सपनामा तिरेको उधारो (लघु कथा)


– दीपक सापकोटा

माघको दोस्रो हप्ता मध्याहृनको करिब १२ बजे कोठामा छिर्ने घामको लोभमा कुर्सीलाई झ्यालतिर बढाएर कम्प्युटरमा केही खोजिरहेको थिएँ । के खोजे नेटमा त्यो पनि आँफैलाई राम्ररी थाहा थिएन । शरीर सन्चो नभएकोले होला, त्यति फूर्ति पनि थिएन । अफिसको काम, घरको आफ्नो, सबैतिरको टेन्सनले के काम गर्ने, के काम नगर्ने दोधारमा रुमलिँदै थिए । मोबाइलमा घन्टी बज्यो । पहिलो पटकको घन्टी मैले त्यति वास्ता गरिन । घन्टी फेरि बज्यो । नम्बर हेरे चिनेजस्तो लाग्यो । कसको भन्ने छुट्याउन सकिनँ । दोस्रो पटक पनि घन्टी बज्यो । रिसिभ गरिनँ । फेरि पनि घन्टी बज्यो मैले बोल्नु भन्दा पहिला नै उताबाट आवाज आयो “दाइ फोन उठाउन पनि कति गाह्रो ? मेरो नम्बर चिन्नु भएन ?” “चिनेजस्तो लाग्यो तर ठम्याउन सकिनँ” मैले उत्तर दिए । “ल भन्नोस् त म को हो ?” उसले सोधी ।

मलाई गाह्रो पर्‍यो । मैले भनेँ “अ…………”

उसैले मलाई सजिलो बनाई “म उषा”…. “ए उषा”  सन्चै छौ, अनि आज धेरैपछि कताबाट सम्झियौ त” मैले प्रश्न गरे ।

“दाइ हजुरलाई पनि बिर्सन सकिन्छ र, हजुरले पो माया मार्नु भयो” उसले भनी ।

“एउटाले माया मारेपछि अर्कोले माया त मार्नै पर्‍यो नि

हैन ?” मैले पनि सोच्दै नसोची बोलिदिएँ ।

ऊ थोरै हाँसेको मैले फोनमा सुनेँ । उसलाई कफी खान मैले अफिसमा निम्त्याएँ । उसले  कफी खान स्वीर्कादै भनी “दाइ कफी खान त आउँछु तर हाम्रो पुरानो कफी सपमा” मैले “हुन्छ” भनी दिएँ । बेलुकी ५ः३० बजे कफी खाने निश्चित भयो । उसले मलाई बेलुकी कफी सपमा भेट्ने अनि कुरा गर्ने भन्दै “बाइ” भनी मैले पनि “बाइ” भनी दिएँ ।

उसले पहिला फोन राखी । उषा पोखरेल उसको नाम । काठमाडौँ बाहिर पूर्वतिरको केटी । पढेलेखेकी, मिहिनेति, सरल र सीधा । अफिसको कामको सन्दर्भमा मैले भेटेको । उसको उमेर त मैले सोधेको छैन । सायद २२ नाघेकी छैन होली । डिगि्रसम्मको अध्ययन पूरा गरेकी छ । उसको कम्प्युटरमा नेपाली टाइप राम्रो छ । टाइप गर्नु पर्दा प्रायः म उसैकोमा जान्छु । उसले नेपाली टाइप गरी दिन्छे । पैसा लिन मान्दिन । ऊ मलाई असाध्यै आदर गर्छे । म पनि उसलाई इज्जत गर्छु । केही सिकाइ दिन्छु । ऊभन्दा जान्ने भएर होइन, उमेरमा ऊभन्दा पाको भएर ।

गोरी छे, हँसिली छे बेलाबेलामा जिस्काउँछु । ऊ हाँसेर टारी दिन्छे । खोई म आफैँलाई थाहा छैन किन ऊप्रति मेरो धेरै झुकाव छ । उसलाई नभेट्दा के के सोच्छु, मनमा अनेक कुरा खेल्न थाल्छ । मनमनै कार्यक्रम पनि तयार हुन्छ जब उसलाई भेट्छु अगाडिका सबै कुरा बिर्सन्छु । उसलाई इज्जत गर्छु, उसको अभिभावक बनिदिन्छु । ऊ निश्चिन्त हुन्छे । ऊप्रति मेरो दुईवटा सोच भएको जस्तो मलाई आभास हुन्छ । ती दुवै आभास ती दुवै सोचलाई उसले राम्ररी सुधेकी छे । मेरो नजानिँदो बासना पनि उसलाई पचेको छ । मैले दिएको इज्जत पनि उसले बुझेकी छे । त्यस्तैगरी उसलाई पनि मैले राम्ररी बुझेको छु । मप्रति उसको चाहना हुँदै नभएको पनि होइन छ भनेर प्रस्ताव गरी हाल्ने पक्षमा पनि ऊ होइन भन्ने आभास मैले पाएको छु । मलाई आदर गर्छे, इज्जत गर्छे । फरक यो मानेमा छैन, हामीले एक अर्कालाई बुझाउन सक्याँै भने हामीभित्र लुकेको त्यो आभास कुनै ठूलो होइन । जरुरत भयो भने हामी सक्षम छौँ होलाजस्तो मलाई लाग्छ । एकले अर्कालाई आदर गर्दागर्दै हामी राजीखुसीको त्यो चरणमा आउनै सकेनौँ, आउनै भ्याएनौँ । त्यतिकैमा उसको बिहेको साइत जुर्‍यो । बिहेको दिन म जान नसक्ने भए । उसको बिहेको खबर नै मलाई नमीठो लाग्यो । नजिकको मान्छे छुट्टिएर जान लागेको जस्तो । आफ्नै बहिनी अन्माएर पठाउन लागेजस्तो । कस्तोकस्तो आफ्नो मनको कुनामा लुकेर बसेको कुनै इच्छा पूरा नभएजस्तो ।

उनी दुलही हुने दिनको अघिल्लो साँझ मैले उनलाई कफी सपमा बोलाए । ऊ विना शङ्कोच आई । दुवैले सँगै कफी खायौँ । मैले मेरो तर्फबाट उपहार दिए । उसले धन्यवाद पनि भन्न सकिनँ । ऊ काली-नीली भई, फुङ्ग उडेको हाँसो हाँसी “भोलि बिहेमा आउनुहोस् न दाइ” वाक्य यति बोली “मैले कोसिस गरौँला” भने । उसले म जाऊ भनी मैले उसको कानमा मुख राखेर भने “तिमी मेरी उधारी भयौ ” उसले बुझिन र सोधी “मैले त बुझिन” । “ठीकै छ बुझ्यौ भने सोची हेर्नु” भन्दै उसलाई नजिक तानेर निधारमा माया गरी दिए । त्यो माया विछोडको माया आत्मीयता र अभिभावकत्वको माया थियो । उसले २ थोपा आँसु झारी मलाई उसको त्यो आँसु पुछ्ने इच्छा भएन उसको गालामा आँसु बगेको राम्रो लाग्यो । उसको मोबाइलमा घन्टी बज्यो उसले मोबाइलतिर हेर्दै “दाइ राति भई सक्यो तपाईंसँगै बसेर धेरै कुरा गरेर रुने मन त थियो तर के गर्ने मलाई घरमा मार्छन् ?” भन्दै उसले मेरो हात सुमसुम्याएर माया गरी र हातभरि आँसु झारेर आफ्नो पाइला अगाडि बढाई । म टाढासम्म उसलाई टोलाएर हेरी रहे । विगतका यही मीठानमीठा कुरालाई सम्भिmएर म कफी सपमा उसलाई पर्खी बसिरहेको थिएँ । ऊ मलिन अनुहार लिएर आई र मेरो मेचको सामुन्नेको कुर्सीमा बसी । थोरै हाँसी र टाउको टेबुलमा झुकाएर बसी रही । मैले निक्कैबेर उसलाई हेरिरहेँ केही बोलिनँ । म मौन बसेँ । मैले उसलाई “उषा” “उषा” भन्दा पनि उसले हेरिन । उसको टाउको बिस्तार उचालेको त ऊ बलिन्द्रधारा आँसु बगाइरहेकी थिई । त्यो देखेर म पनि बोल्न सकिनँ । त्यतिकैमा मगाएको कफी आयो । मैले “कफी खाऊ” भने उसले व्याग खोलेर केही खोजेजस्तो गरी । सायद रुमाल खोजेकी होली भनेर मैले खल्तीबाट रुमाल झिकेर ऊतिर बढाएँ। उसले रुन्चे हाँसो हाँसी र रुमाल समातेर आँसु पुछी । मैले कफीको सुर्को लगाए ।
उसलाई पुनः कफी खान आग्रह गरेँ उसले पुनः आँसु पुछ्दै रुमाल मतिर फर्काई । मैले “राख” फेरि चाहिएला भनेँ । उसले रुन्चे मुस्कानमा रुमाल व्यागमा राखी । मैले सोधे, “अब बोल्न सक्छौँ ?” उसले हाँस्दै भनी “सक्छु दाइ हजुरलाई नराम्रो लाग्यो होला नजिकको जस्तो लाग्यो भने आँसु आउँदोरहेछ । “किन के भयो ? मैले सक्ने सहयोग गर्न म तयार छु” मैले भने । “हजुरको पनि हातमा भए पो ।” उसले मलिन स्वरमा भनी । “के भयो घरमा झगडा पर्‍यो ?” मैले प्रश्न गरे । “झगडा भएको भए त मिल्न पनि सकिन्थ्यो नि दाइ” उसले भनी, “अनि के भयो त” मैले प्रश्न गरे । ऊ उत्तर नदिई रुन थाली । किन “विकास बिरामी छ ?” मैले फेरि सोधे । उसले मुन्टो हल्लाएर ईशाराले “हो” भनी । “के भएको छ ?” “किन आत्तिएको बिरामी भए पनि निको भइहाल्छ नि” मैले सान्त्वना दिँदै भने। “निको नहुने रोग दाइ अब म के गरौं ?” । उसले रुँदै भनी मेरो मनमा चिसो पस्यो । मन ढुक्क फुल्यो र मेरो मुखबाट अनायसै निस्क्यो “एड्स” । ऊ डाँको छोडेर रुन थाली । कफी सपका सबै मान्छेको ध्यान हामीतिर गयो । मलाई के गरौँ के गरौँजस्तो असजिलो भयो उठेर ऊतिर गए । टाउको सुमसुम्याए, ऊ घुक्कघुक्क गर्न थाली म एकछिन उसको टाउकोमा हात राखेर उभिरहे । मान्छेहरूको ध्यान बिस्तार हामीबाट हटेजस्तो लाग्यो । अलि शान्त भएपछि म आफ्नो कुर्सीमा गएर बसे । दोस्रो पटक कफी मगाए । दुवै जनाले कफी बोल्दै नबोली खायौँ । कफी सिद्धिन लागेको थियो उसको मोबाइलमा घन्टी बज्यो उसले फोन उठाई र भनी “हुन्छ” । त्यसपछि उसले मलाई भनी “उसको फोन आएको छ दाइ म जान्छु” । म पनि जान्छु भन्दै “ऊसँगै उठे “। ऊ मसँग छुट्टनि खोजी । “किन मेरो वाइकमा बस्नु हँुदैन ?” मैले प्रश्न गरे । उसले रुन्चे अनुहारले मेरो पाखुरामा चिमोटी र वाइकको पछाडि बसी उसको घरको तल उसलाई छोडेर म फर्किए ।

घरमा खाना खान पनि मन लागेन । राति निद्रा पनि आएन श्रीमतीजीले “किन झोक्राएको सन्चो भएन” भनिन् मैले “सन्चै छ तिमी सुत भनी” ऊ कोल्टे फर्केर घुर्न थाली । मेरो मन उषातिरै गयो । विवाहको कुरा हुँदा उसले मलाई भनेकी थिई “८।१० वर्ष खाडी मुलुक बसेर आएको रे दाइ केटो त्यत्ति राम्रो त छैन, पढाइ पनि मेरो भन्दा कमैजस्तो छ । आफ्नो अवस्थाले गर्दा हुन्छ भनी दिएँ । मेरो पनि राम्रो कमाई राम्रो जागिर काठमाडौँमा घर भएको भए फूर्ति साथ इन्कार गर्ने थिए के गर्नु अर्काको खुट्टामा बाँच्नु परिरहेछ” । “तिमीमा के कमी छ र उषा जस्तो पायो त्यस्तैसँग सम्बन्ध गास्नु पर्छ ?” मैले उसलाई भनेको थिए । “तपाईं पो त्यसो भन्नु हुन्छ र मेरो आफ्नो भन्नेहरू नै मलाई चिन्दैनन् म के गरौँ ?” उसले मतिर प्रश्न गरेकी थिई । मैले उसलाई ढाडस दिँदै भनेको थिए “हेर विवाह भनेको लेखेर ल्याएको हुन्छ, भाग्यमा जे हुन्छ त्यो भएरै छाड्छ ।”

आफूले रोजेजस्तो खोजेजस्तो हुँदैन । तिमी सक्षम छौ, मेहिनेती छौ तिम्रोे भित्री मनले नै मानेको छैन भने अलग कुरा, होइन भने यो एउटा सम्झौता हो हस्ताक्षर गरी दिनु अगाडि भगवान्ले हेर्ने छन्” । ऊ त्यति बेला मुसुक्क हाँसेकी थिई । उसलाई मैले त्यति बेला भनेको थिए “बरू तिमीलाई एउटा कुरा भन्छु अन्यथा नलिनु ।” “भन्नोस् न दाइ हजुरले भनेकोमा म कसरी गलत अर्थ लाउन सक्छु र ।” मैले उसलाई भनेको थिएँ । “बरू ऊसँग सम्पर्क राख्नु अगाडि ब्लड टेस्ट गराउनु किनकि ऊ धेरै वर्ष विदेशमा बसेको केटो रहेछ” । “दाइ त्यो सम्भव छ र ? हजुरले भनेको त सही हो तर त्यो गर्ने कसरी ?” उसले भनेकी थिई । उसलाई मैले सम्झाएको थिएँ “के गर्नुपर्छ त्यो त तिमी नै तय गर तर कुनै निहुँमा उसँग सम्पर्क गर्नु अगाडि रगत अवश्य जचाउनु । तिमी पढेलेखेकी मान्छे मैले सिकाई राख्नु पर्दैन । तैपनि मनमा शङ्का नराख्न एक पटक त्यसो गरे होला कि भनेको मात्रै हो, विचार तिम्रो ।” उसले मसँग हात मिलाउँदै भनेकी थिई “ठीक छ दाइ अवश्य म त्यसो गर्नेछु” । यस्तै छटपटीमा कतिबेर निदाएँ, कुन्नि ।

अफिसमा बसिरहेको थिएँ । उसको फोन आयो उसलाई मैले विकाससँग सम्बन्धविच्छेद गरेर अर्कोसँग विवाह गर्ने सल्लाह दिएँ । मेरो सल्लाहमा ऊ सहमत भइन् र उसले भनी “दाइ उसलाई पनि थाहा रहेनछ ऊ रोगी भएको कुरा, थाहा भएको भए मसँग बिहे नगर्ने रहेछ । मसँग मात्र होइन कोहीसँग पनि । ऊ अहिले धेरै पछुताइरहेछ । मसँग रुन्छ, माफी माग्छ । एक नवजवान केटो, ऊ मेरो पति भइसक्यो । अब उसलाई छाड्न सक्दिनँ । बाँचुन्जेल म उसको पत्नी भएर रहने छु । उसको सेवा गर्नेछु । नजानेर गरेको गल्तीमा म उसलाई सजाय दिन सक्दिनँ ।” उसको कुराले मेरो त वाक्य नै फुटेन । नतमस्तक भएँ । “किन दाइ मेरो कुरा चित्त बुझेन ।” “तिमी यति महान् रहिछौँ खोई तिमीलाई कसरी बुझाँउ र सम्मान गरौँ” मैले भने । उसले भनी “सम्मान होइन दाइ मलाई तर हजुरको सहयोग चाहिन्छ ।” “के सहयोग भन न” मैले भने । उसले भनी-हजुरको सल्लाहले त म बाँचे, मेरो पति कहिलेसम्म उसलाई ईश्वरले बचाउँछन् ? त्यो त भन्न सक्दिन । अहिले भने भगवान् भएर तपाईंले हामीलाई बचाई दिनुभयो । मैले सुहागरातको पहिलो चरणमै हामी दुवैको रगत जँचाएपछि मात्र एकअर्कोलाई छुने कुरामा उसलाई सहमत गराएँ । ऊ सहमत भयो । त्यसको नतिजा हजुरले थाहापाईहाल्नुभयो। ऊ मेरो लोग्ने, म उसकी स्वास्नी तर हामीबीचको पतिपत्नीको सम्बन्धमा भने भगवान्ले हामीलाई ठगे । हजुरले मेरो कुरा पत्याउनुहुन्छ हगि ? उसले मलाई छोएको छैन दाइ ।” उसले एक सासमा भनी । मैले भनँे “तिमीले भनेको तर मैले विश्वास नगरेको केही कुरा छ ।” उसले भनी “छैन दाइ” । “अब भन म तिमीलाई के सहयोग गर्न सक्छु ?” मैले भनँे । उसले भनी “दाइ ऊसँग मेरो कुरा भइसक्यो । ऊ सहमत भइसक्यो ।” मैले सोधेँ “के कुरामा ?” । ऊ र म लोग्नेस्वास्नी भएर रहने । “अनि” मैले भने । उसले भनी- “हजुरले हामीलाई खुसी राख्ने ।” “कसरी ?” मैले सोधे । “हजुरले हामीलाई एउटा नानी दिनु पर्छ । उसलाई ईश्वरले मबाट कहिले खोसेर लान्छन् म भन्न सक्दिन तर म त्यही नानीको साहारामा जिन्दगीको बाँकी दिन काट्ने कोसिस गर्नेछु । विन्ति दाइ नाइँ नभन्नुस् उसले भनी । मैले भनँे “मैले त बुझिनँ त ?” “हजुरले भनेको होइन म हजुरकी उधारी भए भनेर भगवान्ले मलाई हजुरको ऋण तिर्न नै लेखेका रहेछन् । उधारो त तिर्नु पर्‍यो नि दाइ, म उधारो तिर्न तयार छु ।”

म झङ्ङ्ग भए ब्यूझँदा त बिहानको ७ बजिसकेको रहेछ ।

Posted by: Raju Gurung

One response to “सपनामा तिरेको उधारो (लघु कथा)

  1. This story writer wrote by focous (HIV) (AIDS) pacent. So it’s very intresting or good which gaves some advise to people for how to react to people who got HIV AIDS. The acter who is name “Usha” she’s part is very good or i want to request to all we wants to be same like Usha & give to same respact to all people who are under HIV AIDS. Thank you. see you again!!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.