँ दिन्छ,’ उनी भन्छन् ।

यहाँका घडीदेखि हरेक भित्ता उचित मर्मतको अपेक्षासाथ ठडिएका छन् । ‘व्यक्तिगत प्रयासमा मात्रै घडी घिड्घिडो राखेर चलिरहेको छ,’ गणेश भन्छन्, ‘यसमा सरकारले चासो राखे मात्रै यो कृतित्वलाई संरक्षण गर्न सकिन्छ ।’ उनी यसमा सरकारी निकाय र पुरातत्व विभाग दुवैको छुट्टाछुट्टै तवरमा दृष्टि पुग्नुपर्ने मत प्रकट गर्छन् । विश्वका र नेपालकै पनि थुप्रै पुरातात्विक महत्त्वका सम्पतिको संरक्षण राज्यस्तरबाटै हुने गरेको धारणा राख्छन् उनी । ‘घन्टाघरजस्तो पुरानो समय-घर नेपालमा अरू कुनै छैन,’ उनी भन्छन् । दशकौँ भयो, सरकारले यतातिर चियाएको पनि छैन । ‘यो देश र देश चलाउनेहरूले घन्टाघरको महत्त्व बुझेनन्,’ उनले भने, ‘हरेक व्यवस्था र सरकारको आँखामा यो अनुत्पादक क्षेत्रमै गणना हुने गरेको छ । सनातनदेखि आजसम्म यो अपहेलित हुँदै आयो ।’ हरेक राजनीतिक परिवर्तनमा स्तम्भ र संग्रहालय बनाउन करोडौँ रुपैयाँ खन्याउन सक्ने सरकार र त्यसलाई आँखा चिम्लेर समर्थन गर्ने राजनीतिक दलहरूमा घन्टाघरलाई जोगाउनुपर्छ भन्ने विषयमा कहिल्यै घैंटोमा घाम लागेन । राष्ट्रिय सम्पत्तिलाई हेलापूर्ण दृष्टिले हेरिएकाले यो दुर्दशा भएको हो ।

राज्यसँग विद्रोह गर्ने विद्यार्थीको झुन्ड यही घन्टाघरअगाडिको त्रि-चन्द्र कलेजमा पढ्छन् । आफ्ना कुराप्रति सबैको ध्यान आकषिर्त गर्ने थलो घन्टाघर बन्यो । घन्टाघरको फेदीमा जुन ढंगले विद्रोह गरिन्छ, त्यसमा नेपाली शैलीको विरोध गर्ने मनोग्रन्थि र शैली देखिन्छ । घन्टाघरमुनि सबैभन्दा बढी विरोध प्रदर्शन गरिन्छ । प्रजातन्त्र आएपछि आगोको ज्वाला दन्काउने क्रममा प्रयोग भएको यो एक विद्रोहको विधा हो ।

छातीमा जेबघडी झुन्ड्याएर बाँचेको यो बूढो घर कुनै ठूलो भूकम्पको प्रतीक्षामा उभिइरहेको भान हुन्छ । ‘भूकम्पले लैजान सक्छ,’ सापकोटा भन्छन्, ‘यसका भित्ता चर्किएका छन्, मक्किएका छन् र वर्षायाममा भित्ता र छानाबाट पानी चुहिरहेको हुन्छ । यो बूढो घरलाई एक्लै कुरेर बस्नु कम्ती सास्तीको कुरो होइन रहेछ ।’

सानैदेखि घन्टाघर’bout कविता, निबन्ध पढेर, यसकै आडमा आन्दोलन गरेका विद्यार्थीले मन्त्री, सचिवहरूका जिम्मेवारी सम्हाले । तर, तिनले घन्टाघरतिर फर्केर कहिल्यै हेरेनन् । त्यसैले यो पुरानो सम्पत्ति भूपीको कविताजस्तो ‘बूढो पेन्सनवाल’ झैँ झोक्राइरहेछ र ढल्नलाई भुइँचालो पर्खेर बसेको छ ।

घन्टाघरको विरासत थामेर बस्दा घरसँगै बेहोर्नुपर्ने ‘प्रतिकूल परिस्थितिमा’ छन् गणेश । घडी नचले पनि उनैलाई गाल पर्छ । तर, बनाइदिने पार्टपुर्जा किन्न कोही अघि सर्दैनन् । बूढो समय-घरको बूढो पाले हुनुको भावनात्मक पीडा क्षणक्षण खेपेर बाँचिरहेछन् गणेश । प्रत्येक दिन यही बाटो करोडाँै रुपैयाँ पर्ने गाडीमा सयर गर्ने मन्त्री, प्रधानमन्त्री, सचिवहरूले घन्टाघरको संरक्षणका लागि सोच्ने चेष्टा पनि गरेनन् । फलतः यो ‘बूढो बाघ’ र यसको घडी निरीह टुहुराजस्तो अभिशप्त हुन पुगेको छ । यस सहरको किनारमा बसेको अनुभव गर्दै छ घन्टाघर । घन्टाघर सायद रानीपोखरी छेउमा बसेर प्रतीकात्मक ढंगले हेर्ने अति गरिब र साधारण मान्छे हो, जसका सपना जटिल छैनन् ।

Posted by: Dambar Rimal                                           Source: nayapatrika

2 responses to “बूढो घन्टाघरले सही समयसमेत बताउन नसक्ने

  1. DHANYA GANESH JI…… KOI PANI CHHAINA BICHARA GHANTA GHAR KO LAGI….. SAYED KASAILE SANO PRAYASH SAMMA GAREKO BHAYE PANI KEHI TA PAKKAI HUNTHYO HOLA SAYED….. TARA EKJANA KO PAHAL LE K NAI HUNCHHA RA……. KHUSHI LAGYO GANESHJI LE GARNU BHAYEKO KAAM MA NAI GARVA PANI…

  2. aafu laai dherai chahana hooda hodai pani….s purano ghanta ghar ko laagi aafno sukha birsera laagi parnu bhako ganesh ji.. tapai mahan ho..ahile ko yo samaya maa maanchhe haru yesto bhetina gaaro chha..jo aafno desh ko kunai sampati laai samrachhyan garrera raakhne.. u r gr8 ganesh ji

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.